‘पार्टी र सत्ता चलाउन एकै व्यक्ति कांग्रेसको सभापति हुनुपर्छ’

एमालेकै कारण नागरिकता विधेयक अड्किएको दाबी

नेपालभ्युज

‘पार्टी र सत्ता चलाउन एकै व्यक्ति कांग्रेसको सभापति हुनुपर्छ’

जनकपुरधाम। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापति बनाउनुपर्ने गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन्।

आज (सोमबार) नेपाली कांग्रेस धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले कुनैबेला गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको अन्तर्संघर्षका कारण कांग्रेसको बहुमत सरकार ढलेको स्मरण गराए। भने, “सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्छ।”

यस्तो हुँदा पार्टी र सत्ता सञ्चालन गर्न पनि सजिलो हुने र आन्तरिक किचलोसमेत नहुने उनको धारणा थियो। पुनः देउवालाई नै सभापति बनाउन उनले आग्रह गरे।

गृहमन्त्री खाँडले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीका विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने दाबी गरे।

तराई मधेशमा रहेको नागरिकता समस्याका सवालमा गृहमन्त्री खाँडले भने, “नागरिकताको समस्या तराईमा मात्र होइन, देशकै समस्या हो। यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन समाधान गर्न सरकारले तयारी गरिरहेको छ।”

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गरेकाले नागरिकता विधेयकलगायत अन्य आवश्यक विधेयक पनि अड्किएको उनको आरोप थियो। र संसद सुचारु हुनेबित्तिकै सबैभन्दा पहिला नागरिकता विधेयक नै आफूहरूले पारित गराएर समस्या समाधान गर्ने आश्वासन त्यहाँ दिए।

गृहमन्त्री खाँडले सदनको गतिरोध हटाउन एमालेसँग आग्रहसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved