जबरालाई पदच्युत गर्नुपर्छ : बार अध्यक्ष श्रेष्ठ

जबरा पदच्युत नभएसम्म अरु सुधारको कार्यक्रम गर्न नसकिने उनले बताए।

नेपालभ्युज

जबरालाई पदच्युत गर्नुपर्छ : बार अध्यक्ष श्रेष्ठ
फाइल तस्वीर

काठमाडौं। नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नु अपरिहार्य रहेको बताएका छन्।

आइतबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एशोसिएसनको भवन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नैपर्ने अवस्थामा पुगिएको बताए। जबरारहुन्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकाले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएका पदच्युत गर्नुपर्ने अवस्था आएको उनले बताए।

प्रधानन्यायाधीश जबराले न्यायमा विचलन ल्याइ न्याय प्रशासनलाई बर्बाद बनाएको उनको आरोप छ। उनले भने, ‘‘हामीहरू आफ्नो न्यायपालिका सुधारको लागि लागेका छौं। न्यायपालिकाको बाधक चोलेन्द्र शमसेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ।’’

राजीनामा मात्रै नभएर पदच्युत गर्नुपर्ने अवस्थामा आफू पुगेको बताउँदै जबरा पदच्युत नभएसम्म अरु सुधारको कार्यक्रम गर्न नसकिने उनले बताए। उनले भने, ‘‘जसले न्यायमा विचलन ल्याएको छ, जसले न्याय प्रशासनलाई बर्बाद गरेको छ। जसले यो देशलाई बर्बाद गर्न खोजिराखेको छ, त्यस्तो व्यक्ति न्यायपालिकामा रहन सक्दैनँ। कुनैपनि हालतमा राख्न सक्दैनौँ।’

नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले आइतबार बिहान १० बजेदेखि ११ः३० बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्ना दिएको हो। धर्नाको क्रममा कानून व्यवसायीहरूले ‘भ्रष्टाचारी प्रधानन्यायाधीश राजीनामा दे, बार एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ’ लगायतका नाराबाजी समेत गरेका थिए। उनीहरूले असक्षम र अनैतिक प्रधानन्यायाधीश राजीनामा दे, विधिको शासन कायम गर, न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ लगायतका प्लेकार्डहरू प्रर्दशन गरेका थिए।

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरूले धर्ना दिइरहेको समयमा सर्वोच्च परिसरबाहिर बार एशोसिएसनको विरोधमा केही व्यक्तिहरूले नाराबाजी गरेका थिए। लगत्तै बारको विरोधमा नाराबाजी गर्ने केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्वोच्चमा धर्नाको क्रममा बोल्दै बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायलयलाई किनबेचको बस्तु बनाएको बताए। शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न बिचौलीयाहरू आएको भन्दै उनले बिचौलियाहरूको पनि सम्पत्ति छानविन गरी जफत हुने चेतावनी दिए। उनले भने, ‘‘चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशको सिटमा बस्ने अधिकार छैन। उहाँले अधिकार गुमाइसक्नुभएको छ। उहाँको प्रवेश न्यायपालिकालाई थप भ्रष्ट बनाउने हुन्छ।’’

जबराले न्यायालय किनबेचको वस्तु बनाएको आरोप उनको थियो।

बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश जबरा भने वैकल्पिक गेट बाट सर्वोच्च अदालत प्रवेश गरेको छ। बारले आफूहरूको आन्दोलन जारी रहेको बताएको छ। सोमबारदेखि सबै आन्दोलन सर्वोच्च केन्द्रीत गर्ने घोषणा बारले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved