कोप २६ भन्छ – पृथ्वीको तापक्रम बढ्नुमा मानवीय गतिविधि नै मुख्य कारक

धनी राष्ट्रहरू क्लाइमेट फाइनान्सको प्रतिबद्धताबाट पन्छिएका भन्दै आलोचना

नेपालभ्युज

कोप २६ भन्छ – पृथ्वीको तापक्रम बढ्नुमा मानवीय गतिविधि नै मुख्य कारक

काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) पृथ्वीको तापक्रम वृद्धि हुनुको प्रमुख कारण मानवीय गतिविधि भएको प्रस्ट पारेको छ।

तापक्रम १.५ डिग्रीभन्दा बढी बढ्न नदिन सबै मुलुकले हरसम्भव प्रयास जारी राख्न सम्मेलनले जोड दिएको छ। स्टकल्याण्डमा जारी सम्मेलनले कार्बन उत्सर्जन घटाउनेबारे सहमतिको मस्यौदा सार्वजनिक गरेको हो।

सम्मेलन सकिन तीन दिन बाँकी छँदै बुधबार पहिलो मस्यौदा सार्वजनिक भएको हो। सात पृष्ठ लामो मस्यौदा जलवायु परिवर्तनका प्रभाव सामना गर्न विकसित र औद्योगिक राष्ट्रहरूले सहयोग गर्ने, अनुकूलनका अभ्यास र आर्थिक सहयोग प्रदान गर्न केन्द्रित छ।

जलवायु वित्त, क्षति न्यूनीकरण, हानि नोक्सानी सम्बोधन जस्ता बुँदालाई मस्यौदाले समेटेको छ। सन् २०१५मा फ्रान्सको पेरिसमा भएको जलवायु सम्मेलनमा विकसित मुलुकहरूले ‘क्लाइमेट फाइनान्स’मा सहयोग गर्न प्रतिबद्धता जनाएका थिए।

धनी देशहरू विगतका प्रतिबद्धता पूरा गर्न पन्छिरहेका बेला अधिकांश मुलुकले जलवायु परिवर्तनले पुर्‍याएको हानि र क्षतिपूर्ति सम्बोधन गर्न दबाब दिइरहेका छन्। ठूला र धनी राष्ट्रहरू ‘क्याइमेट फाइनान्स’को प्रतिबद्धताबाट पन्छिएका भनेर यो सम्मेलनमा आलोचना दोहोरिएको छ।

‘क्लाइमेट फाइनान्स’ जलवायु परिवर्तनको असर सामना गरिरहेका विभिन्न एक सय ३३ मुलुकले सन् २०२० बाट प्रत्येक वर्ष प्राप्त गर्ने एक सय अर्ब हाराहारीको सहयोग रकम हो।

यो रकम सन् २०२५ मा पुनरवलोकन हुने बताइएको छ। ‘क्लाइमेट फाइनान्स’ सन् २०१५ मा जनाइएको प्रतिबद्धता हो। यही १४ कार्तिकदेखि स्कटल्याण्डको ग्लास्गोमा शुरु भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको सम्मेलन शुक्रबार समापन हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved