महीनावारीको पीडा, ओछ्यानमै थला पर्छन् महिला

शुरुआती चरणदेखि नै महीनावारी गडबडी भए हार्मोन चक्की खान सल्लाह दिन्छिन् स्त्रीरोग विशेषज्ञ रंगीना लाइकङ्गबम। “थाइरोइड र पीओएसका समस्या भएकालाई हार्मोनको प्रयोगले महीनावारी नियमित गराउन सक्छ”, उनले भनिन्।

महीनावारीको पीडा, ओछ्यानमै थला पर्छन् महिला

काठमाडौं। अम्बिका दंगाल २५ वर्षकी भइन्। उनको महीनावारी गडबडी भएको ८ वर्ष बढी भयो।

लगातार ६५ दिनसम्म पनि महीनावारी नहुने समस्या भएपछि उनलाई झन् पीडा भयो। महीनावारी भए पनि उनलाई पेट दुख्ने र उल्टी हुने समस्याले कहिल्यै छाडेन। भन्छिन्,”कहिलेकाहीँ त ओछ्यानमै थला पर्छु।”

निश्चित उमेर पुगेपछि किशोरीहरू महीनावारी हुने गर्छन्। यो प्रजननसम्बन्धी एउटा चक्र हो। यो मातृत्वको पहिचान पनि हो। तर धेरैजसो महिला तथा किशोरीहरूमा यो समस्याका रूपमा देखापर्ने गरेको छ।

महीनावारी भएको बेला पीडा हुनु सामान्य मानिन्छ। तर अत्यधिक दुखाइले उनीहरूलाई निराश र अस्वस्थ बनाइदिन्छ। अम्बिका थप्छिन्, “महीनावारी भएको बेला कैयौं पटक मृत्युलाई नजिकबाट नियालेको अनुभूति गरेको छु।”

एकपटक उल्टी भएर निकै जटिल अवस्थामा पुगेको उनको अनुभव छ। “महीनावारी भएको तीन दिन त मुखमा केही परेन, अर्धचेत अवस्थामा थिएँ। पाँच ओटा स्लाइन दिएपछि बल्ल होसमा आएँ”, महीनावारी भएको पीडा उनले शब्दमा पोखिन्।

उनको विवाह भएको तीन वर्ष भयो, सन्तान भएको छैन। उनले डाक्टरलाई देखाएर औषधि पनि सेवन गरिन्। हार्मोनसम्बन्धी दबाइ खाए पनि उनको समस्या ज्यूँकात्यूँ छ।

कमला (नाम परिर्वतन)को १४ वर्षमा पहिलो पटक रजस्वाला शुरु भयो। त्यसको पाँच महीनापछि मात्र दोस्रो पटक उनी महीनावारी भइन्। तर त्यसपछि दुई वर्ष उनको महीनावारी चक्र समयमै भयो।

अहिले आएर भने फेरि गडबडी हुने थालेको उनी बताउँछिन्। “कहिले ४५ दिनमा, कहिले दुई महीनामा त कहिले तीन महीनामा महीनावारी हुन्छु, “कमला भन्छिन्, “महीनावारी भएको बेला असह्रय पेट दुख्छ।”

महीनावारी गडबडी भएको चार वर्षपछि परीक्षण गराउँदा आफ्नो शरीरमा हेमोग्लोबिनको मात्रा कमी भएको उनले थाहा पाइन्। त्यसपछि खानपानमा ध्यान दिन थालको उनी बताउँछिन्। तर विवाहपछि भने उनको महीनावारीमा फेरि समस्या देखियो। भन्छिन्, “अहिले पाँच महीना भयो महीनावारी भएको छैन, कहिलेकाहीँ असह्रय पेट दुख्छ के भयो भयो।”

अस्पतालमा परीक्षण गराउँदा ‘पोलिस्टिक ओभरी डिजिज’ (पीसीओएस) भएको उनी बताउँछिन्। पाँच महीनासम्म महीनावारी नहुँदा उनी कतै बच्चा नहुने हो कि भन्ने त्रासमा छिन्।

के हो पीसीओएस ?

यो एक चिकित्सा अवस्था हो, जहाँ डिम्बाशयले समयभन्दा पहिले अण्डाहरू छोड्छ, जुन समयसँगै सिस्टdमा परिणत हुन्छ। यस्तो हुँदा महिलाहरूले अनियमित महीनावारी, तौल बढ्ने तथा पुरुषले कपाल झर्ने र पेट दुख्ने जस्ता अवस्थाहरूको सामना गर्नुपर्ने हुन्छ।

सिर्जना खड्काको समस्या पनि उस्तै छ। महीनावारी हुँदा उनलाई पनि अत्यधिक पेट दुख्छ। महीनावारीको समय ओछ्यानमै बिताउने गरेको उनी बताउँछिन्। भन्छिन्, “कहिलेकाहीँ त मूर्छित् नै हुन्छु।”

महीनावारीको बेला परिवारका एक जना त उनको कुरुवा नै बस्नुपर्ने अवस्था छ। पेन किलर (दुखाइ कम गर्ने औषधि) खाएर बस्ने गरे पनि अवस्था उस्तै हुने उनी सुनाउँछिन्।

यी त भए महीनावारीमा समस्या भोग्दै आएका केही महिला र तिनका समस्या। महीनावारी गडबडी, महीनावारीका बेला हुने पीडाले महिलालाई निकै समस्या दिइरहेको हुन्छ। जसका कारण उनीहरूको सामाजिक जीवन, काम र जिम्मेवारीलाई प्रभावित बनाएको हुन्छ।

साधारणतया १२ देखि १५ वर्षको उमेरमा महीनावारी शुरु हुन्छ। कसैमा आठ वर्षदेखि नै महीनावारीको लक्षण देखिने गर्दछ। जुन साधारण मानिन्छ। महीनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ र ४५ देखि ५५ वर्ष भित्रमा सामान्यतया सकिन्छ।

महीनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक हो। यो हाम्रो शरीरमा भएका हार्मोनको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ। महीनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महीनावारी हुनु भनेको एउटी केटी हरेक महीना गर्भवती हुन तयार हुने संकेत हो।

महीनावारी हुँदा पाठेघरले बनाएको रगतको तह विस्तारै योनीमार्ग हुँदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ, जुन रगतको रङ गाढा रातो हुन्छ र कहिलेकाहीँ ढिक्काजस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ।

“महीनावारी हुनु भनेको आमा बन्न सक्षम हुनु हो”, स्त्रीरोग विशेषज्ञ सुशीला वैद्य भन्छिन्, “महीनावारी भएपछि महिलालाई परिपक्व भएको मानिन्छ।”

महीनावारी गडबडी हुने मुख्य कारण

“मुख्यतया महीनावारी गडबडी हुनु भनेको डिम्ब उत्पादन नहुनु हो”, स्त्रीरोग विशेषज्ञ डा.जागेश्वर गौतम भन्छन्, “सामान्यतया महीनावारी भएको १३ देखि १७ दिनमा डिम्ब उत्पादन अर्थात् ओभुलेसन नभएमा महीनावारी गडबडी हुन्छ।”

पोलिस्टिक ओभारी डिजिज, प्रोल्याक्टिन हार्मोन बढी हुनु, थाइराइड हार्मोनको कमी हुनु, महीनावारीको प्रारम्भिक चरण, मेनोपोजको समय, तनाव, तौल घट्नु वा बढ्नु, पिल्स चक्की अनियमित खानु, तीनमहिने सुई लगाउनुलगायत कारणले पनि महीनावारीमा गडबडी गराउने उनी बताउँछन्।

अहिले धेरैजसो महीनावारी गडबडी र पेट दुखाइका समस्या लिएर अस्पताल आउन थालेका र कतिपय सामान्य औषधि खाए पनि निको भएका गौतम बताउँछन्। असह्य दुखाइ भएकाहरूलाई भने कम्तीमा एक पटक परीक्षण गराउन उनले सल्लाह दिए।

तर पीओएस भएका महिलाको तौल बढी हुने हुँदा उनीहरूले तौल कम गर्नुपर्ने सल्लाह दिन्छन् डा. गौतम। महीनावारी गडबडी भएका तीन चौथाइलाई पीओएसको समस्या हुने उनको भनाइ छ। पाठेघरभित्र साना फोका भए पनि रजस्वालाको समयमा अत्याधिक पेट दुख्ने उनले जानकारी दिए।

उपचारमा आउने २० प्रतिशत महिलाले यस्तै समस्या लिएर आउने गौतम अनुभव सुनाउँछन्। डा. गौतम भन्छन्, “महीनावारीमा पेट दुख्ने धेरैजसोले पेन किलर खाएकै हुन्छन्।” पेन किलरले ग्याष्ट्रिकको समस्या बढाउने भएकाले सकेसम्म यस्तो दुखाइ हुँदा डाक्टरकहाँ परीक्षण नै गराउन जान उनी सुझाव दिन्छन्।

शुरुआती चरणदेखि नै महीनावारी गडबडी भए हार्मोन चक्की खान सल्लाह दिन्छिन् स्त्रीरोग विशेषज्ञ रंगीना लाइकङ्गबम। “थाइरोइड र पीओएसका समस्या भएकालाई हार्मोनको प्रयोगले महीनावारी नियमित गराउन सक्छ”, उनले भनिन्।

महीनावारी भएको शुरुको चरणमा आत्तिन नहुने पनि उनले बताइन्। कलिलो उमेरमा कलिलो बाटो हुने भएकाले महीनावारी गडबडी हुने उनी तर्क गर्छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved