परेदेशिएका दाजुभाइ बोलाउने एउटा भावुक गीत

नेपालभ्युज

परेदेशिएका दाजुभाइ बोलाउने एउटा भावुक गीत

काठमाडौं। ‘तिहारमा पैयूं फुल्दा त्यो लेक लेकमा’ गीत जति पुरानो हुँदै जान्छ उति कर्णप्रिय लाग्दै जान्छ।

जनगायक जीवन शर्माको यो गीत तिहार विशेष छ। “नेपालीले आफ्नो कथा यस गीतमा पाउने भएकाले यसलाई बढी रुचाइएको मेरो बुझाइ छ”, शर्मा यसको लोकप्रियताबारे यसरी सुनाउँछन्।

पैयुँ फुल्दा त्यो लेक लेक
बेंसीमा बुकी फुल्दै छ
सयपत्री फुल्यो तिहारको बेला
भाई मेरा कहाँ डुल्दै छ

वातावरणसँग मिलाएर तिहारको माहोललाई उनले गीतमार्फत व्यक्त गरेका छन्।

“पैयुँ फुलिरहेका थियो”, उनी भन्छन्, “प्रकृतिले एउटा सन्देश दिइरहेको थियो नेपालीको जीवन फेरिएको थिएन, प्रकृतिले परदेशिएका नेपालीलाई बोलाइरहेको थियो।” नेपालमा रहेका दिदीबहिनी दाजुभाइ सम्झेर रोइरहेका देखेर यो गीत लेखिएको उनी बताउँछन्।

लेकमा रमाउनुपर्ने युवा खाडीमा छन्। गीतमा प्रकृति र समाजमा देखिएको फरक फरक अवस्था चित्रण गरिएको उनी बताउँछन्।

पसिना पुछ्दै डुल्दै पो छ कि अरबको खाडीमा २
दौडदै छ कि विदेशी पल्टन जंग झाडीमा २

चाडबाडका बेला परदेशमा रहेका दाजुभाइको कुनै सन्देश पनि नपाएको अवस्थामा दिदीबहिनीले भाइको सम्झना गरेको यर्थाथलाई गीतमा उनले उतारेका छन्।

खाडीमा पुगेका दाजुभाइ रगत पसिना बगाएर दुःख गरिरहेका कल्पना गीतमा छ। भन्छन्, “विदेशिएका दाजुभाइ पल्टनमा भर्ती भएर लडाइमा परे कि भन्ने आशंका र भावनालाई गीतमा उतारिएको छ।”

अत्याउँदो रहेछ त्यो सम्झनाले चाडबाड आउँदा २
सबैले आहा निधारमा टीका फूलमाला लगाउँदा २

चाडबाड आउँदा दाजुभाइको सम्झनाले दिदीबहिनीको मनमा चलेको आँधीबेहेरीलाई गीतमा प्रस्तुत गरिएको छ। भाइटीकामा अरूका दाजुभाइले फूलमाला र सप्तरंगी टीका लगाउँदा हात बाँधेर बस्न बाध्य दिदीबहिनीको पीडालाई गीतमा व्यक्त गरिएको छ।

नजाऊ कोही यो घर आँगन सुनसान पारेर २
फर्केर आउँ बसौला यहि सुखदुख बाँडेर २

उनले देशका युवालाई परदेशिएर हैन, आफ्नै देश रगत पसिना बगाउन पनि अनुरोध गरेका छन्। उनले थपे, “मैले रचना गरेको गीतहरू सबै नेपाली समाजको यथार्थ हुन्। नेपाली समाजका पात्रहरू वास्तविकलाई गीतमार्फत उतार्छु।”

शर्माले उक्त गीत २०५२‍-०५३ मा रचना गरेका हुन्।

गीत रचना गर्दा केही समस्या नभएको तर गीत रिलिज भएपछि ०५४-५५ मा धेरै समस्या झेल्नु परेको उनी बताउँछन्। गीत लेखेबापत जेलनेल सहनुपरेको उनी बताउँछन्। गरिब जनताको पक्षमा गीत बनाउँदा लुकेर बस्न बाध्य भएको उनको पीडा छ।

भन्छन्, “नेपालीले समुदायमा आधारित भएर बनाएका गीतहरूले जोकोहीलाई जुरुक्क उचाल्ने हुन्थ्यो। नागरिकले आफ्ना हक अधिकार बुझ्लान् भन्ने सन्देश दिन गीत ल्याइएको हो।”

सचेतना दिन र सशक्त बनाउन सबैभन्दा बढी प्रभावशाली र प्रभावकारी माध्यम हो संगीत नै भएको उनी दाबी गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved