टी-ट्वान्टी विश्वकप : अरु देश सिरिज खेल्दै, क्यानले लगाउन सकेन प्रशिक्षककै टुंगो

विश्वकप शुरु हुन १ वर्ष बाँकी छँदै क्रिकेटका ठूला राष्ट्रहरूले टी-ट्वान्टी फर्म्याटका क्रिकेट सिरिज खेल्ने कार्यतालिका सार्वजनिक गरिरहँदा छनोट प्रतियोगिता पनि खेल्नुपर्ने नेपालले खेलाडी छनोट, प्रशिक्षण र क्लोज क्याम्पको व्यवस्थापन त परको कुरा प्रशिक्षकसम्म टुंगो लगाउन सकेको छैन।

टी-ट्वान्टी विश्वकप : अरु देश सिरिज खेल्दै, क्यानले लगाउन सकेन प्रशिक्षककै टुंगो

काठमाडौं। उता यूएईमा टी-ट्वान्टी विश्वकप फाइनलको तयारी भैरहँदा यता नेपाली क्रिकेट समर्थकहरू सामाजिक संजालमा एउटा ट्रेण्ड चलाइरहेका छन्, ह्यासट्याग ‘वेक अप क्यान’। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)को पूर्वनिर्धारित तालिका अनुसार सन् २०२२ को टी-ट्वान्टी विश्वकप क्रिकेटको छनोट प्रतियोगिता (ग्लोबल क्वालिफाएर) संचालन हुन तीन महीना मात्र बाँकी छ।

तर यता नेपाल क्रिकेट संघ (क्यान) कुनै तयारी नगरी सुतिरहेको आरोप समर्थकहरूको छ। त्यसैले सुतिरहेको क्यानलाई उठाउन उनीहरूले चलाएको ‘वेक अप क्यान’ ट्रेण्ड सामाजिक संजालको ट्रेण्डिङमा छ।

विश्वकप सम्पन्न हुनुअघि नै धेरै टिमहरूले अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आउँदो संस्करणको लागि कार्ययोजना बनाउन थालिसके।  विश्वकप शुरु हुन १ वर्ष बाँकी छँदै क्रिकेटका ठूला राष्ट्रहरूले टी-ट्वान्टी फर्म्याटका क्रिकेट सिरिज खेल्ने कार्यतालिका सार्वजनिक गरिरहँदा छनोट प्रतियोगिता पनि खेल्नुपर्ने नेपालले खेलाडी छनोट, प्रशिक्षण र क्लोज क्याम्पको व्यवस्थापन त परको कुरा प्रशिक्षकसम्म टुंगो लगाउन सकेको छैन। समयमै प्रशिक्षक छनोट नगर्दा आउँदो विश्वकपको नतिजामा यसको प्रभाव पर्ने भन्दै खेलप्रेमीहरू चिन्तित छन्।

आईसीसीको पूर्वनिर्धारित समय अनुसार आउँदो फेब्रुअरीमै टी-ट्वान्टी विश्वकपको छनोट प्रतियोगिता हुने हो भने त्यसको तयारीका लागि नेपालसँग करीब तीन महीनाको समय मात्र छ।

यो विषयमा बुझ्न खोज्दा नेपाली क्रिकेट टिमका व्यवस्थापक विनोद दास भन्छन्, “सकेसम्म यो नोभेम्बरभित्रै प्रशिक्षकको टुंगो लगाएर विश्वकप छनोटको तयारी थाल्ने योजना छ। तर क्यानको बोर्डबाट स्विकृति नआएसम्म कुन दिन प्रशिक्षकको घोषणा हुने यकिन गरेर भन्न सकिन्नँ।”

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका विनोद दासका अनुसार क्यानले विश्वकपको ग्लोबल क्वालिफायरअघि तयारीस्वरुप दुई देशीय ‘बाइल्याटरल’ सिरिज आयोजना गर्ने योजना बनाएको छ। त्यस अनुसार विभिन्न देशसँग छलफल पनि गरिरहको छ। तर आवातजावतका लागि नेपालमा जति सजिलो छ त्यति कोभिड प्रोटोकलका कारण अन्य देशमा आवातजावत गर्न सजिलो छैन।

कोभिडका कारण आईसीसीले पहिले नै बनाएको क्रिकेटको ‘फ्यूचर टूर प्लान’ लाई अहिले मान्यता दिंदैन। हाल आईसीसीले सबै प्रतियोगिताका लागि आयोजना हुने मिति भन्दा करीब दुई महीना अगाडि मात्र खेल हुने सही मितिको जानकारी गराउँछ।

“आईसीसीसँग हाम्रो निरन्तर सम्पर्क भइरहेको छ। तर ग्लोबल क्वालिफायरको वास्तविक मिति हालसम्म पनि आईसीसीले निक्यौल गरेर हामीलाई दिएको छैन। आईसीसीबाट गत हप्ता प्राप्त सुचना अनुसार यो हप्ताभरीमा उसले मिति तय गरेर पठाउने बताएको छ। कम्तीमा  फेब्रुअरी दोस्रो हप्तायता क्वालिफायर हुँदैन,” दासले नेपालभ्यूजलाई बताए। उनले भने,“नेपालीले मात्रै हुन् आँखा चिम्लेर कोभिड छैन भनिरहेका,आईसीसीले मान्दैन। नेपालमा कोभिडको प्रभाव नभए पनि खेल हुने र खेलमा सहभागी हुने देशको कोभिडको अवस्था हेरेर आईसीसीले मिति तय गर्छ।”

टी-ट्वान्टी विश्वकपको छनोटको मात्रै नभएर आईसीसीले सन् २०२३ को एकदिवशीय विश्वकपको छनोटका लागि हुने विश्व लिग डिभिजन-२ का खेलहरू हुने मिति पनि निर्धारण गरेको छैन।

पूर्वनिर्धारित तालिका अनुसार लिग डिभिजन-२ अन्तर्गत नेपालको पीएनजी र यूएईसँगको एकदिवशीय सिरिज आउँदो सन् २०२२ को फेब्रुअरीमा हुने खेलतालिका छ। नामिबिया र स्कटल्याण्डसँगको सिरिज आउँदो मार्चमा संचालन हुने तालिका थियो। आईसीसीले ग्लोबल क्वालिफायरको वास्तविक मिति तय नगरेपनि नेपालले तयारी थाल्दा बिग्रिने त केही थिएन। उल्टै छनोटमा नेपालको प्रदर्शनमा सुधार आउन सक्थ्यो। तर सबै उल्झन प्रमुख प्रशिक्षकमा आएर अड्किएका छन्।

गत भदौमा तत्कालीन प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि यसै महीनाको शुरुआतमा क्यानले नयाँ प्रशिक्षकका लागि आवेदन माग गरेको थियो। जसका लागि ६० जनाको आवेदन परेको थियो। यसपछि क्यानले प्रशिक्षक छनोटको लागि तीन चरणमा काम गरेको छ।

जस अनुसार पहिलो चरणमा प्रशिक्षक पदको लागि परेको आवेदनबाट मापदण्ड पूरा गरेकालाई मात्र ‘सर्टलिष्ट’ गरिएको थियो। दोस्रो चरणमा भने मापदण्ड पूरा गरेकाबाट पनि क्यानको छनोट समितिले योग्य र आफूले चाहे अनुसार मात्र छान्यो।

अब तेस्रो चरणमा छनोट समितिले क्यानको बोर्डलाई छनोटमा परेकाको नामावली बुझाउनेछ। अहिले छनोट समिति दोस्रो चरणमा काम गरेर १५ देखि १७ जना संभावित प्रशिक्षकको नामावली बोर्डलाई पठाउने क्रममा छ।

अब प्रशिक्षक छनोटको तेस्रो चरणमा भने बोर्डले यसमध्येबाट फेरि केहीलाई शर्टलिस्ट गर्छ र अन्तिममा उपयुक्त एक मुख्य प्रशिक्षक छनोट हुन्छ।

प्रक्रिया किन यति लामो ? यसबारे नेपाली क्रिकेट टिमका व्यवस्थापक दास भन्छन्,“यो राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक छनोटको कुरा हो, हतारमा गरेर पछिल्लो पटक गरेको गल्ती दोहोर्‍याउन चाहन्नौं, त्यसैले आफ्नो गृहकार्य नगरी अब छनोट गर्दैनौं।” शर्ट लिस्टेड प्रशिक्षकको अन्य टिमसँगको आवद्धता, पहिलेको कमिटमेन्ट, पुरानो प्रदर्शन आदिको निरीक्षण गरिरहेको जानकारी उनले दिए।

अबका दुई सातामा प्रशिक्षक छनोट गरिसक्ने दाबी क्यानको छ। प्रशिक्षक छनोटपछि सबैभन्दा पहिले खेलाडी छनोटका लागि प्रतियोगिता आयोजना गर्ने छलफल बोर्डमा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved