सरकारले तोकेकै मूल्य पनि पाउँदैनन् किसान

सरकारले तोकेकै मूल्य पनि पाउँदैनन् किसान
फाइल तस्वीर

दाङ। सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरीद गरिरहेका छन्। घोराही-६ का किसान लबरु चौधरीले मोटो धान दुई हजार ३०० रुपैयाँ प्रतिक्विन्टलमा धान बिक्री गरेका छन्। धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उनले गुनासो गरे।

ट्र्याक्टरले खेत जोतेको, थ्रेसरले दाएको पैसा पनि नउठ्ने उनी बताउँछन्। “वर्षभरिको खर्च धान बेचेको पैसाले चल्ने गरेको थियो। धानको मूल्य नपाउँदा मेहनत र लगानी सबै खेर गयो”, उनले भने। लमही नगरपालिका-३ का किसान रुपनी चौधरीले यसपालि खेती गर्ने समयमा राम्रो पानी परेकाले उत्पादन बढ्ने आशा गरेका थिए। गत वर्षभन्दा पाँच क्विन्टल धान बढेको पनि थियो। मसिनो धान दुई हजार ५०० रुपैयाँमा बिक्री गरेको उजले बताए। सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो उनको छ।

नेपाल सरकारले किसानबाट धान खरीद गर्नको लागि न्यूनतम समर्थन मूल्य तोकेको छ। मोटो धान प्रतिक्विन्टल दुई हजार ७०० रुपैयाँ र मध्यम खालको धान दुई हजार ९०० रुपैयाँ  प्रतिक्विन्टलमा खरीद गर्न न्यूनतम समर्थन मूल्य तोकेको छ। स्थानीय व्यवसायीले किसानबाट मोटो धान बढीमा दुई हजार ३०० रुपैयाँ क्वीन्टल र मसिनो धान बढीमा दुई हजार ५०० रुपैयाँमा खरीद गर्ने काम भइरहेको कक्षपति राइस मिल लमहीका म्यानेजर मदन अधिकारीले बताले। पानीबाट बचेको धान मात्रै खरीद गरिरहेको जानकारी उनले दिए।

बेमौसमी वर्षाले ७० करोडको क्षति

दाङमा बेमौसमी वर्षाले आठ हजार ८८० हेक्टरमा गरिएको धानमा खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। जसअन्तर्गत  ७० करोड रुपैयाँ बराबरको धानमा क्षति पुगेको केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए। जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएको थियो।

खाद्यले धान खरीद नगर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा धान खरीद नगर्ने भएको छ। धान खरीदका लागि हालसम्म कुनै पनि जानकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई नआएको कार्यालयले जनाएको छ। धान खरीदका लागि हालसम्म कुनै पनि जानकारी नआएको कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए।

“अहिले सम्म कुनै जानकारी आएको छैन, यस वर्ष धान खरीद हुँदैन”, उनले भने, “धान खरीद गर्नभन्दा पहिले मिलसँग कुराकानी गर्दा मिलवालाले कुटाउन नसक्ने भन्ने जवाफ दिने गर्छन्।”

कम्पनीलाई जिल्ला बाहिर लगेर धान कुटाउनु पर्ने बाध्यता रहेको छ। जिल्लामा रहेका धेरै मिलसँग समन्वय भएपनि कुटाउन नमानेको उनको भनाइ छ। “हाम्रोे मापदण्डअनुसार कुटानी गर्न सक्दैनौँ भनेका कारण कुटानीमा समस्या छ”, उनले भने। अन्य जिल्लामा खरीद गरेर कुटानी गरेको चामल आइ रहेको चौधरी बताउँछन्। “हामीसँग चामल राख्नका लागि मात्र स्थान छ तर धान खरीद गरेर राख्न स्थान पनि छैन त्यसैले पनि समस्या परेको हो”, उनले भने।

व्यापारीले भन्दा कम्पनीले बढी मूल्यमा खरीद गर्ने आशामा कृषकहरु रहेका थिए तर अब बाध्य भएर व्यापारीले भनेको मूल्यमा नै धान बेच्नुपर्ने भएको छ। वर्षाले धान खेतीमा क्षति पुर्‍याएको तथा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्दा कृषक थप पीडामा रहेका छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved