नेपालका भान्जाभान्जीको चिनियाँ तिहार

तर, चीनमा केही चिनियाँ दिदीभाइ छन् जो हरेक वर्ष तिहारमा भाइटीका लगाउने गर्दछन्। चिनियाँ भएर पनि भाइटीका लगाउने ती दिदीभाइ नेपालका भान्जाभान्जी हुन्। अर्थात्, उनीहरू नेपाली चेलीका छोराछोरी हुन्।

नेपालका भान्जाभान्जीको चिनियाँ तिहार

बेइजिङ। हिन्दू धर्मावलम्बी नेपालीको दोस्रो ठूलो चाडका रुपमा तिहारलाई लिइन्छ। नेपालबाहेक भारत, भुटान, म्यान्मारलगायत मुलुकमा बसोबास गर्ने हिन्दू धर्म मान्नेहरू पनि तिहार मनाउँछन्।

बहुसङ्ख्यक नेपालीले मनाउने र सार्वजनिक बिदा पनि हुने भएकाले तिहारको महत्व नेपालजस्तो अन्य मुलुकमा हुँदैन। नेपालको उत्तरी छिमेकी मुलुक चीनमा कोही पनि हिन्दूधर्मावलम्बी छैनन्। पछिल्लो समय केही नेपाली महिलाले चिनियाँसँग बिहे गरेर बसोबास गरेका छन्। तीज, दशैँ र तिहार मनाउने इच्छालाई दबाएर बस्न बाध्य हुन्छन् चिनियाँसँग बिहे गरेर बसेका नेपाली चेलीहरू।

तर, चीनमा केही चिनियाँ दिदीभाइ छन् जो हरेक वर्ष तिहारमा भाइटीका लगाउने गर्दछन्। चिनियाँ भएर पनि भाइटीका लगाउने ती दिदीभाइ नेपालका भान्जाभान्जी हुन्। अर्थात्, उनीहरू नेपाली चेलीका छोराछोरी हुन्।

चिनियाँसँग बिहे गरेर बसेका अधिकांश नेपाली महिलाका एउटा मात्र बच्चा छन्। केही महिलाका भने दुईवटा बच्चा अर्थात् एक छोरा र एक छोरी जन्माएका छन्। आफूले तिहार मनाउन नपाए पनि आफ्ना छोराछोरीलाई भने नेपाली संस्कृतिका रुपमा चाडपर्व सिकाउने क्रममा आफ्ना छोराछोरीलाई तिहारमा भाइटीका लगाउन सिकाएको उनीहरू बताउँछन्।

सधैँ झै यो वर्ष पनि आन्हुई प्रान्तकी १२ वर्षीय चिनियाँ फुच्ची चियाङ रुइसुएले आफ्नो ८ वर्षको भाइ चियाङ रुइसियाङलाई भाइटीका लगाइदिइन्। भाइको गलामा सयपत्रीको माला लगाएर मसलाको पोको कोसेली दिइन्। रुइसियाङले आफ्नी दिदीको खुट्टामा ढोगेर दक्षिणा दिए। रुइसुए र रुइसियाङ यसरी नै हरेक वर्ष तिहार मनाउने गर्छन्। उनीहरू युट्युबमा तिहारका नेपाली गीतमा नृत्य पनि गर्छन्।

रुइसुए र रुइसियाङकी आमा नेपाली हुन्। सन् सन् २००८ मा चिनियाँ युवा चियाङ छुसँग सोलुखुम्बकी रबिना राई चीन आएपछि उनीहरू जन्मिएका हुन्। चीनको मध्य भागमा पर्ने आन्हुई प्रान्तमा उनीहरू बसोबास गर्छन्।

त्यसो त उनीहरू तिहार मात्र होइन दशैँ पनि मनाउँछन्।

यो वर्ष भाइटीका शनिबार परेकाले उनीहरू अत्यन्त हर्षित थिए। तिहार अथवा दशैँ शनिबार वा आइतबार परेमा उनीहरू मज्जाले चाड मान्न पाउँछन्। अरुबेला त बिहानै खाजा खाएर स्कुल दगर्नु परिहाल्छ। उनीहरूकी आमा रबिना राई पनि अरुबेला काममा व्यस्त हुँदा छोराछोरीसँग चाडबाडमा रमाउन पाउँदिनन्।

“यसपटक त भाइटीका शनिबार परेकाले खुब रमाइलो भयो”, रबिनाले नेपालभ्यूजसँग भनिन्, “नानीहरू शुक्रबार साँझ स्कूलबाट आएदेखि नै सयपत्रीको माला उनेर तिहारको तयारीमा जुटेका थिएँ।”

रबिनाका छोराछोरी युट्यबुमा हेरेर देउसी भैलोको नक्कल गर्दै रमाइलो गर्छन्।

दशैँ तिहार बिदाको दिन नपरेमा साँझ मात्र चाड मनाउन पाउने गरेको रबिनाले सुनाइन्। चीनमा शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्छ। “के गर्नु नानीहरूले आफ्नो मावली देशको संस्कृति अलिअलि भए पनि सिकून् भनेर काम चलाउ चाड मनाउने गरेकी छु,” रबिनाले रमाइलो मान्दै भनिन्, “आफ्ना त छोराछोरी चिनियाँ र नेपालीको हाइब्रिड अनि चाडपर्व पनि हाइब्रिड तरिकाले नै मनाउने गरिएको छ।”

चाडबाड मनाउँदा उनका छोराछोरीले नेपाली पोशाक लगाउने गरेका छन्। आफ्नी आमाबाट थोरै थोरै नेपाली बोल्न पनि सिकेका छन् उनीहरूले। नेपाली चाडपर्वसँगै नेपाली संस्कार पनि सिक्दै आएका छन्। माइतीले चेलीको खुट्टामा ढोग्नुपर्छ, टीका लगाएपछि टाउकामा फूल सिउरिनुपर्छ, झुकेर नमस्ते गर्नुपर्छ भन्ने कुरा उनीहरूलाई थाहा छ।

त्यसो त रबिनाले छोराछोरीको नाम पनि ‘हाइब्रिड’ नै बनाएकी छन्। चियाङ रबिनाको श्रीमान्‌को थर हो। श्रीमान्‌को थरसँगै आफ्नो माइतीको थर राईलाई जोडेर उनले छोराछोरीको नाम जुराएकी हुन्। चिनियाँ मात्र भएको भए यी बालबालिको नाम चियाङ सुए र चियाङ सियाङ हुने थियो तर रबिनाले बीचमा राई जोडेर ‘रुइसुए’ र ‘रुइसियाङ’ बनाएकी हुन्।

‘रुइ’ राईबाट चिनियाँमा आगन्तुक हुँदा अपभ्रंश भएको हो। चिनियाँ भाषामा सुएको अर्थ पवित्र र सियाङको अर्थ समृद्ध हुने गर्छ। आफ्ना छोराछोरीले कालान्तरसम्म आफ्नो नामको अर्थमा मावली थर पनि जोडिएको छ भन्ने कुरा थाहा पाउन् भनेर रबिनाले चलाखीपूर्वक उनीहरूको नाममा आफ्नो माइतीको थर जोडेकी हुन्।

चाडबाड मनाउँदा उनका छोराछोरीले नेपाली पोशाक लगाउने गरेका छन्। आफ्नी आमाबाट थोरै थोरै नेपाली बोल्न पनि सिकेका छन् उनीहरूले। नेपाली चाडपर्वसँगै नेपाली संस्कार पनि सिक्दै आएका छन्। माइतिले चेलीको खुट्टामा ढोग्नुपर्छ, टीका लगाएपछि टाउकामा फूल सिउरिनुपर्छ, झुकेर नमस्ते गर्नुपर्छ भन्ने कुरा उनीहरूलाई थाहा छ।

आन्हुई प्रान्तमा मात्र होइन शाङहाईको दक्षिणपश्चिममा पर्ने चच्याङ प्रान्तको निङपोमा पनि दुई हाइब्रिड बालबालिकाले भाइटीका लगाएका छन्। ११ वर्षीया युसिनले आफ्नो ८ वर्षीय भाइ युनिङलाई टीका लगाइदिइन्। युसिन र युनिङ नेपाली युवती माया मगर र चिनियाँ युवा छन्। हुइचुनका छोराछोरी हुन्।

माया मगरले १२ वर्ष अगाडि छन हुइचिनसँग बिहे गरेकी हुन्। गत बिहीबार साँझ नेपालका यी भान्जाभान्जीहरूले लक्ष्मी पुजेर उनीहरूकी मावलकी हजुरआमालाई भिडियोमा कुराकानी गर्दै भैली गीत गाएर सुनाएका मायाले बताइन्।

सिन्धुपाल्चोककी माया मगरले चिनियाँ युवासँग बिहे गरेर चच्याङ प्रान्तको निङपोमा बसोबास गर्न थालेको पनि १२ वर्ष नाघेको छ। मायाले आफ्ना छोराछोरीको कोठामा नेपालको झण्डासँगै नेपालको नक्सा पनि टाँसेकी छन्। उनका छोराछोरी सानो सानो नेपाली झण्डा हातमा लिएर तोतेबोलीमा सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली नेपालको राष्ट्रिय गान गाउँछन्। उनीहरूको उच्चारण सुन्दा आफूलाई हाँस उठ्ने माया बताउँछिन्।

पोहोर साल भाइटीका सोमबार परेको थियो। छोरोछोरीले स्कुल पढेर फर्केपछि साँझ मात्र भाइटीका मनाएको माया र रबिना सुनाउँछन्। यसपटक भने शनिबार परेकाले उनीहरूले रमाइलोसँग भाइटीका लगाउन पाएका छन्।

माइतीदेशबाट टाढा रहेर आफूहरूले तिहारको टीका लगाउन नपाए पनि छोराछोरीले टीका लगाएको हेर्दा रमाइलो लागेको रबिना बताउँछिन्। तिहारमा त माइती नै चाहिने र आसपासमा अन्य नेपाली नभएकाले निधार खाली राखेको रबिनाले बताइन्। मायाका दाजु त व्यवसायका सिलसिलामा नेपाल र चीनको यात्रा गरिरहने भएकाले प्रायः तिहारमा मायाको हातको टीका लगाउन चीन आइपुग्थे। दुई वर्षदेखि कोरोना महामारीले गर्दा मायाका दाजु चीन आउन पाएका छैनन्।

माया र रबिनाको परिवारमा पहिले पहिले दशैँतिहारका बारेमा खासै थाहा थिएन। हिजोआज छोराछोरी बढ्दै गएपछि उनीहरूले चाड मान्न थाले र परिवार तथा छरछिमेकलाई पनि दशैँ र तिहारबारे जानकारी हुन थाल्यो।

तिहारमा उनीहरू सेलरोटी पनि पकाउने गर्छन्।

चीनमा बिहे गरेर बसोबास गरेका नेपाली चेलीहरूमा माया र रबिना आफूलाई भाग्यमानी ठान्छन् किनभने उनीहरूका छोरा र छोरी दुई सन्तान छन्। अन्य नेपाली चेलीका कि छोरा छन् कि छोरी। चीनका फरक फरक भूगोलमा बस्ने भएकाले अन्य नेपाली चेलीका छोराछोरीले आपसमा भाइटीका लगाउन पाउँदैनन्। नेपाली संस्कृति र संस्कारलाई आफ्ना छोराछोरीमार्फत चिनियाँ समाजमा फैलाउने काम गर्दैछन् माया र रबिना।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved