केराको थाम र फूलमालाको व्यापार बढ्यो

केराको थाम र फूलमालाको व्यापार बढ्यो

जलेश्वर। दीपावलीका अवसरमा महोत्तरीका जलेश्वरसहित मिथिला क्षेत्रमा केराको थाम र फूलमाला बिक्री गर्नेहरूको भीड बढेको छ। बिहीबार बिहानैदेखि जलेश्वरसहित जिल्लाका प्रायः सबै बजारमा केराका थाम र फूलमाला बिक्री वितरण गर्ने किसानको भीड बढेको हो। जलेश्वर बजार क्षेत्रका व्यापारिक प्रतिष्ठान र पसलहरूमा लक्ष्मी पूजाका दिन फूल र केराका थामको प्रयोग गरी स्वागतद्वार बनाउने चलन छ। योसँगै केरा थामको कारोबारमा समेत वृद्धि भएको छ।

दीपावली पर्व केरा खेती गर्ने किसानका लागि विशेष अवसर बनेको छ। दीपावली ९तिहार० पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आयआर्जनका लागि विशेष अवसर बनेको हो। दीपावली पर्वमा लक्ष्मी पूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीमा केराका थामको माग बढ्ने गरेको छ। आज बिहानैदेखि लाखौंको केराको बोट बिक्री भएको छ।

लक्ष्मीपूजाका दिन जिल्लाको प्रत्येक गाउँ सहरमा अवस्थित पसल, बजार, प्रतिष्ठान, वित्तीय संस्था र घर अगाडिसमेत केराको बोट गाडिने प्रचलन रहेको कारण आज बिहानै महोत्तरीमा रु पाँच लाख बढीको केराको थाम बिक्री भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए।

लक्ष्मीपूजाको दिन हरेक पसल, व्यापारिक प्रतिष्ठान र घर अगाडि केराको बोट रोपेर झिलिमिली बत्ती बाल्दा लक्ष्मी आउने र धन प्राप्ति हुने जनविश्वास अनुरूप जिल्लाभरिका प्रत्येक पसल, व्यापारिक प्रतिष्ठान र घर अगाडि केराको बोट लगाइएको छ। यसका लागि लाखौंको केराको बोट बिक्री भएको जलेश्वर उद्योग वाणिज्य सङ्घ जलेश्वरका अध्यक्ष लवराजा सिंहले बताए।

यस क्रममा जिल्लाको जलेश्वर, बर्दिबास, गौशाला, पिपरा, मनरा, मटिहानी, बलवा, सरपल्लो, भ्रमरपुरालगायतका बजारमा गरी रु पाँच लाखभन्दा बढी मूल्य बराबरको केराको बोट बिक्री भएको व्यवसायीले बताएका छन्। लक्ष्मी पूजाको दिनलाई विशेष लक्षित गर्दै जिल्लाको सुन्दरपुर, औरही, मनरा, बेलालगायतका गाउँमा प्रत्येक वर्ष व्यावसायिक केराको बोट लगाएर लक्ष्मी पूजाको दिन लाखौँको केराको बोट बिक्री गर्ने गरिएको छ।

आज बिहान ४ बजेदेखि नै जिल्लाको सदरमुकाम जलेश्वरसहित विभिन्न बजारमा केराका बोट बेचेका रघुनाथपुरका किसान राधेश्याम यादव, मनराका किसान दुखरण दास, महादेवपट्टिका किसान लोथवा महतो र श्रीपुरका किसान मनोहर मण्डलले आफूहरू एक÷एक लाखको केराको बोट बेचेको बताएका छन्। उनीहरूले व्यावसायिक रूपमै केराको थामको खेती नै गरेर बर्सेनि लक्ष्मी पूजाको दिन लाखौँ रुपैयाँको कारोबार गर्दै आएका छन् भने अन्य स–साना व्यवसायी पनि सानो परिमाणमा थाम उत्पादन गरेर हजारौँ आम्दानी गर्ने गरेको पाइएको छ।

आजका दिन महोत्तरीका विभिन्न हाट बजारमा एउटा केराको बोट एक सय देखि १७५ रुपैयाँमा र जोडाको रु दुई सयदेखि ३०० सम्ममा बिक्री भएको महोत्तरी उद्योग वाणिज्य सङ्घले जनाएको छ।

मिथिला क्षेत्रमा दीपावली र छठ पर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वाराबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकारहरूले बताएका छन्। बैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको उनीहरूको भनाइ छ।

दीपावली र छठ पर्वसमेतमा जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत गरी रु ३० लाखभन्दा बढीको कारोबार भएको जलेश्वर उद्योग वाणिज्य सङ्घको अनुमान  छ। यसपालि एक साताअघि नै थामसँगै पर्व विशेषकै लागि घरीको समेत खरिद बिक्री शुरु भएकाले कारोबार रकम अझै बढ्ने छाँट देखिएको बताइएको छ।
जिल्लामा पर्व विशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफलमा समेत वर्षेनी बढ्दै गएको छ। अहिले जिल्लामा तीन हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमै केरा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved