प्रिय पात्र

सधैँ मसँगै हिँडिरहन्छन् ‘नरेन्द्र दाइ’

उसमा कुनै विशिष्टता छैन । ऊ सामान्य छ, हामी सबैजस्तै। त्यसैले त्यो हाम्रो समाजको यथार्थ पात्र हो। कताकता देखेदेखे जस्तो। कताकता चिनेचिने जस्तो। कताकता बाँचेबाँचे जस्तो।

सधैँ मसँगै हिँडिरहन्छन् ‘नरेन्द्र दाइ’

पढ्दै जाने क्रममा अनेक पात्रले विभिन्न छाप छोड्दा रहेछन्। धेरै पात्र अविस्मरणीय हुँदा रहेछन्। म त झन् कथाको पात्र सँगसँगै लहरिँदै बगिजाँदो रहेछु। हरेकमा अपनत्व महशुस गरेर पात्र जहाँ जहाँ पुग्यो त्यहीँ त्यहीँ भड्किए जसरी पढ्ने भएकाले मेरो जीवनमा धेरै पात्र प्रिय छन्। तर झट्ट नाम लिनुपर्दा मस्तिष्कमा आउने पहिलो तस्वीर भने बीपी कोइरालाको नरेन्द्र दाइ हो।

नरेन्द्र दाइको त्यो हुलिया, त्यो जिद्दीपन, त्यो निस्सार भाव, त्यो परम्परागत मान्यता तोड्न खोज्ने तर परिस्थितिसँग जुध्न नसकेर भाग्दै हिँड्नपर्ने पलायनवादी चरित्र मेरो मनसपलटमा सधैँ घुमिरहन्छ।

धेरै पहिले स्कुलताका नै ‘नरेन्द्र दाइ’ उपन्यास पढेकाले पात्र र कथा अब धूमिल भइसकेका छन्। तर एउटा मधुरो सम्झनाको रूपमा नरेन्द्र दाइको चरित्रले आज पनि मलाई चिमोटिरहन्छ। एकलास सडकमा एक्लै हिँडिरहँदा प्रायः म उसलाई सम्झिरहेको हुन्छु। म सम्झिन्छु, तराईको देहाती जीवन, जमिन्दार र रैती भएको समाजको चित्रण, गरीब र धनी दुवैको अन्तर्यमा हुने निस्सारता र वैयक्तिक जीवनको अर्थ र मूल्यको कोलाज।

त्यसो त नरेन्द्र दाइ त्यस्तो प्रभाव पारिहाल्ने पात्र होइन। उसमा कुनै विशिष्टता छैन । ऊ सामान्य छ, हामी सबैजस्तै। त्यसैले त्यो हाम्रो समाजको यथार्थ पात्र हो। कताकता देखेदेखे जस्तो। कताकता चिनेचिने जस्तो। कताकता बाँचेबाँचे जस्तो।

बाल्यकालमै प्रभाव पारेर अहिले पनि स्मृतिमा बसिरहेको पात्र हो नरेन्द्र दाइ। सानो बाबु अर्थात् उपन्यासको म पात्रले वर्णन गरेको नरेन्द्र दाइको चरित्र अझै पनि मेरो मानसपटलमा छ।

गौरीको पतिका रुपमा छ नरेन्द्र दाइ।
कप्तान्नी आमाको छोरोको दृष्टिमा नरेन्द्र दाइ।
सानुबाबुको नजरमा नरेन्द्र दाइ।
मुनरियाको प्रेमी नरेन्द्र।

फरक फरक व्यक्तिको आँखामा राखेर जसरी नरेन्द्र दाइलाई बीपीले लेखेका छन् त्यो पात्रको चरित्र चित्रणमात्र नभइ एउटा मान्छेलाई सिंगो उतार्ने प्रयत्नजस्तो लाग्छ। एउटा व्यक्ति कति टुक्रामा बाँचिरहेको हुन्छ भन्ने यथार्थ पस्किएजस्तो लाग्छ।

कसरी एउटा लेखकले पात्रलाई जीवन्त बनाउँछ भन्ने उदाहरण हो यो। सोही उपन्यासकी कप्तान्नी आमा, गौरी र मुनरिया पनि मैले एकदमै सम्झिरहने पात्र हुन्।

गौरीको निस्सारता र सम्पन्नताभित्रको एक्लोपन। अस्तित्वको खोजीमा रहेकी मुनरिया। विद्रोही नरेन्द्र दाइ। यी सबै पात्र आफैमा जीवन्त छन्। र, त्यति नै शक्तिशाली छ, कथाको प्लट।

पढ्दाखेरी त्यो पात्र आफै हो भन्ने महशुस गरेर पढिन्छ। मैले आफूलाई नरेन्द्र दाइको ठाउँमा राखेर यो उपन्यास पढेको थिएँ। कतै माया, कतै दया, कतै आक्रोश र कतै रीस पोखेर पढेको पात्र हो ऊ।

उपन्यासको अर्को विशेषता हो, यौन मनोविज्ञान। राम्रोसँग शारीरिक विकास नभएकी आफ्नी पत्नीबाट विकर्षित नरेन्द्र आफ्नै घरमा काम गर्ने मुनरियासँग प्रेमलीला रची कहिले काठमाडौँ त कहिले बनारस भड्किएको र अन्ततः घर नै फर्किएर पत्नीसँग नजिकिएको कथानकले हाम्रै वरपरको कुनै मानिसको जीवन केलाएजस्तो महशुस हुन्छ।

हो, नरेन्द्र दाइ विद्रोही छ र परम्परागत मान्यता त्याग्नुपर्छ भन्ने विचार पनि राख्दछ। तर परिस्थितिसँग जुध्न नसकेर पलायन हुन खोज्छ।

समग्रमा त्यस घटनाले जीवनको कालखण्डमा म साथ साथै हिँडेर छुटेको कुनै एक साथी जस्तो पनि लाग्छ। ऊभित्र निस्सारता र शून्यता छ। सामन्त परिवारका छोरा बुहारी नरेन्द्र र गौरी जति खोक्रा र शून्य देखिन्छन्, त्यति नै समान्य परिवारमा जन्मिएर जमिन्दारको घरको दासी भएर अन्ततः मायाजालमा फसेर जमिन्दारको छोराको रखौटी बन्नुपरेको मुनरियाको बाध्यता छ। नरेन्द्र दाइका पात्रमा अस्तित्वको जुन खोज छ, त्यसले नै ती जीवन्त लाग्छन्। र, ती आफ्नै वरिपरि उभिएजस्ता लाग्छन्।

त्यो पात्रले आज पनि मलाई गुम्म पारिराख्छ। नरेन्द्र दाइ मैले देखिसकेको पात्र हो। कतै देखेँ भने ठ्याक्कै चिन्छु। उसले लगाउने पहिरनदेखि, उसको जिद्दीपन, उसको चरित्र मेरो मनमा बसेको छ। ती सबै थोकले मेरो दिमागमा छाप छोडेका छन्। त्यो धेरै पुरानो र अर्कै परिवेशबाट आएको पात्र भएकाले बाह्य स्वरूपमा त्यस्ता पात्र त नदेखिएलान्। तर बाहिरी आवरणमा दुरूस्तै नभए पनि उस्तै आत्मा भएका मानिस आजपर्यन्त छन्। आत्मा रुपान्तरण नहुने रहेछ। सय वर्ष अगाडिको पात्र र अहिलेको पात्रबीच हुने समान विषय नै आत्मा हो जस्तो लाग्छ।

नरेन्द्र दाइसँग भारतको कासी (बनारस) जोडिन्छ। पहिले कासी गुरूकुलका रूपमा स्थापित थियो।  नेपालीहरू पढ्न जाने ठाउँ थियो त्यो। हिन्दू परम्परा अनुसार कासीलाई धार्मिकस्थलका रुपमा हेरिन्छ, त्यहाँ गइसकेपछि पूर्ण श्राद्ध गर्न पर्दैन भन्ने मान्यता पनि राखिन्छ।

तर म कासीलाई त्यति मात्रले हेर्दिनँ। त्यहाँ पुगेर त्यो ठाउँलाई नजिकबाट हेरेकाले पनि कासीलाई म हाम्रो विश्वासका रुपमा मात्रै हेर्दिनँ। त्यसलाई जिजीविषाका रुपमा हेर्छु। मानिसहरूको अस्तित्वको रुपमा हेर्छु। म कासी जाँदा त्यहाँ नरेन्द्र दाइ जस्तो कोही देखे राम्रोसँग नियालेर हेर्थेँ। म कासी पुग्दा नरेन्द्र दाइलाई सम्झन्छु।

त्यो पात्रले यसरी जकेडेको छ, म गाउँतिर जाँदा पनि नरेन्द्र दाइकै प्रवृत्तिका घटना देख्छु। मेरो मस्तिष्कमा पारेको गहिरो छापका कारण म कथाको जस्तो परिवेश जहाँ देखे पनि नरेन्द्र दाइलाई नै सम्झन्छु।

नरेन्द्र दाइ बाहेक मैले आफैले अभिनय गरेका धेरै पात्र पनि मलाई मन पर्छन्। आफैले भूमिका निभाएका पात्र झन् बढी आफ्ना लाग्दा रहेछन्। जीवनको छोटो कालखण्ड भए पनि ती पात्रसँग गुजारेका कारण होला। मैले आफैँले गरेको र त्यो पात्रको भूमिका अझै पनि निभाउन पाए हुन्थ्यो लागेको एउटा नाटकको पात्र छ। र्‍युनोसुके आकुतागावाले लेखेका दुईओटा कथा जोडेर जापानी निर्देशक आकिरा कुरोसावाले तयार पारेको फिल्म ‘रसोमन’लाई सुनिल पोखरेलले नेपालीमा नाट्य रुपान्तरण गर्नु भएको थियो।

गुरुकुल बन्द भएको तीन वर्षपछि प्रदर्शनमा आएको उक्त नाटकमा मैले घाटेको भूमिका निभाएको थिएँ। त्यो अहिले पनि सम्झिरहने पात्र हो। त्यो एकदमै सत्य बोल्ने पात्र थियो। तीतो सत्य बोल्ने पात्र। घाटमै सुत्ने, घाटमै खाने, दुनियाँसँग मतलब नभएको ५० को हाराहारीको पात्र थियो।

मैले अभिनय गरेका पात्र मध्ये अझै गर्न पाए हुन्थ्यो भन्ने लागेको पात्र त्यही हो। त्यसलाई नजिकबाट अझ महशुस गर्ने रहर छ। उसलाई सम्झँदा पनि आनन्द लाग्छ।

प्रस्तुति: काशीराम बजगाई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved