जो लक्ष्मी रंग्याउँछिन् (भिडिओसहित)

पहिले चेतकुमारी कहाँबाट एउटै व्यापारीले ६ सय, ७ सय पिस लान्थे। तर अहिले यो संख्या घटेर १०/१५ मा झरेको छ। यो देख्दा उनलाई नरमाइलो लाग्छ। व्यापार घटेकोले होइन, संस्कृति मेटिन लागेकोले।

काठमाडौं। झ्यालबाट छिरेको मधुरो प्रकाशको भरमा उनी एकोहोरो हात चलाइरहेकी छन्। उनको छेवैमा थरिथरिका रङका बटुका छन्। समुन्ने पिर्कामाथि टन्नै कागज छन् भने हातमा ब्रस छ। ब्रसलाई रङको बटुका चोप्दै कागजनजिक लान्छिन्। बडो ध्यानपूर्वक कागज रङ्ग्याउँछिन्। सँगै एक ट्वाक पानी राखेकी छन्। एउटा रङको काम सकिएपछि अर्को रङ प्रयोग गर्न उनी ब्रसलाई ट्वाकको पानीमा चोप्दै कागजलाई सिंगार्न तल्लिन छन्। केही मिनेटको मेहनत पछि ती रङको सम्मिश्रणबाट सुन्दर चित्र तयार हुन्छ।

चित्र तयार भएपछि भक्तपुर याछेँकी ६८ वर्षिया चेतकुमारी चित्रकारको मुहारमा मन्द मुस्कान झल्किन्छ। हरेक वर्ष तिहार लागेसँगै उनी लक्ष्मी र भाइटिकाका चित्र कोर्न व्यस्त हुन्छिन्।

उनले बनाउने चित्र खास छ। नेवार समुदायले तिहारको लक्ष्मी पूजाको दिनमा पूजा गर्ने लक्ष्मीको चित्र बनाउँछिन् उनी। जसको हातमा हुन्छ, ज्वलः न्ह्यकँ(परम्परागत नेवार समुदायले प्रयोग गर्ने ऐना), सिन्हमु(परम्परागत नेवार समुदायले प्रयोग गर्ने सिन्दुर राख्ने सामान)। लक्ष्मीको वरिपरि हुन्छन्, कुबेर, ख्या। आशनमा हुन्छ कछुवा। कुबेर उहाँको दुईतिर बसेर रक्षा गर्ने, धन सुरक्षा गर्ने, ख्या भनेको धन बोकेर बस्ने। लक्ष्मी आशन कछुवा हो। हातमा सिन्हमु, सिन्दुर राखेर सिंगार गर्ने, ज्वालान्ह्यक, साथमा रहिरहने हुन्छ।

साथै भाइटिकाको दिनमा पूजा गर्न पनि उनले चित्र बनाउँछिन्।

किनकि, नेवार समुदायले सयौँ वर्षदेखि चित्र बनाउन प्रयोग गर्दै आएका परम्परागत शैलीबाट नै उनले चित्र तयार पार्छिन्। उनीसँग पुरानो थासा (काठको ब्लक) छ। जसमा चित्रका बुट्टाहरू कोरिएका छन्।

शुरुमा बटुकामा कालो रङ र सरेश राखेर घोटिन्छ। घोटेपछि कसार जति तलतिर जान्छ। त्यसपछि माथि आएको झोललाई ब्रसको सहायतले ब्लकमा पोतिन्छ, अनि ब्लकमाथि कागज राखेर छापिन्छ। छापिएको कागज सुकेपछि उनले थरिथरिका रङहरूले फेरि रङाउँछिन्। देख्दा सजिलो लागेपछि यो काम त्यति सजिलो भने छैन। मेहनत र निरन्तरता नभए चित्र बनाउन नसकिने चेतकुमारी बताउँछिन्।

उनले यो चित्र बनाउने कला ससुरा र सासुबाट सिकेकी हुन्। उनको माइती काभ्रे जिल्ला हो। बिहे अघि माइतीमा लक्ष्मीपूजा गरे पनि उनले यस्तो चित्रको प्रयोग गरेको कहिल्यै देखेकी थिइनन्। २०३१ सालमा बिहे भएर भक्तपुरको याछेँ आएपछि उनले यस्ता चित्र देखेकी थिइन्।

“त्यतिबेला म २१ वर्षको थिएँ। यहाँ ससुरा बा र सासुआमाले यही काम गर्नुहुँदो रहेछ। पहिले देख्दा यो के बनाएको, कसरी बनाएको होला जस्तो लाग्थ्यो। पछि उहाँहरूबाटै मैले पनि सिकेँ”, उनी भन्छिन्।

पहिले त उनलाई डर लाग्थ्यो। कतै बिग्रिन्छ कि, गाली गाइन्छ कि जस्तो लाग्थ्यो रे उनलाई। तर ससुराबाले उनलाई हौसला दिए। प्रोत्साहन गरे। चेतकुमारी डराउँदा ससुराबाले ‘तिमीले यो काम गर्न सक्छ्यौ, नडराइ गर’ भन्न थाले। त्यसपछि चेतकुमारी पनि ‘हुन्छ म गर्छु’ भनेर चित्र कोर्न थाल्थिन्।

उनी भन्छिन्, “ससुराबाले जहिल्यै ‘हेर यो काम तिमीले नछोड है बुहारी। हाम्रो आफ्नो जातले पाएको सिप हो, चित्रकारको सिप चित्र कोर्नु हो’ भन्नुहुन्थ्यो। त्यसैले मैले उहाँहरूपछि पनि यो कामलाई निरन्तरता दिएँ।”

चार दशक भयो उनले हरेक वर्षको तिहारमा यस्ता चित्र बनाउन थालेको।

तिहार मात्रै नभई वर्षमा नागपञ्चमी, गाइजात्रा, चौथी(गणेश चुतर्थी), विश्वकर्मा पूजा, दशैको नवदुर्गा लगायत देवी देउताका चित्र कोर्छिन्। तर सजिलो छैन चित्र कोर्ने काम।

“थासा(ब्लक)हरूलाई समयसँगै किराले खाए। पेपरमा छाप्दा चिन्ह नै आएन। त्यसपछि ससुराबाले २०३६ सालमा नयाँ थासा बनाए। धेरै पुरानो भइसकेकोले ससुराले नयाँ बनाउन थाल्नुभयो, सानो ज्यावलले खोपेर आकृति दिनुपर्ने, पुरानो जस्तो छ, त्यस्तै बनाउनुपर्ने, गाह्रो हुने रहेछ,” उनी सम्झिन्छिन्, “ससुराबालाई एउटा ब्लक बनाउन नै ३÷४ हप्ता लागेको थियो।”

थासा बनाएको दुई वर्षपछि २०३८ सालमा ससुरा बिते। ससुराले ‘यो काम तिमीले नछोड है बुहारी’ भनेको कुरा चेतकुमारीले मनमा राखिन्। त्यसैले ससुराबा पछि उनले निरन्तर यो कामलाई निरन्तरता दिइन्। अहिले पनि उनलाई सकुन्जेल यही काम गर्ने अठोट लिएकी छन्।

यो काम गरेर उनलाई मनमा शान्ती मिल्छ। उनी भन्छिन्, “यो काम गरिरहँदा जुन देउतामा काम गरिरहेको छ त्यो भगवानसँग बातचित गरेको हो कि भनेजस्तो महसूस हुन्छ।’

भन्नेले त उनलाई ‘देउता नै हुन्न’ समेत भन्छन्। तर उनलाई लाग्छ, ‘भगवान छ’ । ‘भगवान भगवान भन्छ, तर बोल्दैन त, खै कहाँ छ तिम्रो भगवान्’  भनेर प्रश्न पनि तेर्साउँछन् उनमाथि। त्यतिबेला चेतकुमारी उनीहरूलाई भन्छिन्, “भगवान हाम्रो आत्मामै छ। तिमीले खोजेर हेर, बुझेर हेर, भगवान बिना हामी बाँच्न सक्दैन, चिताएको पुग्दैन।”

बजार बिस्तार भएसँगै अहिले बजारमा आयातित प्रिन्टेड लक्ष्मीका चित्रहरू आउन थालेका छन्। पहिले चेतकुमारी कहाँबाट एउटै व्यापारीले ६ सय, ७ सय पिस लान्थे। तर अहिले यो संख्या घटेर १०/१५ मा झरेको छ। यो देख्दा उनलाई नरमाइलो लाग्छ। व्यापार घटेकोले होइन, संस्कृति मेटिन लागेकोले।

“हामीले बनाउने लक्ष्मीको चित्रमा हाम्रै कथा छ, हाम्रो चिजबिज छन्, जुन बजारमा आएका चित्रमा छैनन्,” उनी भन्छिन्, “त्यो नक्कली जस्तो हो, हामीले बनाउने यो चित्र पहिलेदेखि परम्परादेखि चलिआएको सक्कली हो। बजारिया चित्रले हाम्रो चित्र र चित्रसँग जोडिएको कथा पनि हराउँदै गइरहेको छ।”

तस्वीर र भिडियो : गोपेन राई 

 


Comment

One thought on “जो लक्ष्मी रंग्याउँछिन् (भिडिओसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved