लथालिंग बालगृह : झारले छोपियो भवन, शौचालय देख्दै घिन लाग्छ

२००४ सालमा केन्द्रीय कार्यालय भीमसेनथानमा सञ्चालनमा आएको केन्द्रले २०५७ मा दुवाकोटमा वृद्धाश्रम र अनाथालय सञ्चालनका लागि शाखा कार्यालयको भवन निर्माण गरेको थियो। तर यसको हालत अहिले नाजुक छ।

लथालिंग बालगृह : झारले छोपियो भवन, शौचालय देख्दै घिन लाग्छ

काठमाडौं। चौरभरि फुलेका घाँसमा केही बाख्राहरू चरिररहेका छन्। संरक्षण अभावमा भवन जीर्ण बन्दै गएको छ। भवनको छानोमा समेत झार पलाएका छन्। केही भवन भने झारले छोपिन लागेका छन्।

मूल ढोकाकै सिसा फुटेको छ। कतै झ्याल छ, तर खापा छैन। कतै ढोका छ, खापा छैन। खानेपानीको धारामा लेउ लागेका छन्। भान्सा कालोपत्रले पुरिन लागेको छ। लाग्छ वर्षौँदेखि सरसफाइ नै भएको छैन। प्रेसर कुकरमा पानीजस्तै दाल थियो। छेउमै थियो एक बोरा चामल। अलिक पर फोहोरको थुप्रो उस्तै।

यो दुवाकोटस्थित परोपकार बालगृहको परिसरको दृश्य हो।

२००४ सालमा केन्द्रीय कार्यालय भीमसेनथानमा सञ्चालनमा आएको केन्द्रले २०५७ मा दुवाकोटमा वृद्धाश्रम र अनाथालय सञ्चालनका लागि शाखा कार्यालयको भवन निर्माण गरेको थियो।

केन्द्रको नाममा तीन ओटा भौतिक संरचना छन्। भवन निर्माण भएको २० वर्षमै जीर्ण बनिसकेको छ। शौचालयको दुर्दशा उस्तै छ। लस्करै बनाइएका चार वटा शौचालयको ढोका ह्वाङ्गै छ। शौचालय आसपास पुग्दा नै गन्धले नाक थुनिहाल्नुपर्छ।

जम्मा ६ जना बालबालिका मात्र

१० वर्षदेखि संरक्षणविहीन बालबालिकाको अभिभावकत्व लिँदै आएको केन्द्रको अवस्था लथालिंग छ। केन्द्रमा हाल ६ जना बालक राखिएका छन्। तीमध्ये दुई जनाको त्यहाँ बस्ने समयावधि सकिन लागेको केन्द्रका सुपरभाइजर मनोहर खनालले बताए। अब केन्द्रको संरक्षणमा चार जना बालक बाँकी रहन्छन्। तर पनि उनीहरू आधारभूत आवश्यकताबाटै वञ्चित छन्। उनीहरूले पोसिलो आहार र स्वच्छ वातावरणमा सास फेर्नसमेत पाएका छैनन्। “हाम्रो त बानी परिसक्यो,” केन्द्रका एक बालकले भने।

भान्सामा आवश्यक सामग्री नभएको जानकारी गराउँदा बेवास्ता गर्ने कार्यलय सहयोगीले गनासो पोखिन्।

केन्द्रको भवन निर्माण भएको जग्गा सरकारले वीर अस्पतालको नाममा दिएको र केन्द्र सञ्चालनमा अन्योल भएको केन्द्रका सुपरभाइजर मनोहर खनाल बताउँछन्। आम्दानीको स्रोत नभएकोले केन्द्र अव्यस्थित हुन पुगेको उनको तर्क छ। “ जग्गाको लागि नगरपालिका र वीर अस्पतालसँग कुरा गर्दा केही टुंगो लागेको छैन।”

केन्द्रको भवन भएको जग्गा सरकारले वीर अस्पतालको नाममा हस्तान्तरण गएपछि केन्द्रको नाममा जग्गा नरहेकाले तीन वर्षयता भवन सुधारको प्रयास नगरिएको खनाल बताउँछन। “केन्द्रलाई सरकारी वा गैरसरकारी कुनै निकायले पनि सहयोग गरेको छैन”, उनी भन्छन्, “बालक संरक्षणका लागि सबै व्यवस्था आफैँले गर्नुपर्छ।” उनले थपे, “केन्द्रका बालक कोही डाक्टर पढ्दै, कोही इन्जिनियर पढ्दै छन् केही काम गर्दै छन्।”

अहिले केन्द्रमा रहेका बालक चाँगुनारायण माध्यमिक विद्यालयमा अध्ययन गर्ने उनले बताए। केन्द्रमा रहेका चार बालकलाई अर्को शैक्षिक सत्रबाट केन्द्रमा नै सार्ने उनको तर्क छ।

एक साताअघि चाँगुनारायण नगरपालिकाको नगर बालअधिकार समितिले नगर क्षेत्रका ६ ओटा बालगृह अनुगमन गर्दा परोपकार बालगृहको बालबालिकाको अवस्था एकदमै दयनीय पाइएको उपप्रमुख बिना बास्तोलाले बताइन्। “उनले भनिन्, “अभिभावकविहीन बालबालिकाको अवस्था दयनीय छ।”

पहिलो वर्ष अनुगमन गर्दा केन्द्रमा बेथिति देखिएपछि चेतावनी दिएर आएको उनी बताउँछिन्। सम्पर्क गर्दा सुधार ल्याएको बताए पनि एक साताअघि दोस्रो पटक अनुगमन गर्न जाँदा झन् लापरवाही गरेको पाइएको उपप्रमुख बास्तोलाले बताइन्। केन्द्रलाई पत्र पठाएर बैठकमा बोलाएर निचोड निकाल्ने सोच बनाएको उनी बताउँछिन्।

परोपकार बालगृह सञ्चालनमा केही कमजोरी पाएको नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रशासकीय प्रमुख निलाकुमारी घिमिरे बताउँछिन्। केन्द्रले पालना गनुपर्ने मापदण्डविपरीत सञ्चालन गरेकोमा चेतावनी दिँदासमेत केन्द्रले सुधार नभएको उनको ठहर छ। केन्द्रलाई अघिल्लो पटक वार्षिक विवरणसहित बालबालिकाको विवरण पठाउन पत्र पठाए पनि अहिलेसम्म विवरण प्राप्त नभएको उनी बताउँछिन्। भन्छिन्, “अहिले ७ दिनभित्र उपस्थित हुन पत्र लेखी पठाउने तयारीमा छौँ।”

केन्द्रीय सरकारमातहतबाट सञ्चालन भएकाले स्थानीय सरकारलाई नटेर्ने प्रवृत्ति रहेको उनको भनाइ छ। केन्द्रलाई कारबाही गर्न स्थानीय सरकारसँग कुनै अधिकार नभएकाले समस्या भएको उनी बताउँछिन्।

केन्द्रका सरोकारवाला निकायसँग छलफल गरी त्यहाँ रहेका बालकलाई अन्य केन्द्रमा सारेर बन्द गर्न पहल गर्ने उनले बताइन्। “केन्द्रबारे काठमाडौँ भीमसेनस्थानको परोपकार केन्द्रसँग पनि कुरा गरेका छौँ”, घिमिरे भन्छिन्, “अब पनि सुधार नभए केन्द्रमै उजुरी गर्ने योजना छ।”

तस्वीर : भागिरथी पण्डित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved