कोभिड संक्रमणको केन्द्र बन्दै यूरोप, चौथो लहरको चेतावनी

केही समयदेखि युरोप महादेशमा नै भ्याक्सिन प्रयोग दर निकै घटेको छ। स्पेनमा ८० प्रतिशत मानिसले दुई डोज भ्याक्सिन प्रयोग गर्दा फ्रान्स र जर्मनीमा ६८ र ६६ प्रतिशत मानिसले मात्रै दुई डोज भ्याक्सिन प्रयोग गरेका छन्।

नेपालभ्युज

कोभिड संक्रमणको केन्द्र बन्दै यूरोप, चौथो लहरको चेतावनी

एजेन्सी। यूरोप फेरि पनि कोरोना महामारीको केन्द्र हुने खतरा बढ्दै गएकोमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ। यूरोप महादेशमा कोभिड-१९ संक्रमण दर बढ्दै जाँदा डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा यूरोपका लागि डब्ल्यूएचओ प्रमुख हान्स क्लूगले अगामी फब्रुअरीसम्म यूरोपमा पाँच लाख मानिसकाे कोभिड-१९ का कारण निधन हुनसक्ने बताएका छन्। पछिल्लो समय यूरोपमा  कोभिड-१९ सक्रमण बढ्दै जाँदा उनले प्रयाप्त भ्याक्सिनको प्रयोग नहुँदा यस्तो अवस्था आएको बताए।

‘हामीले हाम्रो रणनीतिलाई परिवर्तन गर्नुपर्ने देखिन्छ। कोभिड-१९ संक्रमण बढ्न नदिनेदेखि बढेको अवस्थामा रोकथाम गर्नेसम्मको काम गर्नुपर्छ’, उनले भने।

केही समयदेखि यूरोप महादेशमा नै भ्याक्सिन प्रयोग दर निकै घटेको छ। स्पेनमा ८० प्रतिशत मानिसले दुई डोज भ्याक्सिन प्रयोग गर्दा फ्रान्स र जर्मनीमा ६८ र ६६ प्रतिशत मानिसले मात्रै दुई डोज भ्याक्सिन प्रयोग गरेका छन्।

यो दर मध्य एवं पूर्वी यूरोपमा झनै कम रहेको बताइन्छ। अक्टोबर २०२१ सम्मको तथ्यांक हेर्दा रसियामा जम्मा ३२ प्रतिशत मानिसले कोभिड-१९ भ्याक्सिनको दुई डोज प्रयोग गरेका छन्।

यूरोपका डब्ल्यूएचओ प्रमुख क्लूगले सार्वजनिक स्वास्थ्यका क्षेत्रमा प्रयाप्त सर्तकता नअपनाउँदा कोभिड-१९ सक्रमण दर बढेको आरोप लगाएका छन्। यूरोप महादेशमा मध्य एसियाका केही देशको संख्या जोड्दा ५३ देश रहेका छन्। डब्ल्यूएचओको तथ्यांकअनुसार यूरोपमा हालसम्म १४ लाख मानिसको निधन भइसकेको छ।

यूरोपमा डब्ल्यूएचओको प्राविधि समूहको नेतृत्व गर्दै आएकी मारिया वान केरखोवले पछिल्लो चार हप्तामा यूरोपमा संक्रमण दर ५५ प्रतिशतले वृद्धि भएको बताइन्। प्रयाप्त मात्रामा भ्याक्सिन वितरण भए पनि संक्रमण दर फैलिएको उदाहरण अन्य देशका लागि पाठ हुनसक्ने उनले बताइन्।

जर्मनीमा पछिल्लो २४ घण्टमा ३४ हजार मानिसमा कोभिड संक्रमण देखिएको छ। जर्मनीको हकमा यो दर निकै धेरै भएको बताइन्छ।

यता जर्मनीमा भेटिएको संक्रमण दरभन्दा पछिल्लो २४ घण्टामा बेलायतको संक्रमण दर बढी देखिएको छ। बेलायतमा ३७ हजार मानिसमा कोभिड-१९ संक्रमण भेटिएको बताइन्छ।

बेलायतको सार्वजनिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले संक्रमण दर बढ्दै जाँदा संक्रमणको चौंथो लहर आउनसक्ने आंकलन गरेका छन्। चौथो लहर आएको खण्डमा त्यसले धेरै मानिसको निधन हुनसक्ने र बेलायतको सार्वजनिक स्वास्थ्यले थेक्न नसक्ने उनीहरुको विश्लेषण छ।

बेलायतमा पछिल्लो २४ घण्टामा १६५ मानिसको निधन भएको छ। यो संख्या अघिल्लो हप्ता निधन भएका १२६ मानिसभन्दा धेरै हो।

जर्मनीमा भ्याक्सिन प्रयोग नगरेका ६० वर्षभन्दा बढीका ३० लाख मानिस रहेका छन्, यो समूहको व्यक्ति अति खतरामा रहेको बताइन्छ। जर्मनीको आरकेआई संस्थाका लोथर वीलरले बढ्दो संक्रमण चिन्ताजनक भएको बताए।

‘यदि हामीले उपर्युक्त कदम चालेनौँ भने कोरोनाको चौथो लहर आउनसक्छ जुन यसअघिको संक्रमणको तुलनामा भयावहक हुनेछ’, उनले भने।

यद्यपि, डब्ल्यूएचओका लागि यूरोपका प्रमुख हान्स क्लूग संक्रमण दर जर्मनीमा मात्रै सीमित नरहेको बताउँछन्।

संक्रमणका कारण मानिसको मृत्यदरमा नाटकीय परिवर्तन रसियामा देखिएको छ। अघिल्लो हप्ता मात्रै त्यहाँ ८ हजार १ सय मानिसको कोभिड संक्रमणका कारण निधन भएको थियो।

यस्तै, युक्रेनमा ३ हजार ८ सय मानिसले ज्यान गुमाएका छन्। यी दुवै देशमा भ्याक्सिन प्रयोगको दर निकै कम देखिन्छ। युक्रेनमा पछिल्लो २४ घण्टामा २७ हजार ३ सय ७७ मानिसमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved