पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध ‘नेपाल बन्द’ आह्वान

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध ‘नेपाल बन्द’ आह्वान

काठमाडौँ। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान गरेको छ। पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले कात्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेको हो। शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरूमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई जनदबाब दिन ‘नेपाल बन्द’को आह्वान गर्नु परेको बताए।

उनले सो ‘नेपाल बन्द’ शान्तिपूर्ण हुने र त्यसले सरकारले बढाएको महँगीविरुद्ध राष्ट्रिय ऐक्यबद्धता प्रदर्शन गर्ने तर्क समेत गरे।
नेता बास्तोलाले ‘नेपाल बन्द’लाई शान्तिपूर्ण बनाउन जनतालाई अपिल गर्ने र त्यसमा सहयोग गर्न सञ्चारकर्मीहरूलाई पनि आग्रह गरे।
उनले भने ‘‘पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि सरकारले रोक्नु पर्छ। अहिले गरिएको पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउनु पर्छ। पेट्रोलियम पदार्थको मात्रै कुरा होइन। देशको हरेक क्षेत्रमा मूल्यवृद्धि भएको छ। चिनीमा, तेलमा, नुनमा, चामलमा मूल्यवृद्धि भएको छ। हरेक क्षेत्रको मूल्यवृद्धिको पछाडि राज्यको प्रणाली छ। यो मूल्यवृद्धि तुरुन्त घटाउनु पर्छ। राज्यलाई दबाब दिनका निम्ति एउटा राष्ट्रिय सोलिडारिटी र जनताको ऐक्यबद्धता र दबाब दिनका निम्ति हाम्रो पार्टीले कात्तिक ३० गते नेपाल बन्द भनेका छौँ। यो महँगीको विरुद्धमा, राज्यको वैधानिक लुटपाट, कानुन बनाएर लुटपाट गर्ने, नियम बनाएर लुटपाट गर्ने राज्य आफैँ जो बनेको छ। यसलाई खारेज गरिनुपर्छ। मूल्यवृद्धि रोकिनु पर्छ। त्यसको निम्ति जनदबाब दिन नेपाल बन्द आह्वान गरेको छौँ।’’

नेता बास्तोलाले राज्यले जनतालाई महँगी बढाएर वैधानिक लुटपाट मच्चाएको आरोप लगाए। उनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारणबारे झुट बोलिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved