बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

नेपालभ्युज

बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै छन्। दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्नेछन्। प्रस्ताव पेश भएसँगै मतदान पनि आजै हुनसक्ने छ।
नेपालको संविधानको धारा १६८ को उपधारा २० बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्। यसअघि बहुमत प्राप्त दलको हैसियतमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

गठबन्धनको दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए। हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ।
प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved