कपिलवस्तुको हैजा नियन्त्रणमा नआएपछि खोप ल्याउने तयारीमा सरकार

नेपालभ्युज

कपिलवस्तुको हैजा नियन्त्रणमा नआएपछि खोप ल्याउने तयारीमा सरकार
कपिलवस्तुमा हैजाको प्रकोपसँगै बिरामी बढेपछि अस्पताल बाहिर राखेर उपचार गरिँदै। तस्वीर : बीबीसी

काठमाडौं। लामो समयदेखि कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा नआएपछि सरकारले हैजाविरुद्ध दुई लाख ५२ हजार डोज खोप ल्याउने भएको छ।

ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बताए। ‘‘कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा आउन समय लागिहरेकाले विश्व स्वास्थ्य संगठनको करेला सचिवालयसँग खोपका लागि पहल गरेका थियौं र उनीहरूले ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ २ लाख ५२ हजार ३६३ डोज खोप पठाउने भएका छन्,” उनले जानकारी दिए।

उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका जोखिमयुक्त क्षेत्रहरू निर्धारण गरेर वितरण गरिने मन्त्रालयले जनाएको छ।

कपिलवस्तुमा फैलिएको हैजा स्वास्थ्यसँग मात्र नजोडिएर जीवनशैलीसँग पनि जोडिएकाले नियन्त्रणमा आउन समय लागिरहेको सहप्रवक्ता डा.समीर कुमार अधिकारीले बताए। भने, ‘‘कपिलवस्तुमा झाडापखालाबाट सुरु भएको समस्या अहिले हैजामा परिणत भएको छ, त्यहाँ पानीमा मात्र नभएर शैचालयको पनि समस्या छ र जीवनशैलीसँग पनि जोडिएकाले राम्रैसँग व्यवस्थापन गर्नुपर्ने देखिएको छ।”

खोप आउने पक्का भइसकेको र आएलगत्तै लगाइने उनले बताए। १८ असोजदेखि फैलिएको झाडापखालाबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने १३ सय १४ जनामा समस्या देखिएको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये १३ सय ८ जना निको भइसकेका र ६ जना उपचाररत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved