निधिमाथि ʽदेउवा-तीरʼ

अघिल्लो महाधिवेशनमा निधिकै साथ पाएर सभापति जितेका देउवा अहिले पनि त्यो साथ हरहालतमा गुमाउन चाहँदैनन्। सभापति जित्न मात्र पनि देउवालाई निधिको साथ महत्वपूर्ण छ।

निधिमाथि ʽदेउवा-तीरʼ

काठमाडौं। बिहीबार दिउँसो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहदुर देउवाले सरकारी निवास बालुवाटारमा बोलाएर उपसभापति निधिलाई शुभकामना दिए।

सभापतिको उम्मेदवारी घोषणा गरेका निधि र सभापतिमा दोहोरिन कम्मर कसेका देउवाबीच बिहीबार दिउँसो रमाइलो घोचपेच पनि चल्यो। लामो समयसम्म सहकार्य गरेका यी दुई महाधिवेशनमा भने सभापतिका लागि प्रमुख दाबेदार भएर देखापरेका छन्।

तर देउवा निधिलाई सकभर मनाएर, नभए उनलाई कमजोर बनाएर निष्प्रभावी बनाउने दाउमा छन्। त्यही भएर होला देउवाले आफूले १५ औं महाधिवेशनका लागि मात्रै निधिलाई शुभकामना दिएको पनि सम्झाए। निधिले भने ज्योतिषको कुरा निकालेर देउवालाई सात पटक प्रधानमन्त्री बन्ने योग रहेको सम्झाए। यो सभापतिका लागि नभएको सम्झाए।

बैठकमा सहभागी एक नेताका अनुसार देउवा निधिबीच बिहीबार बालुवाटारमा निकै रमाइलो र हँसिमजाक भएको थियो। देउवाले लामो समयपछि निधिलाई यसरी आफ्नो समूहको बैठकमा बोलाएका थिए। निधिले भने त्यसलाई सामान्य रूपमा लिएका थिए।

कांग्रेसमा महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरूमा दौडधूप बढेको छ। यसैबीच सभापति देउवाले उपसभापति निधिलाई आफ्नो निवास बोलाएर उनको टिमलाई फर्काउन खोजिएको बुझिन्छ। निधि मधेशी मूलका भएका र कांग्रेसको मधेशमा राम्रो मत छ। जुन देउवाले पनि बुझेका छन्। निधिलाई आफूतिर ल्याउन पनि उनी लागिरहेका छन्।

अघिल्लो महाधिवेशनमा निधिकै साथ पाएर सभापति जितेका देउवा अहिले पनि त्यो साथ हरहालतमा गुमाउन चाहँदैनन्। सभापति जित्न मात्र पनि देउवालाई निधिको साथ महत्वपूर्ण देखिन्छ।

जनकपुरमा पनि देउवा हावी !

अर्को रोचक के भने, देउवानिकट कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँड सोमबार मात्रै जनकपुर पुगेर मंगलबार काठमाडौं फर्किएका थिए। देउवाका विश्वासपात्र खाँडले जनकपुरमा निधिका कोर समूहका नेताहरूसँग दुई दिन बिताएका थिए।

दशैंमा निधिले जनकपुरमा बसेर धनुषाका चार ओटै निर्वाचन क्षेत्रमा शुभकामना आदानप्रदान कार्यक्रम राखेका थिए। तर निधिको उक्त कार्यक्रमहरूमा नदेखिएका पूर्वमन्त्रीहरू आनन्दप्रसाद ढुंगानादेखि महेन्द्र यादवलगायत खाँडको कार्यक्रममा भने पुगे।

साथै निधिकै निकट मानिने जनकपुरका जीवनाथ चौधरीले गृहमन्त्रीको स्वागतमा कार्यक्रम राखेपछि जनकपुरमा निधिको कोर समूह भत्किएको चर्चा बाक्लिएको छ। चौधरी जिविस धनुषाको भ्रष्टाचार काण्डमा मुछिएका जनकपुरका विवादस्पद पात्र हुन्।

निधिको अत्यन्तै निकट चौधरी अहिले प्रदेश २ को भौतिकमन्त्री रामसरोज यादवका सल्लाहकारसमेत हुन्। कांग्रेस प्रदेश २ को संसदीय दलका नेतासमेत रहेका यादव प्रदेश सरकारमा निधिको इच्छाविपरीत सहभागी भएका पनि जनकपुर कांग्रेसमा चर्चा चल्ने गर्छ। यादव सभापति देउवाको निर्देशनमा प्रदेश सरकारमा सहभागी भएका हुन्।

आफूविरुद्ध निधि आगामी महाधिवेशनमा उभिने भएपछि उनको गृहजिल्ला र निर्वाचन क्षेत्रमा द‍ेउवा प्रभाव जमाउन प्रयासरत छन्। गत दशैंमा उपसभापति निधि जनकपुर नै बसेका थिए। उनले धनुषाका चार ओटै निर्वाचन क्षेत्रमा शुभकामनादेखि अन्य भेटघाट कार्यक्रमहरू राखेका थिए। तर विगतमा निधिसँगै देखिने देउवा खेमाका अन्य नेताहरू यसपटक निधिसँग देखिएन। बरु दशैंलगत्तै देउवा खेकामा अन्य नेताहरूले खाँडको जनकपुर आउने कार्यक्रम बनाए।

यसले कतै देउवा निधिको कोर समूहमा निशाना बनाइरहेका त छैनन् भन्ने आशंका देखिन्छ।

त्यसैगरी प्रदेश २ का अन्य जिल्लाहरूमा पनि देउवाले प्रभाव छाडिरहेका छन्। विगतमा निधिसँग नजिकिएका अन्य मधेशी मुलका नेताहरूलाई देउवाले आफूनिकट बनाउन थालेका छन्।

कुनै बेला गिरिजाप्रसाद कोइरालाविरुद्ध कांग्रेस फुटाउनसम्म देउवालाई साथ दिएका निधि अहिले देउवाविरुद्ध नै छन्। देउवाले त्यतिबेला तराई मधेशमा निधिसहित विजय गच्छदारलगायत प्रभावशाली नेताहरू आफ्नो पक्षमा पारेका थिए। जुन मधेशमा देउवाको राम्रो प्रभाव मानिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved