संघीय संरचनामा पहिलो जनगणना आजदेखि शुरु

विभागका अनुसार मुख्य प्रश्नावलीमा आर्थिक काम, पेशा, वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सञ्चार साधन, महिलाका नाममा सम्पत्ति, घरेलु व्यवसाय, मातृमुत्यु दरको आँकलन, विदेशमा रहेका व्यक्ति आदिबारे सोधिनेछ।

नेपालभ्युज

संघीय संरचनामा पहिलो जनगणना आजदेखि शुरु

काठमाडौं। देश संघीय संरचनामा गएपछि हुन लागेको पहिलो जनगणना आजदेखि शुरु हुँदैछ। अहिले बिहान साढे नौ बजे राष्ट्रपतिको परिवारको विवरण टिपेर जनगणना शुरु हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो परिवारको विवरण टिपाएपछि आजदेखि शुरु हुने १२ औँ राष्ट्रिय जनगणना ९ मंसिरसम्म चल्नेछ। ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित यो पटकको जनगणना हुँदैछ।

यसअघि नै केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको जनाएको छ। गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षकलाई तालिम दिइसकिइएको छ।

विभागका अनुसार सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ। यसपटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरिएको छ।

विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न गरेको छ। एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको विभागले जनाएको छ। जो मानिस जहाँ बढी (अक्सर) बसोबास गर्छ, त्यहीबाट उसको गणना हुनेछ।

यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्याङ्क तयार गर्नेछ। संविधानमा राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई विकास निर्माणसँग जोड्नुपर्ने व्यवस्था गरिएको छ।

विभागका अनुसार मुख्य प्रश्नावलीमा आर्थिक काम, पेशा, वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सञ्चार साधन, महिलाका नाममा सम्पत्ति, घरेलु व्यवसाय, मातृमुत्यु दरको आँकलन, विदेशमा रहेका व्यक्ति आदिबारे सोधिनेछ।

जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved