छठ पर्व – समाज चिनाउने खुला सङ्ग्रहालय

तराईवासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ अहिले पहाडी समुदाय मात्र नभई मुस्लिम धर्माबलम्बीहरुले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ।

छठ पर्व – समाज चिनाउने खुला सङ्ग्रहालय

जनकपुरधाम।  केरवा ज फरल घउरस वोपर सुगा मडराय।
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय।।

अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन। छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर गीतबाटै सचेत गराउन खोजिएको हो। अहिले जनकपुरसहित सम्पूर्ण तराई मधेसको शहर बजारमा यस्ता लोकगीतको सुमधुर स्वर गुन्जिएको सुनिन्छ। चार दिवसीय छठ पर्वको आजदेखि विधिवत् शुभारम्भ भएको छ। छठ पर्वको पहिलो दिन आज (सोमवार) व्रतालुहरूले नहाएखाए अर्थात् नुहाएर मात्र चोखो वस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गर्ने गर्छन्।
श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आज सोमवारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदै छ।

पहिलो दिन – ‘अरबा–अरबाइन’

चार दिवसीय छठ पर्वको पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहाए खाय भनिन्छ। यो दिनमा व्रतालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन्। व्रतालुले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन्। यो दिनलाई व्रतालुहरूले आँखा पनि भन्ने गर्छन्।

दोस्रो दिन – ‘खरना’

पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ। खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन्। साँझ पख नुहाएर चोखो हुन्छन्। आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ। प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ। त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरिन्छ। व्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ।

तेस्रो दिन ‘सझिया घाट’

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ। छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ। पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ।

अन्तिम दिन ‘पार्वण’

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ। यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ।
अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन्, सुनाउँछन्। यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ। प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि प्राप्त हुन्छ।

सत्य र अहिंसाको चाड

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व। तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ।
छठ पूजाको लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरि नव बेहुली झैँ श्रृंगारिने कार्य जारी छ।
श्रद्धालुहरूले जनकपुरको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्नि कुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन्।
दीपावली तिहारको रौनक नसक्दै यहाँ पवित्र छठ पर्वको तयारीको चटारो लाग्ने गर्दछ। चोक चौराहादेखि घरघरबाट छठ गीतको धुनले पुरै शहर छठमय मुडमा प्रवेश गरिसकेको संकेत गर्छ।
विशेष गरी आराध्य देव सूर्यको उपासना गरिने छठ पर्व निक्कै उत्साह र भक्तिभावका साथ मनाइन्छ। घरदेखि टाढा परदेशमा रोजगारी वा उच्च शिक्षा अध्ययनका लागी बिदेसिनेहरू समेत घर आँगनमा छठको रौनक सम्झिएर घर फर्किन्छन्। छठ पर्व प्रकृति प्रति कृतज्ञता व्यक्त गर्ने माध्यम पर्व समेत हो।
यो पर्वमा सूर्यलाई साक्षी राखेर खुला आकाशमुनि किसानले वर्षभरि मिहिनेत गरेर उब्जाएको अन्नबाली सूर्यदेवलाई अर्पण गर्दै उनी प्रतिको अगाध आस्था प्रकट गर्छन्। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पुरा गर्न सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।
अहिले तराई मधेसमा हाट, बजार, सडक र गल्लीहरू छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामाग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्गलो, दाउरा, सुपली, छैँटी, ढकनीबाट सजिएका छन्।
उखु, केराउ, अदुवा, केरा, मुला लगायतका कृषि उपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खिर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले भान्छा, भूमिसँग जोडिएको जनजीविका र जन स्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ।
सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुल्ला संग्राहलयकै काम गरि रहेको प्रतित हुन्छ।
छठ पर्वका लागी माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा दलित समुदायको डोम जातीले बुन्छन्। अरुबेला हेयको पात्र बनाइने गरेको डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपलि, छैटी, बेना(हाते पङ्खा) छठ पर्वका लागी नभई नहुने हस्तकला सामाग्री हुन्।

पहाडी समुदायको आकर्षण बढ्दो

छठ पर्वमा जात, धर्म, क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी फरक फरक समुदायका अनुहारहरू जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको हुन्छ। मूलपुरमा मधेशी समुदायको मुख्य पर्वका रुपमा मानिँदै आएको यो पर्व मनाउनेको भीडमा सिउँदोदेखि नाकको टुप्पासमेत ढाकिने गरी सिन्दूर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्यरुपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुन्छ।
त्यसैगरी रोजगारीको ठूलो बजार मानिएको संघीय राजधानी काठमाडौँबाट दशैं मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन्। जब दशैंं मान्नेहरू सबैतिरबाट काठमाडौं फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागी तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन्।
सामाजिक विविधताले भरिएको समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैँ यसरी नै यात्रालाई निरन्तरता दिइरहेको हुन्छ।
तराईवासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ अहिले पहाडी समुदाय मात्र नभई मुस्लिम धर्माबलम्बीहरुले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ। यस पर्वको अर्को विशेषता सबै जातजाति, ठूलासाना, धनी,गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु पनि हो। यसकारण वर्षौसम्म भेटघाट नभएकाहरू बोलचाल नभएकाहरूसँग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ।
तसर्थ छठ पर्व सबैको मन जोड्ने सेतुको रुपमा मान्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved