नेवार समुदायको कलाको नमुना, तिहारमा बनाइने मण्डल

मानिसको शरीरभित्र नै देउता हुन्छ भनेर सबैभन्दा पहिले आत्मा सन्तुष्ट गर्नुपर्छ, सन्तुष्ट नभए देखावटी रूपमा धर्मकर्म, पूजा त्यसबाट फल प्राप्त हुँदैन भनेर ‘म्ह पूजा’ गर्दा होस् वा त्यसको भोलिपल्ट दिदीबहिनीहरूले दाजुभाइलाई पूजा गर्दा ‘मण्डल’ बनाउने चलन छ।

नेवार समुदायको कलाको नमुना, तिहारमा बनाइने मण्डल

काठमाडौं। नेवार समुदायमा तिहार अथवा स्वन्तिको समयमा वर्षको एकचोटि कार्तिक शुक्ल प्रतिपदाको दिन ‘म्ह पूजा’ (स्वयंको पूजा) गरिन्छ। साथै भोलिपल्ट द्वितियाको दिन भाइटीका गर्ने चलन छ।

मानिसको शरीरभित्र नै देउता हुन्छ भनेर सबैभन्दा पहिले आत्मा सन्तुष्ट गर्नुपर्छ, सन्तुष्ट नभए देखावटी रूपमा धर्मकर्म, पूजा त्यसबाट फल प्राप्त हुँदैन भनेर ‘म्ह पूजा’ गर्दा होस् वा त्यसको भोलिपल्ट दिदीबहिनीहरूले दाजुभाइलाई पूजा गर्दा ‘मण्डल’ बनाउने चलन छ।

मण्डल बनाएर पूजा गरिने चलन परापूर्वकालदेखि चलिआएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।

“भौतिक रूपमा मानिसको उपस्थिति भए वा नभए उसको नामको मण्डलामा पूजा गरिन्छ। यस्री पूजा गर्दा उक्त मानिसको स्वास्थ्य राम्रो रहने जनविश्वास रहिआएको छ,” उनी भन्छन्, “घरका सदस्य नभए पनि मण्डलामै पूजा गरेर पनि आफ्नो परिवारजन, दाजुभाइ, दिदीबहिनीको दीर्घायुको कामना गर्न सकिन्छ।”

मण्डलमा नेवार समुदायले तेल, जमिनबाट उब्जिएको पहिलो अन्न कालो भटमास, मास, आखेय् (हातैले बोक्रा निकालिएको चामलको गेडा), पोताय् (ढुंगाको धुलो), लावा (धानको फूल) राखेर पूजा गर्ने चलन छ।

कलाकार लोक चित्रकारका अनुसार ‘मण्डल’ शब्द ‘मण्ड’ र ‘ल’ मिलेर बनेको छ। ‘मण्ड’ को अर्थ सुख अनुभूति गराउने सार हो भने ‘ल’ को अर्थ शरीर हो।

“मण्डल शब्दको अर्थ भनेको सुख अनुभूति गराउने सार शरीरमा हुन्छ भन्ने हो,” उनी भन्छन्, “मण्डलको अर्को अर्थ भनेको ‘एउटै’ भन्ने पनि हो। ब्रम्हाण्ड पनि एक किसिमको मण्डल नै हो। मानिसको शरीर पनि मण्डल हो। जसरी ब्रह्माण्ड पञ्चमहाभूत वा पञ्चतत्वले बनेको हुन्छ, त्यसरी नै मानिसको शरीर पनि पञ्च तत्वले बनेको हुन्छ। काठमाडौंका हरेक मन्दिर एउटा मण्डलको आकारमा बनेको हुन्छ।”

चित्रकारका अनुसार मण्डल जमीनमा बनाइन्छ। त्यसैको सम्झनामा कपडा वा कागजमा बनाउन थालिएको हो। चित्रकार उजय बज्राचार्यका अनुसार कतिले पूजा आजाको लागि मण्डल बनाउँछन् भने कसैले ध्यानको लागि वा विभिन्न कारणले मण्डल बनाउन सक्छन्। म्हः पूजा, भाइटीकामा मात्रै नभई जन्मदिनलगायत विभिन्न समयमा गुरुजू, राजोपाध्यायले पूजाआजामा मण्डल बनाउँछन्। पौभा चित्रमा बनाइने र म्ह पूजा लगायत विभिन्न चाडपर्व वा पूजामा बनाइने मण्डल फरक भए पनि यसको उद्देश्य उही हुने चित्रकार उजय बज्राचार्य

पौभामा मण्डल कसरी बनाउने भन्ने तरिका भने प्रतिमा लक्षण विधानशास्त्रमा उल्लेख गरिएको हुने कलाकार लोक चित्रकार बताउँछन्। त्यसमा कुन देवताको स्वरूप कस्तो हुनेदेखि रङहरूबारे समेत उल्लेख गरिएको छ। कुन दिशामा के रहने, कुन देवताको मण्डलभित्र कुन देवता रहनेलगायत सबै लेखिएको हुन्छ। हिन्दू तथा बुद्ध धर्मसित जोडेर धार्मिक प्रयोजनका लागि बनाइने हुँदा निश्चित नियम पालना गर्नुपर्ने लोक चित्रकार बताउँछन्। परम्परागत मण्डल बनाउँदा कडा नियम पालना गर्नुपर्ने उनले बताए।

फरक–फरक मण्डल

म्हपूजा र भाइटीकाका दिन शहर डुल्ने हो भने फरक–फरक किसिमका मण्डलहरू भेटिन्छन्। एउटै टोलका घरहरूमा पनि एकै किसिमका मण्डल बनाइँदैन। बूढापाका अगाडि बसेर आफ्ना छोरानातीलाई मण्डला लेख्न लगाउने गर्थे। त्यही त्यो छोरानातिमा पुस्तान्तरण हुँदै आएको छ।

संस्कृतिविद् धौभडेलका अनुसार हिन्दूले बनाउने मण्डला गोलो हुन्छ, बौद्धले बनाउने विशेष गरी त्रिकोणात्मक, अष्टकदललगायत आठ भाग छुट्टिएको हुन्छ। त्यस्ता मण्डला बनाउँदा हिन्दूहरूले छ देखि सात, नौ र १२ घेरासम्म राख्ने चलन छ। कतिले विन्दुबाट शुरु गरेपछि मण्डला नसिद्धिएसम्म गोलो पार्दै लान्छन्। कतिले पत्रपत्र गरी मण्डला बनाउँछन्। उपत्यकामा नै हजार भन्दा बढी प्रकारका मण्डल रहेको उनको अनुमान छ।

म्ह पूजा र किजापूजा गर्दा बनाउने मण्डलाहरू हिन्दू धर्ममा सबैको पनि एउटै हुँदैन। शैव धर्म मान्ने, तान्त्रिक पद्धति मान्नेहरूले बनाउने, बौद्ध धर्म मान्नेले बनाउने मण्डला फरक हुन्छ। यसरी शैली स्वरूप फरक हुनु स्वाभाविक भएको संस्कृतिविद् धौभडेल बताउँछन्। उनी भन्छन्, “विविध किसिमको मण्डल नेवार समुदायको कलाकारिताको नमुना हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved