विश्वकप विजेता बन्दै नयाँ राष्ट्र

विश्वकप विजेता बन्दै नयाँ राष्ट्र

काठमाडौं। आज (आइतबार) दुवईमा हुने टी-ट्वान्टी विश्वकपको फाइनलमा हालसम्म विश्वकपको उपाधि नउचालेका दुई राष्ट्र अष्ट्रेलिया र न्युजिल्याण्डले भिड्दैछन्। अर्थात् नयाँ राष्ट्र विश्वकप विजेता बन्ने पक्का छ।

न्युजिल्याण्ड टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेकै पहिलो पटक हो। अष्ट्रेलिया भने सन् २०१० मा एकपटक फाइनल पुगेको थियो, इङ्गल्याण्डसँग पराजित हुँदा उपाधिविहीन बन्न पुग्यो।

सेमिफाइनलको उपाधि दावेदार मानिएका इङ्गल्याण्ड र समूह चरणमा सबै खेल जितेको पाकिस्तान दुवै बाहिरिए।

पहिलो सेमिफाइनल खेलमा इङ्गल्याण्डलाई पाँच विकेटले हराउँदै न्युजिल्याण्डले सन् २०१९ को एकदिवसीय विश्वकपको फाइनलमा व्यहोरेको हारको बदला लिएको थियो। पराजयबाट विश्वकपको शुरुआत गरेको न्युजिल्याण्ड समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो।

तर यसपछि राम्रो कमव्याक गरेको न्युजिल्याण्डले समूहमा लगातार चार खेलमा भारत र अफगानिस्तानलाई आठ-आठ विकेट, स्कटल्याण्डलाई १६ रन र नामिबियालाई ५२ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। अष्ट्रेलियाले पनि जारी विश्वकपमा फाइनलसम्म आइपुग्दा समूह चरण र नकआउटमा खेलेको ६ खेलमा एक खेल मात्र हार व्यहोरेको थियो।

ब्याटिङ नचल्दा इङ्गल्याण्डसँगको समूह चरणको खेलमा अष्ट्रेलिया मात्र १२५ रनमा समेटिँदा आठ विकेटले पराजित भयो।

यसबाहेक समूह चरणको अन्य चार खेलमा भने अष्ट्रेलियाले श्रीलंकालाई सात विकेट, दक्षिण अफ्रिकालाई दुई विकेट तथा बंगलादेश र वेष्ट इण्डिजलाई आठ-आठ विकेटले पराजित गरेको थियो। यसपछि दोस्रो सेमिफाइनमा अपराजित पाकिस्तानलाई अष्ट्रेलियाले पाँच विकेटले पाखा लगायो।

दुवै समूहबाट विजेताको रुपमा सेमिफाइन पुगेका दुई टिम बाहिरिए। तर समूह चरणमा एक-एक खेल हारेर उपविजेता बनेका न्युजिल्याण्ड र अष्ट्रेलियालले सेमिफाइनल खेल जिते। जबकी यी दुवै टिमलाई शुरुमा फाइनलसम्म पुग्ने प्रमुख टिमको रुपमा हेरिएको थिएन।

अष्ट्रेलियाको लागि यो विश्वकमा ओपनर डेभिड वार्नरको ब्याटिङ फर्ममा आउनु एक सुखद संकेत हो। उनले वेष्ट ईण्डिजसँग अविजित ८९ र श्रीलंकासँग ६५ रन जोडेका थिए। त्यसैगरी पाकिस्तानसँगको सेमिफाइनलमा ‘एङ्कर रोल’ निभाउँदै उनले ४९ रनको योगदान दिए। वार्नर यो विश्वकपमा सर्वाधिक रन जोड्ने खेलाडीमा चौथो स्थानमा छन। उनले ६ खेलमा दुई सय ३६ रन जोडिसकेका छन्।

त्यसैगरी फिनिसिरको रुपमा मार्कोस स्टोइनिसको आक्रामक ब्याटिङ अष्ट्रेलियासँग छ। उता सेमिफाइनलमा बिष्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै मात्र १७ बलमा ४१ रन जोडेका विकेट किप्पर समेत रहेका ब्याटसम्यान म्याथ्यू वेडको प्रदर्शनले अष्ट्रेलियाको टिम मिडल अर्डरमा थप मजबुत देखिएको छ।

तर अष्ट्रेलियन टिमका अर्का ओपनर तथा कप्तान आरोन फिन्चसँगै बिष्फोटक ब्याट्सम्यान तथा अलरान्डर ग्लेन म्याक्सबेलको ब्याट एक खेलमा पनि नचल्नु अष्ट्रेलियाको प्रमुख चिन्ताको विषय हो। म्याक्सबेलको यो विश्वकपमा खेलेका ६ खेलमा कुल रन नै जम्मा ३६ छ। पाँच खेलमा त उनले दोहोरो रन संख्या नै छुन सकेका थिएनन्। उता फिन्चले भने सर्वाधिक ३७ सहित ६ खेलमा मात्र ६५ रन जोडेका छन्।

तर फिन्च, अष्ट्रेलियाका लागि न्युजिल्याण्डविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन्। उनले करीब ६२ को औसतमा न्युजिल्याण्डसँग हालसम्म खेलको खेलमा दुई सय ५१ रन जोडेका छन्। त्यसैले जारी खराब फर्मको कारण फाइनलमा उनलाई कम आँक्ने भूल न्युजिल्याण्डले गर्नु हुँदैन।

त्यसैगरी खराब फर्मबाट गुज्रिरहेका ग्लेन म्याक्सबेल पनि न्युजिल्याण्डविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा धेरै रन हान्ने अष्ट्रेलियाका दोस्रो ब्याट्सम्यानमा पर्छन्। प्रशंसकहरूमा यो विश्वकपभरी देख्न नपाइएको उनको खेल फाइनलमा देखिन्छ कि भन्ने अपेक्षा राखेका छन्।

बलिङतर्फ भने अष्ट्रेलियाको प्रदर्शन राम्रो छ। जारी विश्वकपमा यूएईको स्पिनमैत्री पिचमा अष्ट्रेलियाका स्टार स्पिनर एडम जम्पा सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन्। ६ खेलमा उनको नाममा १२ विकेट छ। जहाँ बंगलादेशसँग १९ रन खर्चेर लिएको ५ विकेट यो विश्वकपकै उत्कृष्ट बलिङ फिगर हो।

अष्ट्रेलियाको सबैभन्दा बलियो पक्ष मानिएको फास्ट बलिङमा पनि अनुभवी मिचेल स्टार्क र प्याट कमिन्ससँगै युवा खेलाडी जस हेजलहुडको प्रदर्शन सन्तोषजनक छ। तर रोचक कुरा के भने यी तीनै जना बलरहरूले न्युजिल्याण्डविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको यो पहिलो पटक हो।

न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी खेलमा अष्ट्रेलियाका सबैभन्दा सफल बलर हुन् एस्टन एगर । तर यो विश्वकपमा बेन्चमै रहेका उनले एक खेल पनि खेल्न पाएका छैनन्।

यो विश्वकपभरी न्युजिल्याण्डको टिमले भने निकै अनुशासित र लगातार कडा प्रदर्शन गर्दै आएको छ। खासगरी यूएईको स्लो पिचमा सबैभन्दा उत्कृष्ट पक्ष न्युजिल्याण्डको बलिङ देखिएको छ।

जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट ६ खेलमा ११ विकेटसहित चौथो स्थानमा छन्।

त्यसैगरी ओपनर डायर्ल मिचेल यो विश्वकपमा न्युजिल्याण्डका लागि उच्च रन स्कोरर हुन्। उनले ६ खेलमा एक सय ९७ रन जोडेका छन्। सेमिफाइनलमा उनकै ४७ बलमा ७२ रनको आकर्षक पारिको मद्दतले न्युजिल्याण्डले इंल्याण्डलाई हराएको थियो।

सेमिफाइनलमा प्रवल दावेदार इङ्गल्याण्डलाई हराउन मिचेलले अलराउन्डर जिमि निसमको राम्रो साथ पाएका थिए। निसमसँगै ग्लेन फिलिप्सको जोडीले न्युजिल्याण्डको फिनिसिङ लाइनअपलाई निकै बलियो बनाएको छ।

तर सेमिफाइनलमा हातमा लागेको चोटका कारण फाइनल खेल गुमाउन पुगेका मिडल अर्डर ब्याटस्म्यान डेभोन कन्वोको अभाव न्युजिल्याण्डलाई खड्किनेछ। अष्ट्रेलिया कन्वोको मनपर्ने प्रतिद्धन्दि हो। हालसम्म अष्ट्रेलियासँग खलेको ५ टी-ट्वान्टी खेलमा उनले ४८ को औसतमा एक सय ९२ रन जोडेका थिए। जसमा अविजित ९९ रन पनि सामेल छ।

अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी खेलमा न्युजिल्याण्डका प्रमुख हतियार हुन् मार्टिन गप्टिल। अष्ट्रेलियासँगको हालसम्मको १४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा उनले १२ खेल खेल्दा १५० माथिको स्ट्राइक रेटमा चार सय ३५ रन हानेका छन्। जसमा एक सतक र दुई अर्धसतक सामेल छ। त्यसैले फाइनलमा पनि गप्टिलले अष्ट्रेलियाका बलरहरुलाई तनावमा पार्न सक्छन्। यो विश्वकपमा पनि उनले ६ खेलमा १८० रन जोडिसकेका छन्। जसमा स्कटल्याण्डसँगको ९३ रन उनको उच्च स्कोर हो।

बलिङतर्फ अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी खेलमा इस सोडी न्युजिल्याण्डका लागि सर्वाधिक विकेट लिने खेलाडीमा पर्छन्। उनले अष्ट्रेलियासँग खेलेका कुल नौ खेलमा १६ विकेट लिएका छन्। यो विश्वकपमा पनि उनको ६ खेलमा नौ विकेट छ।

विश्व क्रिकेटमा न्युजिल्याण्डलाई एक दुर्भाग्यशाली राष्ट्र मानिन्छ। न्युजिल्याण्ड आईसीसीको प्राय:जसो सबै ठूला प्रतियोगितामा सेमिफाइनल वा फाइनलसम्म सजिलै पुग्छ तर हालसम्म उपाधि भने जित्न सकेको छैन। त्यसैले यो पटक न्युजिल्याण्ड पहिलो पटक विश्वकप जितेर इतिहास रच्ने दाउमा छ। विश्वभरीका क्रिकेटका धेरै समर्थक पनि न्युजिल्याण्डकै पक्षमा छन्।

न्युजिल्याण्ड आईसीसीको विश्व वरीयता क्रममा टेष्ट र एकदिवसीय क्रिकेटमा शिर्षस्थानमा रहे पनि टी-ट्वान्टी वरीयतामा चौथो स्थानमा मात्र छ। उता अष्ट्रेलिया भने टी-ट्वान्टी वरीयतामा छैठौँ स्थानमा छ।

तर टी-ट्वान्टी क्रिकेटमा हालसम्मको यी दुईको ‘हेड टु हेड’ इतिहास हेर्दा अष्ट्रेलिया को पल्ला भारी छ। अहिलेसम्मको १४ टी-ट्वान्टी खेलमा अष्ट्रेलियाले नौ खेल जितेको छ भने पाँच खेल न्युजिल्याण्डले आफ्नो पक्षमा पारेको छ।

टी-ट्वान्टी विश्वकपमा भने यी दुईबीच हालसम्म मात्र एकपटक भेट भएको छ। सन् २०१६ को विश्वकपमा भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ८ रनले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved