नारायणकाजीको प्रस्टोक्ति – माओवादी छाडेर कतै जाँदिनँ, यी हल्ला हुन्

नेपालभ्युज

नारायणकाजीको प्रस्टोक्ति – माओवादी छाडेर कतै जाँदिनँ, यी हल्ला हुन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आफूले पार्टी छाडेर अन्य पार्टीमा नजाने प्रस्ट पारेका छन्।

केही दिनयता उनले पार्टी छाड्ने चर्चा चलिरहेको र नेकपा (एमाले) मा प्रवेश गर्ने समाचारहरू सार्वजनिक भएका थिए। तर श्रेष्ठले उक्त समाचारहरू खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको नेपालभ्यूजसँग बताए। उनले भने, “यी खबरहरूमा कुनै सत्यता छैन, मैले पार्टी छाडेर जाने कुनै तयारी गरेको छैन।”

नेकपाको अस्तित्व मेटिएपछि एमाले र माओवादी पुरानै स्वरूपमा ब्युँतिएका थिए। नेकपा हुँदा श्रेष्ठ पार्टी प्रवक्ताको भूमिकामा थिए। तर माओवादीले हाल उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर विदेश विभाग प्रमुख तोकेको छ। यसमा उनले असन्तुष्टि व्यक्त गरिरहेका बताइन्छ। यद्यपि उनले माओवादी पार्टीबाट अलग हुने भन्ने समाचार झुठो भएको भन्दै खण्डन गरेका हुन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ कात्तिकमा चितवनको माडीस्थित हनुमानझुलामा आयोजित एक कार्यक्रममा नेकपा फुटबारे चिन्ता व्यक्त गरेका थिए। पार्टी  चोइटा चोइटा भएको भन्दै उनले नेकपा फुटेर चार ओटा टुक्रा हुने खतरा बढेको बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि श्रेष्ठले पार्टी फुटाउने हल्ला फिँजिएको थियो।

यसअघि माओवादी केन्द्रले ३३ विभिन्न विभाग गठन गर्दा दाहाल र श्रेष्ठबीच समस्या देखिएको थियो। पहिला सुरेन्द्र कार्कीको नेतृत्वमा विदेश विभाग गठन भएको चर्चा चले पनि अन्तिम समयमा पार्टीको विदेश विभागको नेतृत्व श्रेष्ठलाई दिइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved