चौथो चिनियाँ आयात ‘एक्स्पो’मा एक मात्र नेपाली प्रदर्शनी कक्ष

चौथो चिनियाँ आयात ‘एक्स्पो’मा एक मात्र नेपाली प्रदर्शनी कक्ष

बेइजिङ। यही ५ नोभेम्बर (१९ कात्तिक १९) शुक्रबार चीनको शाङहाईमा शुरु भएको चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो बुधबार सम्पन्न भएको छ। विभिन्न ५८ मुलुक सहभागी भएको उक्त एक्स्पोमा औपचारिक रुपमा नेपाल भने सहभागी थिएन।

तर एकजना व्यवसायीले भने व्यक्तिगत प्रयासमा उक्त एक्स्पोमा भाग लिएका थिए। पोखराका शंकर कोइराला चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिने एक्लो नेपाली व्यापारी हुन्। उनले पस्मिना, सिङ्गिङ बोल र नेपाली झोला प्रदर्शनीमा राखेका थिए। महिला सीप विकास अर्थात् ‘ओमन स्किल डेभलोपमेन्ट’ले बनाएका झोलालाई कोइरालाले चीनमा ल्याएर बिक्री गर्ने गरेका छन्।

एक्स्पोमा प्रदर्शनी मात्र गर्न पाइने तर बिक्री गर्न नपाइने सर्त छ। एक्स्पोको मुख्य प्रवेशद्वार बाहिरपट्टि कोइरालाको बिक्री कक्ष पनि छ।

एक्स्पोमा प्रदर्शनी गरेका सामान हेरेर व्यापारीहरुले सामानको अर्डर गर्दछन्। एक्स्पोबाट नेपाली पस्मिनाको राम्रो अर्डर आएको कोइरालाले नेपाल भ्युजलाई बताए।

गत वर्षभन्दा यसपटकको एक्स्पो निकै व्यवस्थित र सुरक्षित रहेको उनले कोइरालाको अनुभव छ। ९ वर्गफिट क्षेत्रफलको बुथका लागि आफूले ३० हजार चिनियाँ युआन अर्थात् लगभग साढे पाँच लाख रुपैयाँ तिरेको कोइरालाले शुल्क तिरे अनुसारको सामानको अर्डर पाउँदा आफू सन्तुष्ट रहेको बताए।

नोभेम्बर ५ तारिखबाट एक्स्पो शुरु भए पनि १ तारिखदेखि नै एक्स्पोभित्रको बुथ सजावटमा लागेका कोइरालाले हरेक दिन पिसिआर परीक्षण गर्नु परेको पनि उल्लेख गरे। चीनले अत्यन्त सचेत भएर सबैलाई कोरोना संक्रमणबाट जोगिनका लागि यस्तो विधि अपनाएको हो।

सन् २०१३ मा पहिलोपटक चीन भ्रमणमा आएका कोइराला सन् २०१५ देखि व्यापार शुरु गरेका हुन्। सन् २०१८ मा भने उनले शाङहाईमा आफ्नै ‘एन्जल ह्याण्ड’ नामक कम्पनी दर्ता गराएर व्यावासायिक भिसा लिएर चीनमा बसिरहेका छन्।

गत वर्ष सन् २०२० मा पहिलोपटक एक्स्पोमा सहभागी भएका कोइरालाले पोहोरभन्दा यसपटक राम्रो भएको अनुभव सँगालेका छन्। कोइराला भन्छन्,‘‘पोहोर त हामी सामान बेच्ने होला भनेर त्यतै ध्याउन्नमा लाग्यौँ तर यस्तो एक्स्पोमा सामान बेच्ने होइन अर्डर लिने रहेछ। यसपालि व्यापारका लागि राम्रो अर्डर पाएकाले अब एक वर्षभरि चीनमा राम्रो व्यापार हुने भएको छ।”

एक्स्पोमा पाएको अर्डरले नेपाललाई पनि निकै फाइदा पुगेको बताउँछन्। नेपाली पस्मिना र सुइटरको अर्डर पाएका कोइरालाले नेपाली उद्योग र कामदारले पनि काम पाउने बताउँछन्। नेपाली महिलाले बनाएको झोलाका केही नमूना पनि उनले वितरण गरेका छन्।

चीनले सन् २०१८ देखि हरेक वर्ष यही समयमा अन्तर्राष्ट्रिय आयात एक्स्पो आयोजना गर्दै आएको छ।

विश्व बजारका सामानलाई चिनियाँ बजारमा पहुँच दिने उद्देश्यले चीनले अन्तर्रराष्ट्रिय आयात एक्स्पोको आयोजना गर्न थालेको हो। एक्स्पोले अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई चिनियाँ बजार खोज्न सजिलो बनाएको छ। चीनमा ४० करोडभन्दा बढी मध्य तथा उच्च आय भएको जनसङ्ख्या छ। धनाढ्य चिनियाँ उपभोक्ताकै कारण विश्वका नामी उत्पादकहरु चीनतिर आकर्षित बनेका छन्।

शाङ्हाईमा आयोजित चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको समापन अगाडि नै अधिकांश सहभागी व्यापारीहरूले पाँचौँ आयात एक्स्पोमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्। शाङहाई एक्स्पोले जनाए अनुसार आगामी वर्ष आयोजना हुने पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोका लागि बुकिङ गरिएको प्रदर्शनीको क्षेत्रफल १ लाख ५० हजार वर्गमिटरभन्दा बढी पुगेको छ।

नोभेम्बर ६ तारिख आयोजित सहभागी व्यापारीको हस्ताक्षर समारोहमा ५० वटा व्यवसाय र संस्थाले सामुहिक रूपमा पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुने सम्झौतामा हस्ताक्षर गरेका छन्।

विश्वका ख्यातिप्राप्त ब्राण्डहरुले प्रदर्शनी गर्ने चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी भएर नेपाली उत्पादनले चिनियाँ बजारको पहुँचलाई बिस्तार गर्न सक्छ। पहिलोदेखि तेस्रोसम्म नेपालले औपचारिक रुपमा सहभागी जनाएको यो चौथो एक्स्पोमा चाहिँ नेपालले औपचारिक सहभागी जनाउन सकेन। कतिपय नेपाली व्यापारीहरुले एक्स्पोमा सहभागी हुने इच्छा हुँदाहुँदै नेपाल चीन सोझो हवाइ सेवा नभएकाले अवसरबाट बन्चित हुनुपर्‍यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved