भारत दौडमा कांग्रेस सभापतिका आकांक्षी

सीमा विवादको मुद्दाले दुई देशबीचको सम्बन्ध खस्किएको छ। महाकाली नदीको तुइन प्रकरणमा ज्यान गुमाएका जयसिंह थामीको मुद्दा ताजै छ। यस्तो अवस्थामा देशकै पुरानो पार्टीका सभापतिका आकांक्षीहरू तारन्तर भारत भ्रमणमा निस्किएका छन्।

भारत दौडमा कांग्रेस सभापतिका आकांक्षी

काठमाडौं।

  • ३ भाद्र – भर्खरै सञ्चालमा आएको दरभंगा विमानस्थल हुँदै कांग्रेस उपसभापति बिमलेन्द्र निधि दिल्ली प्रस्थान।
  • २१ असोज – प्रधानमन्त्री देउवाको प्रतिनिधित्व गर्दै प्रकाश शरण महतको नेतृत्वमा कांग्रेस नेता उदय शम्शेर र अजय चौरसियाको टोली भारत प्रस्थान।
  • ५ कात्तिक-महामन्त्री सशांक कोइराला भैरहवा नाका हुँदै स्थलमार्गबाट भारत प्रस्थान।
  • २४ कात्तिक-बर्दियामा गणेशमान सिंहको सालिक अनावरण गर्न पुगेका पूर्व महामन्त्री प्रकाशमान सिंह उतैबाट भारत भ्रमणमा।

 

नेपाल भारत सम्बन्धमा विद्यमान विभिन्न समस्यालाई थाती राख्दै सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरू १४ औँ महाधिवेशनको संघारमा भारत दौडधूपमा लागेका छन्। महाधिवेशनको छेकोमा आफ्नो पक्षमा समर्थन जुटाउन नेताहरूले भारत भ्रमणलाई तीव्रता दिएका हुन्। उनीहरूले आफ्नो पक्षमा भारतको समर्थन जुटाउन भारत भ्रमणमा तीव्रता दिएको पार्टीकै नेताहरू बताउँछन्।

कांग्रेस महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शेखर कोइराला बाहेकका अन्य शीर्ष नेताहरू कोही आफै भारत पुगेका छन् भने कसैले प्रतिनिधिलाई भारत भ्रमणमा पठाएका छन्।

महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका नेताहरूको भारत भ्रमण बाक्लिएको हो। पछिल्लो समय कांग्रेसका पूर्व महामन्त्री प्रकाश मान सिंह भारत भ्रमणमा रहेका छन्। राजनीति प्रेरित रहे पनि नेताहरूले बहाना भने अरु नै देखाउँदै आएका छन्।

२४ कात्तिकमा बर्दियामा गणेशमान सिंहको शालिक अनावरण गर्न पुगेका सिंह सोही स्थलमार्ग हुँदै दिल्ली पुगेका छन्। सिंहको भारत भ्रमणको पुष्टि कांग्रेस नेता संजय गौतमले गरेका छन्। “शालिक अनावरण गर्न सिंह बर्दिया आउनु भएको थियो, कार्यक्रमपछि सोही दिन फर्किनु भएको हो,” कांग्रेसतर्फबाट बर्दिया क्षेत्र नंम्बर १ बाट निर्वाचित सांसद गौतमले भने, “पारिवारिक सदस्यको दिल्लीमा उपचार हुँदै गरेकाले उहाँ दिल्ली जानुभएको जानकारी पाएको छु।”

पारिवारिक सदस्यलाई भेट्न गएको भनिए पनि नेता सिंहले राजनीतिक भेटवार्तालाई तीव्रता दिएको बुझिएको छ। कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा सिंहअघि अन्य कांग्रेस नेता पनि दिल्ली भ्रमणमा गएका थिए।

यसअघि पार्टीको महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने बताएका नेताहरू विमलेन्द्र निधि, शंशाक कोइरालाले दिल्ली भ्रमण गरेका थिए। प्रधानमन्त्री देउवाको प्रनिधितित्व गर्दै कांग्रेस सहमहामन्त्री प्रकाश शरण महत लगायतका नेता दशैँअघि भारत पुगेका थिए।

३ भदौमा निधिले भारतको भ्रमण गरेका थिए। उनी जनकपुरबाट दरभंगा विमानस्थल हुँदै भारत पुगेका थिए। भारतमा उपचाररत प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न भारत जान लागेको उनको सचिवालयले जनाएको थियो।

२१ असोजमा प्रधानमन्त्री देउवाको प्रतिनिधित्व गर्दै महतको नेतृत्वमा कांग्रेस नेता उदय शम्शेर र अजय चौरसियाको टोली भारत प्रस्थान गरेको थियो। भारतको सत्तारुढ दल भारतीय जनता पार्टीसँग पार्टीगत सम्बन्ध विस्तारको उद्देश्य बताइएको उक्त टोलीले राजनीतिक भेटघाट गरेको थियो।

५ कात्तिकमा कांग्रेस महामन्त्री सशांक कोइराला भारत प्रस्थान गरेका थिए। मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था र दिल्लीमा उपचाररत कांग्रेसका अर्का नेता दाबा लामाको अवस्थाका विषयमा बुझ्न भन्दै भैरहवा नाका हुँदै स्थलमार्गबाट उनी भारत पुगेका थिए।

नेपाल भारतबीच विद्यमान धेरै मुद्दाहरू सल्टिन बाँकी छन्। सीमा विवादको मुद्दाले दुई देशबीचको सम्बन्ध खस्किएको छ। नेपालले आफ्नो भूभागलाई ननक्सामा समेटेपछि तिक्ततापूर्ण बनेको सम्बन्धमा अझैं सुधार भएको छैन। यस्तै प्रधानमन्त्रीका रुपमा देउवा नियुक्त भएपछि महाकाली नदीको तुइन प्रकरणमा ज्यान गुमाएका जयसिंह थामीको मुद्दा ताजै छ। यस्तो अवस्थामा देशकै पुरानो पार्टीका सभापतिका आकांक्षीहरू तारन्तर भारत भ्रमणमा निस्किएका छन्।

कांग्रेस नेता मोहन बहादुर बस्नेत महाधिवेशनअघि नेताहरूले भारत भ्रमण गरे पनि त्यसले महाधिवेशनलाई खासै प्रभावित नपार्ने बताउँछन्। “सभापति निर्वाचित गर्ने प्रतिनिधिहरूको मतले हो,” नेता बस्नेत भन्छन्, “महाधिवेशनलाई नेताहरूको भारत भ्रमणले फरक पार्दैन।”

नेता बस्नेतले कांग्रेस नेताहरूको भारत भ्रमणले महाधिवेशनलाई प्रभाव नपार्ने बताए पनि नेताहरूको भारत भ्रमण भने आफ्नो पक्षमा माहोल बनाउन भएको दाबी गर्छन् कांग्रेस निकट राजनीतिक विश्लेषक डा. राजेश गौतम।

नेपली कांग्रेसको सभापतिको उम्मेदवारको विषयमा भारतको चासो अहिले मात्रै होइन शुरुआती दिनदेखि हो। बीपी कोइरालासम्मको अवस्था फरक भए पनि २०४६ सालपछिको स्थिति बद्लिएको डा. गौतमको बुझाइ छ। “बीपी कोइराला हुँदासम्म कांग्रेसका विषयमा भारतले चासो राख्ने गरे पनि पार्टीको आन्तरिक राजनीतिमा खेल्न सकेको थिएन, विश्लेषक गौतम भन्छन्, “बीपी कांग्रेसभित्रका एक मात्रै नेता थिए। अन्य नेतालाई उनीविरुद्ध खडा गर्नसक्ने अवस्था थिएन।”

पछिल्लो समयमा कांग्रेसका धेरै नेतामा नेतृत्वको आकाक्षां भएका कारण आफ्नो पक्षमा समर्थन जुटाउन उनीहरू भारत भ्रमणमा निस्किएको विश्लेषक गौतमले बताए।

आफू अनुकूलका व्यक्ति कांग्रेसको नेतृत्वमा आओस् भन्ने भारतीय चाहना हुने गरेको छ भने नेताहरूमा पनि भारत खुशी भए अरु सबै मिल्ने मनस्थिति देखिएको उनी बताउँछन्।

कांग्रेसभित्र सभापतिको उम्मेदवारी घोषणा गरेका नेताहरूले सौद्धान्तिक हिसाबमा पार्टीलाई कसरी अगाडि बढाउने  छलफल नगर्दा भारत भ्रमणका लागि तछाडमछाड गरेको देखिन्छ। विश्लेषक डा.गौतम पनि यो विषयमा सहमत छन्। भन्छन्, “उम्मेदवारी घोषणा गरेका व्यक्तिहरूले योजना र दृष्टिकोण सार्वजनिक गरेका छैनन्, नेतृत्व आफूले प्राप्त गर्न पाउनुपर्छ भन्ने दाबी मात्रै गरेका छन्।”

नेतृत्वको दाबी गर्ने व्यक्तिले आफ्नो योजना र दृष्टिकोण सार्वजनिक नगरी भारत भ्रमणलाई मात्रै प्राथमिकता दिएको भन्दै उनी असन्तुष्टि व्यक्त गर्छन्। कांग्रेसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कसैसँग योजना नभएको उनको आरोप छ।

सभापति पदकै लागि भारतीय समर्थनको अपेक्षा गर्ने नेतृत्वबाट भारतसँग विद्यमान रहेको समस्यालाई सम्बोधन गर्छन् भनेर विश्वास गर्ने आधार नभएको होइन। कांग्रेस नेता संजय गौतम भन्छन्, “नेताहरूको भारत भ्रमणलाई पार्टी महाधिवेशनमा भारतको समर्थन खोजियो भन्ने हिसाबले लिनु हुँदैन।”

यता विश्लेषक डा. गौतमको विचार भने यस विषयमा फरक छ। नेपालका आन्तरिक राजनीतिमा २०४६ पछिको अवस्थामा भारतको चासो व्यापक मात्रामा देखिन्छ। उनी भन्छन्, “हाम्रो देशका कुनै पनि पार्टीका नेताले भारतसँगको छलफलमा दृढतापूर्वक नेपाली पक्षको कुरा राख्छन् भन्ने मलाई लाग्दैन।” महाधिवेशनको अवसरमा मात्रै होइन पार्टीहरूको स्थापना नै भारतबाट भएका कारण नेपाली राजनीतिमा भारतको प्रभाव देखिएको उनको बुझाई छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved