शिशु स्याहार केन्द्रका कारण ढुक्कले काममा जान्छन् कामकाजी महिला

भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको शिशु स्याहार केन्द्रका कारण बच्चा हुर्काउन जागिर नै छोड्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् स्थानीय महिला।

शिशु स्याहार केन्द्रका कारण ढुक्कले काममा जान्छन् कामकाजी महिला

भक्तपुर। साना शिशुहरू हातमा दुधको बोत्तल लिएर चिप्लेटि खेलिरहेका छन्। कोहि छेउमा रहेका टिभीमा झुमिरहेका छन्। कोहि समुहमा ढिकीच्याँउ र बल खेल्न व्यस्त छन्।

भक्तपुर नगरपालिकाको गोल्मढीस्थित शिशु स्याहार तथा बाल विकास केन्द्रमा दिउँसो २ बजे पुग्दा बालबालिकाको कोलाहल केही परबाट नै सुनिन्थ्यो। पुग्दा देखियो, आकर्षक स्याहार केन्द्रमा शिशुहरू घरमा जस्तै रमाइरहेछन्।

No description available.

तर यो कुनै नीजि मन्टेश्वरी विद्यालय भने होइन। यो त भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्र हो जसले कामकाजी महिलालाई बालबच्चा स्याहार्नकै लागि जागिर छोड्नुपर्ने बाध्यताबाट मुक्त गरेको छ।

एक उदाहरण हुन्, स्थानीय सहकारीमा कार्यरत राधिका सुवाल। दुई वर्षे छोरीलाई स्याहार केन्द्रमा छोडेर दिनभरी काममा जान्छिन् उनी। काम सकिएपछि छोरीलाई लिएर घर पुग्छिन्।

“पहिला एउटा बच्चा हुने बित्तिकै रोजगार गर्ने महिला छोराछोरी स्याहार गरेर घरमा बस्न बाध्य हुन्थे”, स्याहार केन्द्रमा भेटिएकी उनले भनिन्, “स्याहार केन्द्रले १३ महिना देखिका बालबालिका लिने भएकाले जागिरमा जान सहज भएको छ। संस्थागत रूपमा खोलेका मन्टेश्वरीमा सानो उमेरका बच्चाहरू भर्ना लिँदैनन्। अलिक ठुलो भएपछि भर्ना लिए पनि त्यहाँको फि महंगो छ।”

No description available.

नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रले कामकाजी महिला र थोरै कमाइ हुने अभिभावका लागि निकै सुविधा पुर्‍याएको सुवालले बताइन्।

स्याहार केन्द्रबाट लाभान्वित मध्ये अर्की हुन्, रामेशवरी बजिका। सिलाईबुनाई गर्ने बजिकाले एक महीनादेखि आफ्नो छोरालाई त्यहाँ ल्याएको बताइन्।

“हामीजस्ता कामकाजी महिलाका लागी केन्द्र सञ्चालनमा आएपछि सहयोग पुगेको छ”, उनले भनिन्।

सानैमा स्याहार केन्द्रमा बच्चाहरू ल्याउँदा पछि स्कुल पठाउन सहज हुने उनको आशा छ ।

स्याहार केन्द्रको सेवा शुल्क न्यून भएकाले पनि बालबच्चा ल्याउन सहज भएको उनले बताइन्। भनिन्, “प्राइभेट र यहाँको सेवा सुविधा उस्तै छ। तर यहाँ महिनाको एक हजार तिरे पुग्छ।”

No description available.

स्याहार केन्द्रले केवल कामकाजी महिलालाई आफ्ना सन्तान स्याहारेरै घरमा बस्नुपर्ने बाध्यताबाट मुक्त गरेको छैन। बरु यसले अन्य महिलालाई रोजगार पनि उपलब्ध गराएको छ। जस्तै, राजेश्वरी लवजु।

२३ वर्ष भयो उनले स्याहार केन्द्रमा जागिर खान थालेको। अहिलेसम्म कति शिशु हुर्काइन् भन्ने उनी आफैले गणना गरेकी छैनन्।

“अब त बालबालिकासँग दिन बिताउने बानी परिसकेको छ। शनिबार घरमा बस्दा पनि उनीहरूको सम्झना आउँछ”, लवजु भन्छिन्।

कम मूल्यमा राम्रो सेवा दिएकाले धेरै अभिभावक सन्तुष्ट भएको बताउँछिन् स्याहार केन्द्रमा कार्यरत मिठ्ठु अवाल।

भक्तपुर नगरपालिकामा स्थानीय स्तरबाटै शिशु स्याहार केन्द्रको परिकल्पना भने २०५४ मा भएको हो। त्यतिबेलाको स्थानीय निर्वाचनबाट विजयी भएका प्रतिनिधिले शिशु स्याहार तथा बाल विकास केन्द्रको परिकल्पना गरेको भक्तपुर नगरपालिका वडा नं ९ का अध्यक्ष तथा शिक्षा तथा संस्कृति समितिका सदस्य रविन्द्र ज्याख्व बताउँछन्। २०५६ सालबाट उक्त परिकल्पना कार्यान्वयनमा आयो।

No description available.

“विवाहअघि रोजगार महिला पनि सन्तान जन्मेपछि घरमा नै सीमित भएका कारण काम गर्ने उमेर समुहका महिलालाई सहज गराउन स्याहार केन्द्र सञ्चालन गरिएको हो”, ज्याख्वले भने, “महिलाको श्रम शक्तिलाई आर्थिक रुपान्तरणमा प्रवेश गराउने उदेश्यले सञ्चालन गरिएको हो।”

साना बालबालिकाको सर्वांगिण विकासका लागी आवश्यक सम्पुर्ण व्यवस्था केन्द्रमा रहेको उनको दाबी छ।

“शुरुमा एउटा केन्द्रबाट निश्चित समयमा लागी कार्यक्रमको रूपमा शुरु भएको हो” उनी भन्छन, “त्यसैले केन्द्रमा आबद्ध कर्मचारीको दरबन्दि सिर्जना कार्यक्रम अवधिभर नै गरिएको छ।”

प्रत्येक केन्द्रमा दुई जना शिक्षक र दुई जना आयाको दरले कर्मचारी नियुक्त गरेको उनले जानकारी दिए। केन्द्रका कर्मचारीलाई पारिश्रमिक स्थानीय तहले सेवा सुविधा दिएको उनले बताए। केन्द्रको स्थापनाकालमा दुई वर्ष पुगेका बालबालिकालाई मात्र भर्ना गरिने भए पनि अहिले १४ महिना उमेरका बालबालिकालाई लिने गरेको उनी बताउँछन्।

पञ्चायतकालदेखि नै भक्तपुर नगरपालिकामा निर्वाचित हुँदै आएको नेपाल मजदूर किसान पार्टीले शिशु स्याहार केन्द्रलाई शुरुदेखि नै आफ्नो मुद्दा बनाउँदै आएको छ। संविधान सभाको निर्वाचनमा हरेक वडामा शिशु स्याहार केन्द्रलाई मौलिक अधिकारमै समेट्नुपर्ने उक्त पार्टीका् धारणा थियो।

No description available.

हाल भक्तपुर नगरपालिकामा भार्वाचो, भोलाछेँ, मंगल तीर्थ, खँचा, लिवाली र गोल्मढी गरी ६ वटा शिशु स्याहार केन्द्र सञ्चालनमा रहेको र हरेकमा २० देखि २४ वटा शिशु राख्ने क्षमता रहेको वडाध्यक्ष ज्वाख्वले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved