धनुषामा यसरी हुँदैछ कांग्रेसको वडाअधिवेशन

वडाअधिवेशनले पार्टीको वडासभापति चयन गर्नुका साथै दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्यहरूसहित ९ देखि ११ सदस्यीय कार्य समिति चयन गर्नेछ।

धनुषामा यसरी हुँदैछ कांग्रेसको वडाअधिवेशन

जनकपुरधाम। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वडाअधिवेशन नभएका १३ जिल्ला मध्ये धनुषामा आइतबार वडाअधिवेशन हुँदै छ। वडा अधिवेशनको रौनकसँगै धनुषामा पनि महाधिवेशनको प्रक्रिया शुरु भएको छ। धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ स्थानीय तह छन्। ती तहका १६९ वडामा आइतबार अधिवेशन हुन लागेको हो।

वडाअधिवेशनले पार्टीको वडासभापति चयन गर्नुका साथै दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्यहरूसहित ९ देखि ११ सदस्यीय कार्य समिति चयन गर्नेछ। कोषाध्यक्ष भने वडा सदस्यहरूबाट मनोनीत गर्ने प्रावधान छ।

वडाअधिवेशनले प्रत्येक वडाबाट १५ देखि २५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ। जनकपुरधाम नगर सभापति मनोजकुमार साहका अनुसार १५० क्रियाशील सदस्य भएका वडामा १५ जना क्षेत्रीय प्रतिनिधि छनौट गरिनेछन्। २५० भन्दा बढी क्रियाशील सदस्य भएका वडामा २५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने वैधानिक व्यवस्था छ।

जसअन्तर्गत जनकपुरधाम उपमहानगर ५ वटा वडामा २५ जना र अन्य २० मा १५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। वडाअधिवेशनले नै बुथ कमिटी गठन गर्नेछ। १५ जना क्षेत्रीय प्रतिनिधि भएका वडामा खुलातर्फ ९ मध्ये ६ पुरुष र ३ महिला तथा दलित, आदिवासी, जनजाति, खसआर्य, मुस्लिम र अल्पसङ्ख्यकतर्फ ४ पुरुष र २ महिला निर्वाचित हुनेछन्।

२५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने वडाको अनुपात भने यसरी नै रहनेछ। क्षेत्रीय प्रतिनिधिहरूले नगर सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापति पदका लागि उम्मेदवार तथा मतदाता हुनेछन्। क्षेत्रीय प्रतिनिधिहरूले नै जिल्लाका प्रत्येक प्रदेश सभा क्षेत्रबाट १५ जनाका दरले प्रदेश अधिवेशनकालागि प्रतिनिधि चयन गर्नेछन्।

केन्द्रीय महाधिवेशनका मतदाताका रुपमा प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछन्। काँग्रेस उपसभापति बिमलेन्द्र निधि र काँग्रेस प्रदेश र संसदीय दलका नेता रामसरोज यादवको निर्वाचन क्षेत्र समेत रहेको धनुषाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने जनकपुरधाम उपमहानगरले स्थानीय तह र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले अन्तिम समयसम्म भने सहमतिको प्रयास भने जारी नै रहने काँग्रेस धनुषा सभापति महेश शंकर गिरीले बताए।

कुन वडामा कसको वर्चस्व ?

धनुषामा रहेको १८ स्थानीय तह मध्ये जनकपुरधाम उपमहानगरपालिकाको वडा अधिवेशन सर्वाधिक चर्चामा छ। २५ वटा वडा रहेको उपमहानगरपालिकामा अधिकांशमा सर्वसम्मतिको सम्भावना छ। केही वडामा निर्वाचन नै हुने अवस्था छ। उपमहानगरको वडा नं. १,८,९,१०,२०,२३ मा निर्वाचन हुने बलियो सम्भावना छ। वडा नं. १ मा रामदयाल पूर्वे र देबु यादवको प्रतिस्पर्धा हुने देखिएको छ। वडा नं. ८ मा सुखचन्द्र मिश्र (मालिक भाइ) र सुरेन्द्र शर्मा बीच टक्करको सम्भावना छ। त्यसैसरि वडा नं. ९ मा बिमलेश सिंह र ज्ञानेन्द्र मंडल बीच कडा प्रतिस्पर्धा छ। त्यस्तै वडा नं. १० मा मिथिलेश कर्ण र रामचन्द्र चौधरीबीच प्रतिस्पर्धाको सम्भावना छ।

यता जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २० र २३ मा पनि निर्वाचनबाट नेतृत्व छानिने सम्भावना छ। वडा नं. २० मा हृदयकान्त झा, जगत झा र राम सुन्दर पण्डित बीच त्रिकोणीय प्रतिस्पर्धा हुने छाँटकाँट छ। त्यस्तै वडा नं. २३ मा राम नन्दन चौधरी र राघवेन्द्र साह बीच कडा टक्कर हुने बुझिएको छ।

यस्ता छन् सम्भावित वडा सभापतिको नामावली सूचि

वडा नं. १. राम दयाल पूर्वे, देबु यादव
वडा नं. २. राम लोचन यादव
वडा नं.३. बुद्धिराम ठाकुर
वडा नं.४. सुरेश झा, दीपक साह
वडा नं. ५. मनोज साह, बेचन साह
वडा नं.६. दिनेश साह, विनय राय
वडा नं.७. श्याम साह
वडा नं. ८. सुख चन्द्र मिश्र, सुरेन्द्र शर्मा
वडा नं. ९. बिमलेश सिंह, ज्ञानेन्द्र मंडल
वडा नं. १०. मिथिलेश कर्ण , राम चन्द्र चौधरी
वडा नं.११. सञ्जय साह
वडा नं. १२. शत्रुध्न यादव, बद्री यादव
वडा नं. १३. जितु राउत
वडा नं. १४. ब्रह्मदेव मिश्र
वडा नं. १५. सुरेश साह
वडा नं. १६. बिगुल साह, शिवेन्द्र साह
वडा नं. १७. बालबोध यादव
वडा नं. १८. जासिम नदाफ
वडा नं. १९. विजय यादव
वडा नं. २०. हृदयकान्त झा, जगत झा, राम सुन्दर पण्डित
वडा नं. २१. महेन्द्र महतो
वडा नं. २२. बिलट मंडल
वडा नं. २३. राम नन्दन चौधरी, राघवेन्द्र साह
वडा नं. २४. विश्वेश्वर शर्मा, खेदरु साह
वडा नं. २५. उमेश यादव, जोगी पासवान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved