नेपाली कांग्रेसको महाधिवशेन

निधि मनाउँदै देउवा, इतर समूह साझा सभापतिको खोजीमा

बुधबार मात्रै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो समूहको अगुवाइमा काठमाडौंमा एउटा कार्यक्रम नै गरेका थिए। त्यसैगरी उपसभापति निधि, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, शेखर कोइरालाको गतिविधि पनि महाधिवेशनलक्षित थिए।

निधि मनाउँदै देउवा, इतर समूह साझा सभापतिको खोजीमा

काठमाडौं। क्रियाशील सदस्यता विवाद टु‍ंगो लागेपछि र अधिवेशनको कार्यतालिकाअनुसार काम अघि बढ्ने लगभग निश्चित भएसँगै कांग्रेसका संस्थापन र इतर दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।

शनिबार कांग्रेसको बाँकी वडा अधिवेशन हुँदैछ भने १० मंसिरसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने जनाइएको छ। शनिबारदेखि वडा अधिवेशन पनि शुचारु हुने भएपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्ना पक्षसँग बैठकमा व्यस्त हुन थालेका हुन्।

सभापति देउवाले बिहीबार आफूनिकट नेताहरूसँग दुई चरणमा बैठक गरे भने वरिष्ठ नेता पौडेलले पनि शुक्रबार आफूनिकट  केन्द्रीय नेताहरूसँग अनौपचारिक बैठक चलाए।

स्थानीय तहको अधिवेशन हुँदै क्षेत्रीय प्रतिनिधि र त्यहीँबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया हुने भएकाले कांग्रेसका सबै शीर्ष नेताहरूले आआफ्नो क्षेत्रमा रहेका स्थानीय तहमा विशेष ध्यान दिन थालेकाछन्।

यद्यपि दुवै पक्षले आआफ्नो समूहमा समान्य छलफल मात्र भएको दाबी गरिरहेका छन्। बिहीबार बिहान सभापति तथा प्रधानमन्त्री देउवा आफ्नो कोर समूहसँग बैठक गरी दिउँसो आफूनिकट पदाधिकारीहरूसँग बसेका थिए।

दिउँसोको बैठकमा उपसभापति विमलेन्द्र निधिसमेत सहभागी भएपछि सबैले त्यसप्रति चासो देखाएका छन्। यद्यपि सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले समान्य भेटघाटका लागि मात्रै बैठक बोलाइएको प्रतिकिया दिए।

बाहिर हल्ला भएजस्तो महत्वपूर्ण र रणनीतिक बैठक नभएको भन्दै महतले नेपालभ्यूजसँग भने, “सभापतिज्यूले समान्य भेटघाटका लागि बोलाएका हुन्।”

सहमहामन्त्री महतले यस्तो दाबी गरे पनि यो भेटघाट महाधिवेशन नजिकिँदै जाँदा महत्वपूर्ण भएको नेताहरुले बताएका छन्।

बुधबार मात्रै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो समूहको अगुवाइमा काठमाडौंमा एउटा कार्यक्रम नै गरेका थिए। त्यसैगरी उपसभापति निधि, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, शेखर कोइरालाको गतिविधि पनि महाधिवेशनलक्षित थिए।

यी नेताहरू केन्द्रीय सभापतिको सम्भावित उम्मेदवार भएकाले उनीहरूको गतिविधि पार्टीको महाधिवेशनका लागि महत्वपूर्ण देखिएको छ।

आआफ्नो समूह मिलाउने दाउमा दुवै पक्ष

बिहीबार सभापति देउवाले दुई पटक आफ्नो पक्षको बैठक डाके। बिहान उपसभापति निधिलाई नबोलाए पनि दिउँसो निधिसमेत उपस्थित थिए। उनले यसपटक सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। निधिको उम्मेदवारी आफूलाई नोक्सान हुने भएपछि देउवा उनलाई आफूतिर तान्ने रणनीतिमा लागेका छन्।

त्यही भएर होला बिहीबार बिहानको कोर समूहको बैठकपछि दिउँसो पुनः देउवा निधिसँग परामर्शमा जुटेका हुन्। यद्यपि बैठकपछि के विषयमा छलफल भयो त्यसबारे भने नेताहरूले खुलाएनन्।

देउवाजस्तै इतरपक्षमा पनि एउटै सभापतिको उम्मेदवार बनाउने चुनौती छ। उनीहरूसँग चारदेखि पाँच जनासम्म सम्भावित उम्मेदवार देखिएका छन्।

त्यसैले साझा एक मात्र उम्मेदवार बनाउने भन्नेबारे बैठक बसिरहेको छ। यो पक्षवाट वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालासँगै नेताहरू सिंह र शेखर सभापतिका दाबेदार छन्।

पटक पटक साझा रूपमा एउटै उम्मेदवार बनाउन बैठकहरू भए पनि त्यो अहिलेसम्म सफल भएको छैन। यद्यपि यो पक्षले महाधिवेशनको अन्तिम समयसम्म भए पनि एउटै उम्मेदवार तय गर्न सक्ने देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved