करिअर सकिने डरले ओलीबारे मौन एमाले युवा नेता

केपी शर्मा ओलीको प्रवृत्ति र विचारबारे निरन्तर प्रश्न उठाउँदै आएका एमाले युवा नेता महाधिवेशनमा राजनीतिक भविष्य धरापमा पर्ने डरले प्रश्नविहीन र मौन छन्।

करिअर सकिने डरले ओलीबारे मौन एमाले युवा नेता

काठमाडौँ । गत वर्ष ६ मंसीरमा चितवन भ्रमणमा रहेका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता सुरेन्द्र पाण्डेविरुद्ध पार्टी कार्यकर्ताले प्रदर्शन गरे।

पार्टीमा केपी शर्मा ओलीको गतिविधिको तीखो आलोचना गर्ने पाण्डेविरुद्ध ओली पक्षका कार्यकताले प्रदर्शन गर्दा पाण्डेले ओली प्रवृत्तिको विरोध गर्दै भनेका थिए, ‘इतिहासमा यस्ता गैरराजनीतिक चरित्र समाप्त भएको देखेको छु, पार्टीमा आफ्नो धारणा सार्वजनिक गर्न पाइन्छ। विचार नै राख्न नपाउने पार्टी र प्रवृत्ति ठीक हुँदैन।’

नेकपा हुँदा ओली प्रवृत्तिको विरोध गर्ने पाण्डे मात्रै होइनन् योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत ओलीको नेतृत्व अस्वीकार गर्ने एमाले नेताहरू नै अहिले नेतृत्वमा ओलीको विकल्प नभएको अभिव्यक्ति दिँदै छन्।

नेकपाकै निरन्तरता भएको दाबी गर्ने एमालेको १० औँ महाधिवेशनको दिन नजिकिँदै जाँदा ओली पक्षका नेताहरूका साथै तत्कालीन नेकपा हुँदा ओलीइतर रहेका युवा नेताहरूले पनि अध्यक्षमा ओलीको विकल्प नभएको बताउँदै आएका छन्। जहाँ युवापुस्ता नै अध्यक्षमा ओलीको विकल्प नभएको बताउन थालेका छन्।

असोजमा सम्पन्न पार्टीको पहिलो विधान महाधिवेशनअघि ७० वर्षपछि नेताहरूले अनिर्वाय अवकाश लिनुपर्ने व्यवस्था थियो। विधानमा भएको उक्त व्यवस्थालाई संशोधन गर्दै ७० वर्ष कट्नुअघि पार्टीको पदाधिकारी र सदस्यमा उम्मेद्वारी दिन पाए पनि ७० वर्ष कटेपछि उम्मेद्वारी दिन नपाउने व्यवस्था गएिको छ।

ओली ११ फागुनमा ७० वर्ष पुग्दैछन्। ओलीकै उमेरलाई ध्यानमा राख्दै विधान संशोधनमार्फत उनलाई पुनः अध्यक्षमा दोहोरिने अवसर प्रदान गरिएको धेरैको विश्वास छ। विधान संशोधन गरिँदैन थियो भने ओली आगामी फागुनबाट अनिर्वाय अवकाशमा जाने थिए।

५ देखि १४ फागुन २०६५ मा बुटवलमा आयोजना भएको आठौँ महाधिवेशनमा ओलीले पहिलो पटक पार्टीको अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए। उक्त महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका ओली त्यसबखत जम्मा ५६ वर्षका थिए। अहिले सोही उमेर हाराहारीमा प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेताहरू छन्। यी सबै नेताहरू नयाँ गठन हुने पदाधिकारीमा ओलीले कुन भूमिका दिन्छन् भन्ने प्रतीक्षामा छन्।

पार्टीभित्र ओलीको प्रमुख प्रतिस्पर्धी माधव नेपाल भदौमा छुट्टै पार्टी गठन गर्दै एमालेबाट अलग भइसकेका छन्। यस्तो अवस्थामा ओलीलाई टक्कर दिन सक्ने उनका समकालीन नेता पार्टीमा छैनन्। दोस्रो र तेस्रो पुस्ताले पनि त्यो हिम्मत जुटाउन सकेको देखिँदैन।

उपाध्यक्ष भीम रावलले भने हालै मात्र महाधिवेशनमा पार्टी अध्यक्षमा उमेद्वारी दिन सक्ने संकेत गरेका थिए।

गृह जिल्लामा केही दिनअघि आयोजना गरिएको एक कार्यक्रममा रावलले भनेका थिए, “आठौँ महाधिवेशनमा ओली पनि अध्यक्ष पदमा हारेका हुन्। हारजित भई नै हाल्छ, हारिन्छ नै भनेर अघि नबढ्ने हुँदैन।” महाधिवेशनको दिन नजिँकिदै गर्दा अध्यक्षामा उम्मेद्वारी दिने संकेत गरे पनि हालसम्म औपचारिक घोषणा भने रावलले पनि गरेका छैनन्।

यस्तै दशैँअघि २३ असोजमा पत्रकारहरूका लागि आयोजना गरिएको चियापान समारोहमा पार्टीका उपमहासचिव घनश्याम भुषालले पनि महाधिवेशनमा पार्टीको नेतृत्वमा दाबी गर्न सक्ने बताएका थिए। भुषालले घुमाउरो तरिकाले पार्टी नेतृत्वमा दाबी गर्न सक्ने दशैँअघि बताए पनि महाधिवेशन नजिक आउँदा यस विषयमा उनको औपचारिक धारणा सर्वाजनिक भएको छैन।

यता पार्टी नेतृत्वमा ओलीको विकल्प नरहेको सार्वजनिक अभिव्यक्ति दिने नेतामा ओलीनिकट रहेका पार्टी प्रवक्ता प्रदीप ज्ञवाली, महेश बस्नेत, शेरबहादुर तमाङलगायत नेता छन्। उनीहरू सबैले विभिन्न सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा यस्तो अभिव्यक्ति दिएका हुन्। शेरबहादुर तामाङले नेपाल भ्यूजसँगको अन्तर्वार्तामा  ‘पार्टीमा ओलीको विकल्प छैन र उहाँको आलोचना गर्ने व्यक्ति नेपाली नै होइन,’ समेत भनेका थिए।

यो पढ्नुहोस्

‘एमालेमा ओलीको विकल्प छैन, उहाँको आलोचना गर्ने व्यक्ति नेपाली होइन’

पार्टी विभाजन हुँदा माधव नेपाल पक्षलाई छोडेर एमालेमै रहने निर्णय गरेका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेता पनि पार्टीमा ओलीको विकल्प देखिरहेका छैनन्। एक अन्तर्वार्ताका क्रममा नवौं महाधिवेशनमा ओली पक्षबाट महासचिव पदका उम्मेद्वार ईश्वर पोखरेलसँग ६ मतले पराजित नेता सुरेन्द्र पाण्डेले ओलीको विकल्प नरहेको बताएका हुन्। ‘नेतृत्वमा दाबी गर्ने फरक कुरा हो तर, सबैलाई मिलाएर लैजाने नेतृत्व भनेकै ओली हो,’ पाण्डेले भनेका छन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा ओलीको नेतृत्व स्वीकार गर्नै नसक्ने भन्दै उनीविरुद्ध नै आन्दोलन छेडेका थिए पाण्डे, भट्टराई, विष्टलगायत नेताहरूले। पार्टीको नेतृत्व फेर्ने अहं मौकामा नेतृत्व परिवर्तनको विषयमा बोल्न भने उनीहरू हिच्किचाउँछन्। गोकर्ण विष्टसँग यस विषयमा नेपालभ्यूजले जिज्ञासा राख्दा उनी केही बोल्नै मानेनन्।

एमालेमा अहिले ओलीले जे चाह्यो त्यही हुने अवस्था भएका कारण पनि अन्य नेताले नेतृत्वको विषयमा दाबी पेश नगरेका राजनीतिशास्त्री कृष्ण पोखरेलको बुझाइ छ। भन्छन्, “अहिलेको अवस्थामा एमालेमा ओलीले जे चाह्यो त्यही हुने अवस्था छ, त्यसैले उनको इच्छाबेगर पार्टी जान सक्ने अवस्था नहुँदा पनि नेतृत्वको विषयमा दोस्रो पुस्ताका नेता मौन देखिएका छन्।”

पुराना एमाले नेता राधाकृष्ण मैनाली नेकपामा हुँदा ओलीविरुद्ध बोल्नु र अहिलेको एमालेमा ओलीविरुद्ध बोल्नु दुई फरक कुरा रहेको बताउँछन्। “अहिलेको अवस्थामा कुनै पनि पार्टीका नेतालाई ओलीविरुद्ध गएको खण्डमा पार्टीमै टिक्न नै मुश्किल हुन सक्छ,” मैनाली भन्छन्, “यस्तो समयमा नेताहरू आफ्नो पद सुरक्षित गर्नेतिर लाग्दा अध्यक्षमा ओलीको विकल्प नदेखिएको हो।”

नेताहरूले पार्टीको मुल नेतृत्वको कार्य सम्पादनका विषयमा अनौपचारिक कुराकानीमा रोष प्रकट गरे पनि महाधिवेशनमा भने नेतृत्व नै हासिल गर्नेगरी अघि बढेका छैनन्। बरु पार्टी पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गर्न ओलीको अनुकम्पाको प्रतीक्षामा छन्।

पार्टीको पहिलो विधान महाधिवेशनबाट पार्टीमा १५ पदाधिकारी निर्वाचित हुने व्यवस्था गरेको छ। १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, र ७ सचिव रहने विधानमा उल्लेख छ। यस्तै पार्टीमा २ सय २५ केन्द्रीय सदस्य हुनेछन्। अध्यक्ष पदमा ओलीको विकल्प नरहेको बताउने नेताहरू अन्य पदाधिकारीमा भने आकांक्षी हुन्।

नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङलगायत महासचिव पदमा आफ्नो दाबेदारी रहने बताएका छन्। अनौपचारिक रुपमा नेताहरूले महासचिव पदमा आफ्नो दाबेदारी रहने बताए पनि औपचारिक रुपमा कसैले मुख खोलेका छैनन्।

नेता पाण्डेलाई नेपालभ्यूजले के तपाईं महासचिवको आकांक्षी हो भनेर सोधेको प्रश्नमा उनले घुमाउरो तरिकाले ‘महासचिवभन्दा तल जान नसकिने’ बताए पनि स्पष्ट रुपमा उत्तर भने दिएनन्। बरु उनले भने, “पदाधिकारीका विषयमा पार्टीभित्रै छलफल क्रममा छौँ, यही नै हुन्छ भन्ने अवस्था अहिले छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved