नयाँ पाठ्यक्रममा के छ ?

विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने योजना अनुसार चालु शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू भएको छ।

नेपालभ्युज

नयाँ पाठ्यक्रममा के छ ?

काठमाडौं। सरकारले चरणबद्ध चार वर्षमा विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने योजना अनुसार चालु शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू भएको छ।

सरकारले यसअघि गत वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ। “०७९ को शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम देशभर कार्यान्वयनमा लैजाने निर्णय भएको छ”, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश प्रसाद भट्टराईले भने।

“कक्षा ५, ८ र १० मा २०८० को शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू भइसक्ने छ,” उनले भने। नयाँ पाठ्यक्रमलाई दिशानिर्दिष्ट गर्न बनाइएको राष्ट्रिय पाठ्यक्रम प्रारूपले विद्यालय शिक्षालाई तीन भागमा विभाजन गरेको छ।

प्रारूपले एक वर्ष प्रारम्भिक बाल विकास, कक्षा १ देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह निर्धारण गरेको छ। नयाँ पाठ्यक्रम सक्षमतामा आधारित लागू भएको उनले बताए। भन्छन्, “प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रमम बालबालिकाको उमेरगत विकासात्मक पक्षलाई ध्यान दिई एकीकृत सिद्धान्तअनुसार विकास गरिएको छ।”

आधारभूत शिक्षाले विद्यार्थीकेन्द्रित शिक्षाका माध्यमद्वारा बालबालिकामा अन्तर्निहित प्रतिभाको विकास गर्न मद्दत पुग्ने उनले आशा गरे। उनले थपे, “सक्षमतामा आधारित पाठ्यक्रममा भाषिक तथा सञ्चार सीपको विकास र सूचना प्रविधिको समुचित प्रयोग, तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सीप एवं अभिवृत्ति विकास र प्रयोगलाई समेटिएको छ।”

“सिद्धान्त र व्यवहारको समन्वय गर्ने, नवीनतम् ज्ञानको खोजी गर्ने र स्वावलम्बी र व्यवसायमुखी सीपको अभ्यास पाठ्यक्रमले गर्ने उनले बताए। कक्षा १० देखि १२ सम्म एकलपथीय पाठ्यक्रम लागू भएको छ।

स्थानीय पाठ्यक्रम

“आधारभूत तह ९१(८० सम्मको स्थानीय पाठ्यक्रम स्थानीय तहले बनाउनुपर्ने छ,” उनले भने, “अन्य सबै पाठ्यक्रम केन्द्रले बनाउने छ।” स्थानीय पाठ्यक्रमको पूर्ण जिम्मेवारी स्थानीय तहको हुने उनको तर्क छ। स्थानीय पाठ्यक्रम बनाउँदा केन्द्रले बनाएको मार्गदर्शनका आधारमा बनाउनुपर्ने र आवश्यक परे सहयोग गर्ने उनले बताए।

नयाँ पाठ्यक्रममा के छ ?

पहिलाको पाठ्यक्रम पढाउने थियो भने अहिलेको सिकाउने रहेको केन्द्रका निर्देशक भट्टराईले बताए। अहिले एकीकृत पाठ्यक्रम, सक्षमतामा आधारित पाठ्यक्रम बनाइएको उनको तर्क छ। उनका अनुसार आन्तरिक र बाह्य रुपमा सहयोग गर्ने किसिमको पाठ्यक्रम बनाइएको छ। पहिलेको पाठ्यक्रम पूर्णांकमा आधारित थियो अहिले क्रेडिट आवरमा आधारित छ।

अहिलेको पाठ्यक्रममा ब्लाक बोर्डमा गएर लेखेर व्याख्या गरेर पढाउने भन्दा अलि फरक भएकाले शिक्षकले सिकाउने भूमिका निर्वाह गर्नुपर्ने उनी बताउँछन्।
नयाँ पाठ्यक्रमा आधारित भएर अध्यापन गराउन शिक्षकलाई विषयबस्तुमा आधारित तालिम र प्याडागोजी तालिम दिनुपर्ने उनको तर्क छ।

नयाँ पाठ्यक्रममा कक्षा ४ देखि ८ सम्म नै मूल्यांकन एकरुपता गर्ने गरी आन्तरिक मूल्यांकन ५० प्रतिशत र बाह्य मूल्यांकन ५० प्रतिशत रहने व्यवस्था गरिएको उनी बताउँछन्।

नयाँ पाठ्यक्रममा समेटिएका विषय

कक्षा १–३ को नयाँ पाठ्यक्रममा सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयलाई अन्तरविषयक ढाँचाको पाठ्यक्रमका रूपमा हाम्रो सेरोफेरो पुस्तकमा समावेश गरिएको छ।

आधारभूत तह (कक्षा ४–८)

आधारभूत तहमा नेपाली, अंग्रेजी, गणित र विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक शिक्षा तथा सिर्जनात्मक कला र मातृभाषा वा स्थानीय विषयसमेत गरी जम्मा सात विषय समेटिएका छन्।

माध्यमिक तह (कक्षा ९ र १०)

मावितर्फ कक्षा ९ र १० मा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन गरी ५ वटा अनिवार्य र दुई वटा ऐच्छिक विषय राखिएका छन्। कक्षा ११ र १२ को पाठ्यक्रम संरचनामा अनिर्वाय सामाजिक अध्ययन तथा जीवनयोगी शिक्षा विषय वा गणित विषय पढ्न पाउने व्यवस्था गरिएको छ।

अनिर्वाय विषयका रुपमा गणित अध्ययन गर्नेले ऐच्छिक विषयका रुपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा रोज्न सक्नेछन्। अनिवार्य विषयको रुपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अध्ययन गर्नेले भने ऐच्छिक विषयका रुपमा गणित अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ।

पठनपाठनको समयावधि

प्रारम्भिक बालविकास र शिक्षाका लागि एक शैक्षिक सत्रमा वार्षिक जम्मा ५७६ घण्टा दैनिक सीप सिकाइ र विषयगत सीप सिकाइ व्रिmयाकलाप सञ्चालन हुने केन्द्रका निर्देशक भट्टराईले बताए।

कक्षा १ देखि ३ सम्म जम्मा २६ पाठ्यघण्टा अर्थात् वार्षिक ८३२ कार्यघण्टाको पठनपाठन गर्नुपर्ने उनले जानकारी दिए। भन्छन्, “कक्षा ४ देखि १० सम्म जम्मा ३२ पाठ्यघण्टा अर्थात् वार्षिक १०२४ कार्यघण्टा पठनपाठन गर्नुपर्ने छ।”

कक्षा ११ र १२ मा कम्तीमा २७ पाठ्यघण्टा अर्थात् ८६४ कार्यघण्टादेखि बढीमा ३२ पाठ्यघण्टा अर्थात् १०२४ कार्यघण्टासम्म पठनपाठन गर्नुपर्ने उनी बताउँछन्।

उनले भने, “पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई १ पाठ्यघण्टा मानिने छ।” उनले थपे, “तोकिएको पाठ्यघण्टा नघट्ने गरी विद्यालयले विषयको आवश्यकताअनुसार साप्ताहिक कार्यतालिकाको समयावधि निर्धारण गरी कक्षा सञ्चालन गर्नुपर्ने छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved