भारतको विश्वकप यात्रा अफगानिस्तानको हातमा

नेपालभ्युज

भारतको विश्वकप यात्रा अफगानिस्तानको हातमा

काठमाडौ। उपाधिको प्रबल दाबेदार मानिएको भारतको जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको भविष्य अफगानिस्तानले निर्धारण गर्ने भएको छ। यूएईमा जारी विश्वकपमा आज (आइतबार) भारतको खेल छैन।

तर आज हुने अफगानिस्तान र न्यूजिल्याण्डबीचको खेलले भारत यो विश्वकपको सेमिफाइनलमा पुग्छ कि पुग्दैन भन्ने टुंगो लाग्छ।

खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे अबु दाबीको मैदानमा हुँदै छ। उक्त खेलमा अफगानिस्तानले न्यूजिल्याण्डलाई अप्रत्याशित रूपमा पराजित गरे मात्र भारतले नकआउट चरणमा प्रवेश पाउनेछ।

त्यसैले आज विश्वभरिका भारतीय क्रिकेटका फ्यानहरूले अफगानिस्तानले जितोस भनेर कामना गरिरहेका छन्।

ग्रुप ‘बी’बाट शुरुआती चार खेल नै जित्दै आठ अंकसहित पाकिस्तानले सेमिफाइनलमा ठाउँ पक्का गरिसकेको छ। समूहमा रहेका ६ टिममध्ये शीर्ष दुई टिमले मात्र नकआउटमा प्रवेश पाउनेछन्। अब यो ग्रुपमा सेमिफाइना पुग्न भारत, न्यूजिल्याण्ड र अफगानिस्तान तीन ओटैको सम्भावना कायमै छ।

यो खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई हराए न्यूजिल्याण्डले अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ र भारत तथा अफगानिस्तान दुवैको विश्वकप यात्रा समूह चरणबाटै टुंगिनेछ।

अफगानिस्तानले खेल जितेमा भने भारतसँगै अफगानिस्तान आफैको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहन्छ तर रनरेटका आधारमा भने अफगानिस्तानको जितपछि भारतको नै सेमिफाइनलमा पुग्ने सम्भावना प्रबल छ।

समूह चरणका चार खेलमा न्यूजिल्याण्डको ६ अंक छ भने भारत र अफगानिस्तानको समान चार–चार अंक छ। रनरेटका आधारमा भारत अफगानिस्तानभन्दा माथि छ।
भारतको भने सोमबार नामिबियासँगको अन्तिम खेल बाँकी छ। यदि आज अफगानिस्तानले न्यूजिल्याण्डलाई हराएमा अफगानिस्तानको रनरेट पनि बढ्नेछ। तर नामिबियासँगको खेलमा भारी अन्तरको जितसँगै रनरेट सुधार्दै भारत सेमिफाइनलमा पुग्ने आशामा छ। तर त्यसका लागि पहिले अफगानिस्तानले आज न्यूजिल्याण्डलाई पराजित गर्नुपर्छ। जुन त्यति सजिलै हुनेवाला देखिन्न।

भारत समूह चरणको शुरुआती दुई खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तान र न्यूजिल्याण्डसँग लगातार पराजित भएको थियो। यसैकारण भारतको नकआउट चरण प्रवेशको सम्भावना निकै कठिन बनेको थियो।

यसपछि भने लगातार दुई खेलमा कमजोर प्रतिद्वन्द्वी मानिएका अफगानिस्तान र स्कट्ल्याण्डलाई भारी अन्तरले हराउँदै भारतले सेमिफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved