बेइजिङ डायरी

प्रेमिका नपाएर निराश युवाबाट शुरू भएको अभियान बन्यो किनमेल महोत्सव

जोडी नपाएर एकल रहेका नानचिङ विश्वविद्यालयका चार युवाले शुरू गरेको एकल दिवस अन्ततः अलिबाबाको किनमेल महोत्सव बन्न पुग्यो।

प्रेमिका नपाएर निराश युवाबाट शुरू भएको अभियान बन्यो किनमेल महोत्सव

चीनमा अनलाइनबाट सबैभन्दा धेरै किनमेल हुने दिन हो ११ नोभेम्बर। यस दिनलाई किनमेल दिवसका रूपमा मनाउन थालिएको छ। यस दिन अनलाइन छुटको किनमेल महोत्सव चीनबाट शुरू भएर यतिबेला विश्वभर नै लोकप्रिय हुन थालेको छ।

११ नोभेम्बरका दिन अलिबाबाले छुट दिएर शुरू गरेको किनमेल चलन चीनबाट अन्य मुलुकमा पनि फैलिन थालेको प्रमाण नेपालको दराज कम्पनीलाई लिन सकिन्छ। त्यस दिन दराज कम्पनीले नेपालमा अनलाइन किनमेलमा विशेष छुट दिने कार्यको थालनी केही वर्ष अगाडि गरेको छ। दराजमा अलिबाबाले लगानी गरेको छ।

हिजोआज ११ नोभेम्बरलाई ‘किनमेल दिवस’ भनिए पनि यसको थालनी चाहिँ एकल दिवस (सिंगल डे)बाट शुरू भएको हो। मिति लेख्दा ११ नोभेम्बरमा सबैभन्दा बढी ‘१’ सङ्ख्याको प्रयोग (११/११) हुन्छ। चारवटा १ प्रयोग हुने भएकाले यसलाई ‘एकल दिसव’ भन्न थालिएको हो।

विश्वभरि नै किनमेलको उत्सवका रूपमा मनाइने एकल दिवसको थालनी चाहिँ निकै निरस र दुखःद रहेको छ।

सन् १९९३ मा नानचिङमा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले एकल दिवस मनाउन शुरू गरेका हुन्।

लैङ्गिक असमानताले चिनियाँ युवाले जोडी नपाउने र जोडी पाइहाले पनि विवाह परम्परा अत्यन्त महङ्गो भएकाले थुप्रै चिनियाँ युवाहरू एकल जीवन बिताउन बाध्य भएका छन्।

सन् १९७८ देखि चीनले लिएको एक सन्तानको नीतिले चीनमा लैङ्गिक असमानता रहेको छ। चीनको जनसंख्यामा एक सय महिलाको अनुपातमा एक सय १८ पुरुष रहेका छन्। अहिले चीनमा ३० वर्षभन्दा कम उमेरमा महिलाभन्दा पुरुषको संख्या ३ करोड ५० लाखले बढी छ। यही समस्यालाई मध्यनजर राख्दै चीनले सन् २०१६ देखि एक सन्तानको नीति हटाएर दुई सन्तानको नीति लिएको छ। यसलाई अझै सुधार गरेर चीनले तीन सन्तानको नीति अँगालिसकेको छ।

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा अहिले बिहे गर्ने उमेरका साढे तीन करोडभन्दा बढी युवाले युवती पाउँदैनन्। जोडी पाउने युवा पनि बिहेमा हुने खर्चका कारण बिहे नगरिकन एकल बस्न थालेका छन्। चीनका दश वटा ठूला शहरमा विवाह गर्ने खर्चका बारे भएका विभिन्न सर्वेक्षणमा पैचिङ, शाङहाई, शनचन लगायत चीनका पहिलो पंक्तिका शहरहरूमा विवाहको खर्च २० लाख युआनभन्दा बढी पुगेको छ भने हाङ चौ, क्वाङ चौ, नानचिङ आदि शहरमा विवाहको खर्च १० लाख युआन बराबर छ।

चीनमा बिहे गर्नका लागि पहिले प्रेम गर्नुपर्छ। लैङ्गिक असमानताले गर्दा सबै केटाले प्रेम गर्नका लागि केटी पाउन मुस्किल छ। यही मुस्किलमा फसेका थिए नानचिङ विश्वविद्यालयका ती चार केटाहरू।

अरू साथीहरू प्रेमिका लिएर रेष्टुरेन्ट गएको देख्ता उनीहरू निराश हुन्थे। ती चारजना केटाहरूले सल्लाह गरे र उनीहरूभित्र भएको एक्लोपन र निरासालाई हटाउनका लागि ‘सिंगल डे’ मनाउने विचार गरे। सल्लाह अनुसार उनीहरूले ११ नोभेम्बर तारिखलाई रोजे। ती विद्यार्थीहरूले ११ नोभेम्बर कै दिन भेला भएर पार्टी गर्नुको कारण म एक्लै छु भन्ने सन्देश दिनु थियो।

सन् १९९३ पछि हरेक वर्ष ११ नोभेम्बर का दिन जोडी नपाएका विद्यार्थीहरू भेला हुने र एक्लोपन भगाउनका लागि पार्टीको आयोजना गर्न थाले। केही वर्षसम्म यो छात्रावासका विद्यार्थीबीचमा मात्र सीमित थियो। यद्यपि एकल दिवसमा केटाहरू मात्र होइन केटीहरू पनि भेला भएर उत्सव मनाउन थालेका थिए।

सन् १९९३ देखि शुरू भएको एकल दिवस सीमित चिनियाँहरू युवापुस्तामा अल्झिएको थियो। सन् २००९ मा अलिबाबाले यो दिवसमा विशेष छुट दिन थालेपछि करोडौँ चिनियाँहरू यो दिवसमा रमाउन थालेका छन्। यद्यपि अलिबाबाले एकल दिवसमा दिने छुट सबैमा लागू हुने गरेको छ।

अलिबाबाले सन् २००९ को ११ नोभेम्बर तारिखमा पहिलोपटक एकल दिवसका अवसरमा विशेष छुटमा खरिद गर्ने सुविधा उपलब्ध गराएको थियो। यस सुविधा अन्तर्गत अलिबाबाको इन्टरनेट प्लेटफर्ममार्फत सन् २०११ मा ८२ करोड अमेरिकी डलरका सामान किनमेल भएको थियो।

अर्को वर्ष सन् २०१२ मा यो मात्रामा उल्लेख्य बढोत्तरी भएर ३ अर्ब ४ करोड अमेरिकी डलरको कारोबार भएको थियो। त्यसपछि सिंगल डेका अवसरमा अलिबाबाको वेबसाइटबाट हुने कारोबार हरेक वर्ष बढ्दै गएको छ।

२०१३ मा ५ अर्ब ८० करोड, २०१४ मा ९ अर्ब ३० करोड र २०१५ मा १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार भएको थियो। यस्तै सन् २०१६ मा १७ अर्ब ७९ करोड, २०१७ मा २५ अर्ब ३० करोड, २०१८ मा ३० अर्ब ८० करोड र सन् २०१९ मा ३९ अर्ब ४० करोड अमेरिकी डलरको कारोबार भएको थियो।

गत वर्ष सन् २०२० को ११ नोभेम्बर मा अलिबाबाले ७४ अर्ब १० करोड अमेरिकी डलरको सामान बेचेको थियो। सन् २०१९ को भन्दा २०२० मा अलिबाबाको एकल दिवसको कारोकार ८५.६ प्रतिशतले वृद्धि भएको थियो। त्यसो त विगत ११ वर्षमा एकल दिवसमा अलिबाबाको कारोकार ९ लाख ४९ हजार ९ सय प्रतिशतले बढेको छ। अलिबाबाले आफ्ना भगिनी संस्था थाउपाउ र टिमलबाट ११ नोभेम्बर मा विशेष छुट दिने गरेको छ।

अलिबाबाले सन् २०१२ डिसेम्बर २८ तारिखमा एकल दिवसलाई चीनमा दर्ता गराएर आफ्नो सर्वाधिकार सुरक्षित गरेको छ। एकल दिवसमाथि कानुनी रूपमै एकाधिकार जमाएको अलिबाबाले यो दिवसका अवसरमा विशेष छुट भनेर अन्य कुनै पनि अनलाइनले विज्ञापन गरेमा मुद्दा चलाउने चेतावनी सन् २०१४ को अक्टोबरमा दिइसकेको थियो। चेतावनीका बावजुद इन्टरनेटका प्राय प्लेटफर्ममा एकल दिवसका अवसरमा छुटका विज्ञापन देख्न पाइन्छ। तर पनि अनलाइनबाट विशाल कारोबारमा भने अलिबाबाको वर्चश्व रहेको छ।

अलिबाबा सन् १९९८ मा चीनको चच्याङ प्रान्तको हाङचौमा स्थापना भएको हो। हाङचौ शहरमा मा युन नामका एक जना चिनियाँ युवाले स्थापना गरेको अलिबाबाले सन् २०१४ को सेप्टेम्बर १९ तारिख बिहान साढे नौ बजेदेखि न्युयोर्क स्टक एक्सचेन्जमा स्टक बिक्री गर्न थालेको हो।

सोही दिन न्युयोर्क स्टक एक्सचेन्जको कारोबार बन्द हुँदा अलिबाबाको कुल मूल्य करीब दुई खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको थियो। अहिले अलिबाबा गुगलपछि विश्वको दोस्रो ठूलो इन्टरनेट कम्पनी बन्न सफल भएको छ। चिनियाँ मा युनलाई पश्चिमी राष्ट्रमा ज्याक मा भनिन्छ। उनी चीनकै धनाढ्य व्यक्तिमा अग्रस्थानमा आउँछन्।

ज्याक माको अलिबाबाले शुरू गरेको एकल दिवसको छुट चीनमा संस्कृतिको रूपमा विकास भएको छ। बजारमा एक साता अगाडिदेखि विशेष छुटमा सामान बिक्री गरिन्छ। अनलाइनमा त ठूलो छुटमा बिक्री गर्ने चलन छ। १० नोभेम्बरको मध्यराति १२ बजेदेखि ११ तारिखको मध्य राति १२ बजेसम्ममा दिइने छुटमा भएको कारोबार मात्र उल्लिखित परिमाण हो। यो २४ घण्टामा कैयौँ चिनियाँहरू सामान किन्नका लागि पर्खेर बसेका हुन्छन्।

सन् २०१४ को ११ नोभेम्बर तारिखमा ५५ सेकेण्डभित्रै दस करोड चिनियाँ युआनको कारोबार अनलाइन मार्फत भएको थियो। सोही दिन बिक्री भएका महिलाका भित्री पोशाकलाई एउटा थुप्रो बनाउँदा त्यसको उचाइ सगरमाथाको भन्दा तीनगुना बढी हुने कुरा चिनियाँ अनलाइन सेवा थाउपाउले जनाएको छ।

एकै दिनमा एउटै वेबसाइटबाट यत्तिको बिक्री हुने र लाखौँ मानिसले एकैचोटी वेबसाइटबाट सामान अर्डर गर्ने हुनाले कतिपय अवस्थामा सर्बर डाउन हुने भएकाले सामान किन्नका लागि बारम्बार प्रयास गर्नुपर्छ। त्यही भएर त चिनियाँहरू रातभर इन्टरनेटमा सामान अर्डर गर्न व्यस्त हुन्छन्।

सन् २०२० को ११ नोभेम्बर मा अलिबाबाको प्लेटफर्मबाट भएको बिक्री मात्रा अमेरिकी समाजको ‘ब्ल्याक फ्राइडे’ र ‘साइबर मन्डे’को भन्दा डबल भएको थियो। अमेरिकामा नोभेम्बर महिनाको चौथो बिहीबारलाई ‘थ्यांक्स गिभिङ डे’ का रूपमा मनाइन्छ। ‘थ्यांक्स गिभिङ डे’ पछि आउने शुक्रबारलाई ‘ब्ल्याक फ्राइडे’ र सोमबारलाई ‘साइबर मन्डे’ भनिन्छ। यी दुई दिनमा अमेरिकामा विशेष छुटमा अनलाइन किनमेल हुने गर्दछ। यस अवसरमा गत वर्ष ३४ अर्ब ४० करोड अमेरिकी डलरको अनलाइन किनमेल भएको थियो।

गत वर्ष सन् २०२० मा कोभिडले गर्दा धेरै उपभोक्तामा अनलाइन किनमेल थप लोकप्रिय बनेको थियो। चीनको राज्य हुलाक ब्युरोले बताए अनुसार गत वर्षको ११ नोभेम्बर मा किनिएका सामानको २ अर्ब ९७ करोड वटा पार्सल उपभोक्तासम्म पुर्‍याउने काम भएको थियो। यो सरदरमा प्रत्येक चिनियाँको भागमा दुईवटा पार्सल बराबर हो।

चीनभरिमा अलिबाबाको मात्र १५० शहरमा २० हजारवटा आफ्नै प्याकेज वितरण केन्द्रहरू रहेका छन्। सन् २०२० मा २ लाख ५० हजार ब्राण्डका सामानहरू अलिबाबाको प्लेटफर्ममा विशेष छुटमा बिक्रीका लागि राखिएका थिए, जसमा ३१ हजार विदेशी कम्पनीहरू सहभागी थिए। गत वर्षको ११ नोभेम्बरको किनमेलको पिक सिजनमा प्रतिसेकेण्ड ५ लाख ८३ हजार अर्डर भएको थियो।

यतिबेला ११ नोभेम्बर तारिख इन्टरनेट दुनियाँको सबैभन्दा ठूलो ‘हाटबजार’ भएको छ। विभिन्न कम्पनीहरूले आफ्ना सामानलाई विशेष छुटमा बिक्री गरेर एकैचोटि आफ्नो भण्डारण खाली गराउने मौकाका रूपमा यो मितिलाई लिन्छन्।

उपभोक्ताले पनि सस्तोमा सामान पाउने भएकाले आफूलाई चाहिने सामान किन्नका लागि यही मिति कुरेर बसेका हुन्छन्। किन्नेलाई पनि फाइदा अनि बेच्नेलाई पनि फाइदा। फाइदै फाइदाको यो दिवस यतिबेला विश्व बजारको महोत्सवमा स्थापित भएको छ। आफ्नो अभियानले कुनैबेला विश्वमा तहल्का मच्चाउनेछ भनेर पक्कै सोचेका थिएनन् नानचिङ विश्वविद्यालयका ती निराश चार युवाले।


Comment

One thought on “प्रेमिका नपाएर निराश युवाबाट शुरू भएको अभियान बन्यो किनमेल महोत्सव

Leave a Reply to Maila ghising Cancel reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved