‘हुनेले नहुनेलाई न्यायो कपडा सहयोग गरौं’

‘हुनेले नहुनेलाई न्यायो कपडा सहयोग गरौं’

झापा। विपन्नलाई निःशुल्क न्यानो कपडा उपलब्ध गराउन मेचीनगरका १७ वर्षीय किशोर सिर्जन ढुङ्गानाले प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएका छन्।

मेचीनगर-१० को धुलावारी चोकमा राखिएका कक्षमा महिला, पुरुष र बालबालिकाले लगाउने मिल्ने विभिन्न तयारी कपडा छन्। कक्षबाट कपडा आवश्यक हुने सहयोगापेक्षी सडक मानव र विपन्न परिवारले छानेर लैजान पाउँछन्। विर्तामोडस्थित वाल्मिकी कलेजमा व्यवस्थापन संकायमा कक्षा १२ को परीक्षा दिएका उनले भने, “हुनेले नहुनेलाई सहयोग गर्न यो कक्ष सञ्चालनमा ल्याएको हुँ। ”

पढाइबाट फुर्सद भएको समयको उपयोग गर्दै गाउँघरबाट लगाउन मिल्ने कपडा संकलन गरेर नहुने व्यक्तिका लागि निःशुल्क वितरणको व्यवस्था मिलाएको उनले बताए। “जाडो मौसममा गरीव आमाबुबा झुपडी बस्ती र सडकमा काप्दै हिँडिरहेको देख्दा सहयोग गर्नुपर्छ भन्ने लाग्यो”, अभियान शुरु गर्नुको कारण बताउँदै उनले भने, “अनि मैले पुराना तर लगाउन मिल्ने कपडा संकलन गर्न थालेको हुँ।”

अभियान १०० दिन सञ्चालन गर्ने र पुराना कपडाको पुनः उपयोगले पर्यावरण स्वच्छ राख्नसमेत सघाउ पुग्ने उनले जानकारी दिए। यही कात्तिक २५ गतेदेखि निःशुल्क कपडाको कक्ष राखिएको हो। हालसम्म दुई बोरा जति कपडा विपन्न तथा सडक मानवले खुसी हुँदै लगिसकेका छन्। उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टल राखिएको र दातालाई पुराना लगाउन मिल्ने कपडा उपलब्ध गराउन आह्वान गरेपछि धेरै व्यक्तिले कक्षसम्मै कपडा पुर्‍याउन आउने गरेको बताए।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षमै आएर थुप्रै कपडा प्रदान गरेको र धुलाबारीको ट्राफिक प्रहरी बिटले कक्षका हेरचाहमा सहयोग पुर्‍याएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved