जनकपुरधाम। जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा गोधन पर्व मनाइएको छ। तिहार पर्वको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका मिथिला क्षेत्रमा गोधन पर्व मनाउने परम्परा छ। गोवर्द्धन नाम रहे पनि चलनचल्तीको भाषामा गोधन भन्ने गरिन्छ। गाउँ टोलका सबै बन्धुबान्धव र परिवारका घरमुली महिला एक ठाउँमा जम्मा भई मंगल गीत गाउँदै यो पर्व मनाएका छन्।
यो पर्व द्वापरयुगमा श्रीकृष्णले इन्द्रको वर्षाको प्रकोपबाट गोकुलवासीलाई बचाउन आफ्नो कान्छी औँलामा गोवर्द्धन पर्वत उठाएर त्यसमुनी सबै गाकुलवासीलाई वर्षाबाट सुरक्षा दिएको सम्झनामा मनाउने गरिन्छ।
गोवर्द्धन पर्वतले सुरक्षा दिएको भन्दै कृष्णले इष्टजनसहित गोवर्द्धन पर्वतको पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ। गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथावस्तु नै पर्व परम्परा भएको मैथिली साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन्। पछि गोवर्द्धन पूजालाई नै मिथिलामा ‘गोधन’ भनिन थालिएको कापडीले बताए।
यस पर्वको सन्दर्भमा वरिष्ठ पत्रकार चन्द्रकिशोरले ‘गोवर्द्धन पूजा’ अर्थात् लोकका लागि विजय पर्व भएको बताए । उनले भने ‘‘इन्द्र जो शासक हुन तीनका कुचेष्टाको पतन हो यो पूजा । साँच्चिकै देहातमा लोकपर्वका रूपमा लोकतन्त्र दिवस हो गोधन पर्व । हामीले हाम्रा रैथाने पर्वका अन्तर्यलाई बुझ्न र बुझाउन अति जरुरी छ ।’
यसरी मनाइन्छ गोधन पर्व
यमपञ्चक पर्वको चौथो दिन मनाइने गोधन पर्वको दिन गोठ घरमा गोबरका दुईवटा मूर्ति बनाइन्छ । त्यसमा एउटा महिला र अर्को पुरुषको आकृति बनाइन्छ। त्यहीँ गोबरकै दुईवटा सखारी (अन्न राख्ने भाँडो) पनि निर्माण गरिन्छ। त्यसमा दाल, चामल, धानसहितको अनाज राख्ने चलन छ। यसैगरी गोबरकै जाँतो पनि बनाइन्छ। गाईको गोबरबाट बनाइएका यी सबै आकृतिलाई विभिन्न फूल राखेर सजाइन्छ। विशेषतः घिरौँलाको फूल प्रयोग गरिन्छ।
यस दिन पशुधन (गाई, गोरु) को विशेष पूजा (चुमाउने) गरिन्छ। चुमाउनुअघि महिलाहरूले ओखलमा धान, सिन्दूर, दूबो र पिठार कुट्ने गर्छन्। यो मिश्रण रङ्गमा हालेर पशुधन (गाई, गोरुसहित) लाई रंग्याउन प्रयोग गरिन्छ। गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रण रङ्गाउने चलन छ। साथै नयाँ दाम्ला लगाइदिने (दाम्ला फेर्ने) परम्पराछ। यो मिश्रणले रङ्गाउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोग व्याधि) नलाग्ने मैथिल जनविश्वास छ।
चुमौनका लागि दौरा (सिकी वा बाँसको चोयाले बनाइएको भाँडो) मा धान, दूबो, फलफूल, पान, सुपारी, पैसा, पिठार (अल्वा चामलको पिठोमा पानी पिसाइएको), सिन्दूर, तोरीको तेल र गंगाजल अनिवार्य मानिन्छ। यी सामग्रीबाट पशुधनको पूजा गरी सिङमा तेल लगाउने र खुट्टामा गंगाजल हालिएको पानी राखिदिने परम्परा छ।
यो दिन पशुधनलाई खेतबाट हरियो धान ल्याएर खुवाउने गरिन्छ। भैँसीलाई राडी–खरले बनेको बेलनाकार वस्तुले हुर्रा खेलाउने चलन छ। हुर्रा खरबाट बनाइएको डल्लोमा कालो कम्बल राखिएको हुन्छ।
त्यसलाई खर (सबई) को डोरीले बाँधेर भैँसीको सामुन्ने फ्याँक्ने गरिन्छ। कतिपय भैँसी तर्सेर भाग्ने, कतिपय त्यसलाई सुँघ्ने र सिंहले हान्ने गर्छ । यसो गरिसकेपछि पशुधनमाथि पानी खन्याउने चलन छ। हुर्राहुरीमा सुँगुरको पाठो पनि केही ठाउँमा प्रयोग गरिन्छ । हुर्रा खेलेको वा लिएको भैँसीका धनीले हुर्रा स्थलमा ढोल बजाउनेलाई कपडा (गम्छा) दिनुपर्ने प्रचलन छ। तर, यो प्रथामा जीवलाई पीडा पुर्याएको भन्दै विरोध पनि हुन थालेकोले यो हुर्राहुरी खेल अचेल लोप हुन थालेको छ।
पशुधनको चुमौनपछि दौरामा राखिएको पैसा पनि ढोल बजाउने (ढोलिया) लाई वा पशुधनको हेरचाह गर्नेलाई दान दिइन्छ। पशुधनलाई तोरी तेल, मरीच र बकाइन (स्थानीय वनस्पति) सहितको वस्तु काइढ (बाँसबाट मनाइएको भाँडो) बाट खुवाउने परम्परा छ। गोवर्धनपूजाको दिन ‘लक्ष्मी आबे, काल भागे (लक्ष्मी आऊ, काल भाग)’ भन्दै घर–घरमा सुपा (नाङ्लो) ठटाउने चलन छ। पछिल्लो समय यी चलनहरू हराउँदै गएका छन्।
गोवर्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन ‘भातृद्वितीया’ पर्व मनाउने गरिन्छ। मैथिली भाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ । दिदीबहिनीसँग दाजुभाइले न्यौत लिने गर्छन्। यसमा दिदीबहिनीहरूले आँगनीमा गाईको गोबर, पिठार र सिन्दूरले मनाएको विशेष प्रकारको रंगोली (चौका) मा पिँढीमा बसाली हातमा पान–सुपारी र शिरमा गम्छा–तौलिया–रुमाल राखिदिएर न्यौत दिन्छन् । सप्तरंगी टिका दिदी बहिनीले दाजुभाइलाई लगाइ दिने गर्छन्। पिँढीमाथि बसेका दाजुभाइको हात पखाली दिएर पान–सुपारी एवं मिठाइ हातमा राखिदिने गरिन्छ ।
गम्छा टाउकोमा राखिदिने र मिठाइ खुवाइने चलन छ। न्यौत परम्पराका लागि पाँच रंगको फल अनिवार्य छ। पहिले–पहिले दाजुभाइले दिदीबहिनीका लागि खिर–पुरी वा चिउरा, दही तथा एक सेट साडी, ब्लाउज सहितको काँधमा भार (खर्पन) लिएर जाने चलन थियो। पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ। यो ‘भातृद्वितीया’ भनेको पहाडी समुदायले मनाउने भाइ टिका जस्तो नै हो। यस पर्वमा दिदी बहिनीले केराउको दानालाई केरामा खोपेर दाजुभाइलाई ‘बजरी’ खुवाउने चलन छ। ‘बजरी’ खुवाउनुको अर्थ आफ्नो दाजुभाइलाई कडा हुनु, (रोग व्याधि नलाग्नु) रहेको छ।
Facebook Comment
Comment