बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितको सहयोगमा प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।

नेपालभ्युज

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितको सहयोगमा प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।

१०९ जना सांसद रहेको प्रदेशसभामा उपस्थित १०४ पाण्डेकाे पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ २ मत परेको छ। बागमतीमा सरकार बनाउनका लागि जम्मा ५५ जना सांसदको साथ आवश्यक हुन्छ। जसअनुसार उनले बहुमत पाएका छन्।

त्यसअघि, प्रदेशसभाको बैठकमा पाण्डेले प्रदेशसभामा रहेका सबै दलका सांसदहरुसँग विश्वासको मत मागेका थिए। पाण्डेले आफूले विश्वासको मत पाएको खण्डमा प्रदेशको हैसियत माथि उठाउन तथा फजुल खर्च घटाउँदै प्रदेशको विकासमा ध्याने दिने पनि बताएका थिए।

प्रदेशसभामा पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्दै बागमती प्रदेशको विकासको रफ्तारलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

नेपालको संविधानको धारा १६८ को उपधारा २० बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन्।

यसअघि, बहुमत प्राप्त दलको हैसियतमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

गठबन्धनको दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेशसभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेशसभाका सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved