प्रचण्डलाई पराजित गर्ने ‘एमाले रणनीति’

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाहालको निर्वाचन क्षेत्रमा पुगेर उनीविरुद्ध जनमत बनाउने काममा लागेका थिए भने दाहालको निर्वाचन क्षेत्रका प्रमुख प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई एमाले प्रवेश गराउने प्रयासमा एमाले लागेको छ।

प्रचण्डलाई पराजित गर्ने ‘एमाले रणनीति’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचन क्षेत्रमा अप्ठेरो पार्ने उद्देश्यसहित नेकपा एमाले अघि बढेको छ।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाहालको निर्वाचन क्षेत्रमा पुगेर उनीविरुद्ध जनमत बनाउने काममा लागेका थिए भने दाहालको निर्वाचन क्षेत्रका प्रमुख प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई एमाले प्रवेश गराउने प्रयासमा एमाले लागेको छ।

चितवन क्षेत्र नंम्बर ३ अन्तर्गत माडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले आफू चितवन छोडेर अन्यन्त्रबाट निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताएका थिए।

‘म निर्वाचनमा अन्य क्षेत्रबाट प्रतिस्पर्धा गर्ने तयारी गरेको साथीहरूले हल्ला चलाएका छन्, तर म चितवनलाई छोडेर अन्यत्र जाने पक्षमा छैन,’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भनेका थिए।

माओवादी अध्यक्ष दाहाल चितवन पुगेको केही दिनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चितवन पुगे। १० देखि १२ मंसीरमा चितवनमा आयोजना हुने पार्टीको महाधिवेशन आयोजना स्थलको अवलोकन गर्ने भन्दै त्यहाँ पुगेका एमाले अध्यक्ष ओली पनि दाहालको निर्वाचन क्षेत्रमा पुगे।

त्यहाँ पुगेका ओलीले दाहालविरुद्ध अभिमत बनाउने प्रयास पनि गरेका थिए। माडीको एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले आगामी निर्वाचनमा चितवन कुरुक्षेत्र बन्ने भन्दै गर्दा एमाले अध्यक्ष ओलीले चितवन धार्मिक स्थल भएको चर्चा गरे।

२०७७ सालको भानु जयन्तीको अवसरमा तत्कालीन प्रधानमन्त्री ओलीले राम भारतको अयोध्यामा नभई चितवनको माडी, ठोरीमा जन्मिएको बताएका थिए। ओलीकै कार्यकालमा ठोरीमा राम मन्दिर निर्माणको कार्य थाल्ने उनले दिएको निर्देशनअनुसार त्यहाँ बनेको राम मन्दिरको अवलोकन गर्न पुगेका ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध जनमत सिर्जना गर्ने प्रयास पनि गरेका थिए।

गत प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी गठबन्धन मिलेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा माओवादी अध्यक्ष दाहालले उक्त क्षेत्रबाट चुनाव जितेका थिए। प्रजातान्त्रिक पार्टीका नेता विक्रम पाण्डेसँग निकै प्रतिस्पर्धात्मक रहेको उक्त निर्वाचनको नतिजा दाहालको पक्षमा आएको थियो।

शुक्रबार एक टेलिभिजन कार्यक्रममा ओलीनिकट एमाले नेता महेश बस्नेतले उनै विक्रम पाण्डे एमाले प्रवेश गर्न लागेका भन्दै आगामी निर्वाचनमा चितवन क्षेत्र नंंम्बर ३ मा दाहाललाई अप्ठेरो पार्ने संकेत गरेका थिए। पाण्डेनिकट स्रोतले पनि सो कुराको पुष्टि गरेको छ। “नेकपा एमालेसँग यस विषयमा छलफल भए पनि यकिन निर्णयमा भने उहाँ पुग्नु भएको छैन,” पाण्डेनिकट स्रोतले नेपालभ्यूजलाई भन्यो।

सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस चितवन, माओवादी केन्द्रलाई समर्थन नगर्ने मनस्थितिमा रहेको सार्वजनिक मञ्चबाट नै बताएको अवस्थामा दाहालका प्रमुख प्रतिस्पर्धी पाण्डे नै एमाले प्रवेश गर्ने चर्चाबीच निर्वाचनअघि नै एमालेले माओवादी केन्द्रका अध्यक्षलाई हराउने रणनीतिमा लागेको बुझ्न सकिन्छ।

प्रतिनिधिसभाको निर्वाचन आउन समय अझै बाँकी रहे पनि निर्वाचको दाउपेच भने अहिलेदेखि नै शुरु भएको पाइन्छ। नेताहरू आफ्नो निर्वाचन क्षेत्रलक्षित कार्यक्रममा सहभागी बढाउन थाल्दै गर्दा निर्वाचनअघि नै निर्वाचनको माहोल बन्दै गएको हो।

निर्वाचनका लागि माहोल बनाउन अरु पार्टीका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउनेदेखि भाषणमा पनि निर्वाचनकै चर्चा हुन थालेको छ।

आगामी निर्वाचन लक्ष्य गर्दै केही समयअघि माओवादी केन्द्रका अध्यक्ष दाहाल आफ्नो निर्वाचन क्षेत्र नै पुगेका थिए। चितवन क्षेत्र नम्बर ३ बाट यसअघि निर्वाचनमा प्रतिस्पर्धा गरेका दाहाल यसअघि पनि चितवन जाने गरे पनि यो पटकको भ्रमणमलाई उनले निर्वाचन अभियानकै रुपमा प्रयोग गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved