न्यायालयको समस्या समाधान गर्न नेकपा (एस)ले गर्‍यो दलहरूलाई अपिल

नेपालभ्युज

न्यायालयको समस्या समाधान गर्न नेकपा (एस)ले गर्‍यो दलहरूलाई अपिल
फाइल फोटो

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरू र न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले यस्तो अपिल गरेको हो।

न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै समस्या समाधानका निम्ति सबै राजनीतिक दलहरू र न्याय क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको एकीकृत अवधारणा बनाउन अपिल गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले भने–‘‘देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिनु संविधानवादको विरुद्ध हुन जान्छ। न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खल्ल्बल्लिने स्थितिमा पुगेको छ। न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको छ। कानुन क्षेत्रका विद्धान अधिवक्ताहरू, उनीहरूका सङ्गठन र नागरिक समाजका अगुवाहरू, न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित छन्। न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ। यो संकट समाधानका लागि राजनीतिक दलहरू, न्याय क्षेत्रका सरोकारवाला पक्षहरू बिच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ।’’

बैठकले नेकपा (एस)का पार्टी कार्यकर्ताहरूलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न पनि निर्देशन दिएको छ। यस्तै विपद्को बेलामा खोज, उद्धार तथा राहत सहयोग प्रभावकारी रुपमा सञ्चालन गर्न तथा जनस्वयं सेवक बनाइ परिचालन गर्न निर्देशन पनि दिएको छ।

प्रवक्ता खतिवडाले भने ‘‘विपद् जोखिम न्यूनीकरण प्रशिक्षण सञ्चालन गर्न, विपद्का पूर्व तयारीका लागि जनसहजकर्ता निर्माण गर्न, विपद् जोखिम न्यूनीकरण शिक्षा अभियानको रुपमा सञ्चालन गर्न र जनजागरण अभियान सञ्चालन गर्न, विपद्को बेला खोज, उद्धार र राहत सहयोग कार्यलाई प्रभावकारी बनाउन विपद् जनस्वयंसेवक निर्माण गरी परिचालन गर्न केन्द्रीय विभागले यो योजना बनाएको छ। र सबै जिल्लाका कार्यकर्ताहरूलाई यो काममा लाग्नका लागि निर्देशित गरेको छ।’’

केन्द्रीय कमिटी बैठकले राष्ट्रिय जनगणनामा सही तथ्याङ्क दिएर सहभागिता जनाउन सबैलाई आग्रह गर्दै कालापानी र लिम्पियाधुरा क्षेत्रको जनगणना गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। नेकपा  (एस)ले हालै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्याँसमा गरिएको मूल्यवृद्धि यथाशीघ्र फिर्ता गर्न पनि सरकारसँग माग गरेको छ। शनिवारदेखि बसेको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved