माथिल्लो तामाकोशीले दिएको पीडा, भीरैभीर हिँड्नुपर्ने बाध्यता

दोलखाको लामाबगरमा रहेको माथिल्लो तामाकोशीको बाँधले परम्परागत सडक डुबाइदिँदा वैकल्पिक सडकको अभावले लप्ची गाउँ जानेहरू ज्यान हत्केलामा राखेर भीरैभिरको यात्रा गर्न बाध्य छन्।

माथिल्लो तामाकोशीले दिएको पीडा, भीरैभीर हिँड्नुपर्ने बाध्यता

काठमाडौं। आनुवंशिक विज्ञानका अध्येता नारायण कोजु बर्सेनिजसो हिमालतिर लाग्छन्। उच्च पहाडी र हिमाली क्षेत्रको जैविक विविधताको अनुसन्धानमा संलग्न छन् उनी।

तीन वर्षअघि उनको समूहले नेपाल-चीन सीमामा रहेको दोलखाको सीमान्त क्षेत्र लप्ची उपत्यकामा हिउँ चितुवा रहेको फेला पारेको थियो। गौरीशंकर संरक्षण आयोजनाको सहयोगमा त्यस क्षेत्रका स्तनधारी जनावरहरूको विविधताबारे अध्ययन गर्न गरिएको क्यामेरा ट्रयापिङमा चार हजार तीन सय मिटरको उचाइमा हिउँचितुवा रहेको पुष्टि भएको थियो।

त्यसयता उनले हिउँ चितुवाको अध्ययनमा आफ्ना विद्यार्थी खटाए। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भइरहेको ‘हिउँ चितुवा’को अनुसन्धानलाई निरन्तरता दिन उनी आफैं दशैं नसकिँदै त्यतातिर लागे।

तर दोलखाको लामाबगर पुगेर छक्क परे। सधैं हिँड्ने सडक माथिल्लो तामाकोशी परियोजनाको जलाशयले डुबाएको थियो। गाडी जाने अन्तिम विन्दु हो लामाबगर। त्यसपछि लप्ची पुग्न पैदल यात्रा गर्नुपर्छ। तामाकोशीको तिरैतिर भएर उकालो चढ्नुपर्थ्यो। तर परियोजनाले बाटो नै डुबाइदियो।

“त्यो बाँधले गर्दा सयौं वर्षदेखि प्रचलनमा रहेको परम्परागत बाटो डुब्न पुग्यो। बाँधले गर्दा एक किलोमिटरसम्म रूखभन्दा अग्लो हुनेगरी पानी भरिएको छ जसले गर्दा अहिले बाँधमाथिबाट भीरैभिरको बाटो भएर हिँड्नुपर्ने भएको छ”, काठमाडौं फर्किएपछि नेपालभ्यूजसँग उनले सुनाए।

अनुमान गर्नसक्ने भन्दा जोखिमपूर्ण छ भीरैभिरको यात्रा। तल जलाशय। माथि अक्करे भीर। त्यही भीरमा आफू।

“तितेपाती र निगालोको बोट समाएर हिँड्नुपर्ने बाध्यता छ”, आफूले गरेको जोखिमपूर्ण यात्राको भिडिओ फुटेज देखाउँदै वर्णन गरे कोजुले।

यो यात्रा किन पनि जोखिमपूर्ण छ भने लप्ची जाने मौसम अहिले नै हो।

पहिलेः दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोशी जलाशय निर्माणाधीन अवस्थामा।
अहिलेः माथिल्लो तामाकोशी जलाशय निर्माणसम्पन्न अवस्थामा।

बिगु गाउँपालिकामा पर्ने लप्ची नेपाल-चीन सिमानाको अन्तिम गाउँ हो। लामाबगरबाट उत्तरमा तीन स्थान छन्- लुमनान, थेसिङ र लप्ची। लुमनान र लप्ची गाउँ हो भने थेसिङ दुई गाउँको बीचमा पर्ने खर्क। हिउँदमा हिउँ पर्न थालेपछि लप्चीका गाउँले चौरी लिएर तल लुमनानतिर ओर्लन्छन्। बाटोमा पर्ने थेसिङका खर्कमा बास बस्छन्। लुमनान र लप्चीका गाउँले एउटै हुन्। कोजुका अनुसार अहिले त्यहाँ करीब ३० परिवार बसोबास गर्छन्।

सन् १९६३ भन्दा अघिसम्म लप्ची चीनको तिब्बती भूमिमा पर्थ्यो। प्रशासनिक रूपमा लुमनान भने नेपालमा पर्थ्यो।  सन् १९६१ मा राजा महेन्द्रको चीन भ्रमणका क्रममा भएको नेपाल-चीन सीमा सन्धिपछि दुई देशबीच सीमा निर्धारण थालियो। सोही सन्धिकै आधारमा सीमा निर्धारण गर्दै जाँदा सन् १९६३ मा लप्ची पनि नेपालतिर पर्‍यो।

नेपाल-चीन सिमानाका ५५ र ५६ नम्बरको पिल्लरबाट पूर्वतर्फ ३५ मिनेटको पैदल दूरीमा छ यो गाउँ। त्यस्तै ५८ र ५९ नम्बरको पिल्लरबाट पश्चिमतर्फ दुई घण्टा र ६० र ६१ नम्बरको पिल्लरबाट उत्तरतर्फ ६ घण्टाको दूरीमा।

धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ यो ठाउँ। प्रसिद्ध तिब्बती बौद्ध गुरु मिलारेपाले यही ठाउँमा ध्यान गरेको मानिन्छ। प्रसिद्ध छोरागेफेलिङ गुम्बा यहीँ छ।

“यहाँ ध्यान गर्ने स-साना ३० भन्दा बढी गुफा छन्। गाउँ सानो भए पनि क्षेत्रफल निकै धेरै छ”, सुनाउँछन्।

हिउँ नपर्दै चौरीका लागि घाँस काटेर जम्मा गरिन्छ। यही बेलामा धूपका लागि सुनपाती पनि जम्मा गरिन्छ। त्यस्तै अहिले लुमनान र थेसिङबीच सडक निर्माण भइरहेछ। यी सबै काममा लामाबगरभन्दा तलका करिब डेढ सय तामाङहरू त्यहाँ कार्यरत रहेको बताउँछन् कोजु।

“लप्चीमा गुम्बा निर्माण, प्रोजेक्टको काम, सडक निर्माणका लागि हरेक दिन १५, २० जना आवतजावत गरिरहेछन्”, फोनमा सुनाए त्यहाँका भरिया शंकर तामाङले।

त्यसरी आवतजावत गर्ने सबैले कतै कतै राखिएका डोरी नभए निगालो र पाती समाएर जोखिमपूर्ण यातायात गर्न बाध्य भएको कोजुकै समूहका अर्का अनुसन्धाता विजय बस्यालले बताए।

‘माथिल्लो तामाकोशीको गैरजिम्मेवारी’

गत असारमा भर्चुअल माध्यमबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युतको आयोजना उद्घाटन गरेका थिए। कूल ४५६ मेगावाट क्षमता रहेको यो परियोजनालाई आफ्नो कार्यकालको सफलताको रूपमा प्रस्तुत गर्नेगरेका छन् पूर्वप्रम ओली। त्यही उद्घाटनका लागि वैशाखमै परियोजनाको जलाशय भरिइसकेको थियो तर लप्ची जानेहरूलाई वैकल्पिक बाटो नै तयार नगरी।

“माथिल्लो तामाकोशीले वैकल्पिक बाटो बनाएर मात्रै सञ्चालनमा जानुपर्थ्यो। त्यो त इआइए (वातावरणीय प्रभाव मूल्यांकन) मै उल्लेख भएको हुनुपर्छ”, अनुसन्धाता बस्यालले टेलिफोनमा भने, “तर बाटो नै तयार नगरी परियोजना सञ्चालन गर्नु माथिल्लो तामाकोशीको गैरजिम्मेवारी हो।”

अध्येता कोजुले पनि यसलाई माथिल्लो तामाकोशी परियोजनाको अन्यायको रूपमा व्याख्या गर्छन्। भन्छन्, “यो सरासर स्थानीय जनता र आयआर्जनका लागि लप्चीसम्म पुग्ने जनताका लागि अन्याय हो। केही ठाउँमा ठूलाठूला पहिरो गएका छन् जहाँ चिप्लिनु जिन्दगी गुमाउनु हो।”

अहिले लप्ची जानेहरू बाँधको भित्रैबाट जलाशय पार गर्छन् र भीरको बाटो लाग्छन्।

“जसले गर्दा तामाकोशी आयोजना आफैँ जोखिममा परेको छ”, अनुसन्धाता बस्याल भन्छन्, “बाँध भित्रैबाट बाटो दिएको छ। महत्वपूर्ण स्वीचहरूमा जसको पनि पहुँच छ। कसैले स्वीच चलाइदियो भने अकल्पनीय दुर्घटना हुन सक्छ।”

स्थायी विकल्प होइन डुंगा

“आजबाट डुंगा (स्टिमर) चल्यो”, लप्ची जानेहरूले सास्ती पाएकोबारे प्रश्न गर्दा विगु गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले १७ कात्तिकमा बताए। जलाशय भरिएकाले सडक डुबेको स्विकारे पनि उनले।

“जलाशय भरिएपछि डुंगा चलाइएको थियो”, फोनवार्तामा ओलीले भने, “बर्खा लागेपछि बन्द भएको थियो अहिले सञ्चालनमा आएको छ।” जोखिमपूर्ण सडक ओहोरदोहोर गरिरहने भरिया शंकर तामाङले पनि डुंगा राखिएको पुष्टि गरे।

“तर यो स्थायी समाधान होइन”, तामाङले भने, “बीचमा पनि डुंगा चलेको थियो। तर असारदेखि बन्द भयो। पानी परेपछि बन्द हुन्छ।”

स्थायी समाधान के हो त ? उपाध्यक्ष ओली भन्छन्, “सडक हो। आयोजनाले अहिले बाटो बनाइदिइरहेको छ।”

तस्वीर सौजन्यः नारायण कोजु र विजय बस्याल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved