यसरी बन्यो, ‘हरियो गोबरले लिपेको…’

धेरैको बुझाइ छ, ‘मेरो हजुर नजाऊ लाहुर/नेपालमै पाइन्छ जागिर’ पनि ‘हरियो गोबरले लिपेको’ गीतकै अंश हो। तर यो सत्य होइन। २०४० को दशकमा रेडियो नेपालमा निकै बज्ने उक्त गीतलाई चलचित्र निर्देशक प्रधानले ‘स्वर्ग’को भैली गीतसँग फ्युजन गरिदिएका हुन्।

यसरी बन्यो, ‘हरियो गोबरले लिपेको…’

काठमाडौं। तिहार लाग्यो। भैलोको याम शुरु भयो। अब जताततै बज्नेछ, ‘हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको…।’

हरेक वर्षको तिहारमा नछुटाई प्रत्येकजस्तो भैलोमा बज्ने यो गीत आखिर कहिले कसरी तयार भएको थियो त ? यस्तो छ गीतको कथा।

२८ वर्ष पहिलेको एक बिहान, फिल्म निर्माता एवं निर्देशक शम्भु प्रधानले गीतकार यादव खरेललाई फिल्म ‘स्वर्ग’का लागि देउसी गीत लेखिदिन अनुरोध गरे। लण्डन फिल्म स्कूलबाट निर्देशन र निर्माणमा डिप्लोमा गरेका, पहिलो नेपाली फिल्म निर्माता तथा शाही नेपाली चलचित्र संस्थानको महाप्रवन्धकको जिम्मेवारी समेत सम्हालिसकेका खरेलको नाम फिल्म क्षेत्रमा अपरिचित थिएन। धेरैपटक चलचित्र निर्माणकै सिलसिलामा खरेलसँग बम्बई पुगेका प्रधानसँग उनको राम्रै दोस्ती थियो।

खरेलको आदतसँग राम्रोसँग परिचित प्रधानले गीत लेखनको लागि प्रस्ताव मात्र गरेनन्, नूतन प्रधानले लेखेको चलचित्रको कथा पनि सुनाए। अन्य गीत स्वतन्त्र रूपमा लेख्न सकिने भए पनि चलचित्रको गीत निर्माताले दिएको विषयमा लेख्नुपर्ने हुन्छ, तर यादवलाई विषयले मात्रै पुग्दैन थियो। उनी आफूकहाँ कसैले फिल्मी गीतको प्रस्ताव लिएर आएमा सँगै स्क्रिप्ट पनि माग्थे। भ्याएसम्म स्क्रिप्ट नै पढ्थे। नभ्याउँदा निर्मातालाई अघि राखेर कथा भन्न लगाउँथे। खरेलले कथा सुने। गीतका लागि आवश्यक कथा यस्तो थियो–

‘…चलचित्रको नायक (शिव श्रेष्ठ) लाहुरे हुन्छ। लाहुरबाट बिदामा फर्किएको ऊ घर नपुग्दै बाटैको कुनै गाउँमा रात पर्छ। बासका लागि ढोका ढक्ढकाउँछ। संयोगले त्यो घर नायिका(गौरी मल्ल)को हुन्छ। नायिकाको घरमा बास बसेको त्यो नायकले अर्को दिन नायिकालाई गुण्डाबाट बचाउँछ। त्यसपछि नायिकाले उसलाई मनमनै मन पराउँछे, तर मनको कुरा भन्नै पाउँदिने। लाहुरेको बारेमा अरू केही जानकारी नभएकी उसलाई गाउँको नाम भने थाहा हुन्छ, अनि संगीहरूलाई बटुलेर त्यो गाउँमा भैलो खेल्न जाने योजना बनाउँछे।’

दौंतरीहरूसँग लाहुरेकै घरमा गएर भैलो खेल्ने योजना बनाएकी नायिकाले गाउने भैलो गीत लेखिदिनुपर्ने प्रस्ताव प्रधानले खरेललाई गर्छन्। प्रधान चलचित्रमा नायक नायिकाको मिलनको कथा गीतमार्फत नै जोड्नपर्ने बताउँछन्। नायिकाले आफ्नो गाउँको नाम नभनेसम्म नायक देखा पर्न नहुने पनि जानकारी गराउँछन्। मस्तिष्कमा दृश्य खेलाउँदै उनी घर फर्किन्छन्। घर पुगेर सोही दृश्यमाथि कलम दौडाउँछन् ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको…।’

गीतकार खरेल भन्छन्, “भैलो खेल्न आउनेहरूले आज पनि मेरो आँगनमा भैलो खेल्दा यो गीत बजाउँछन् नै, तर उनीहरूलाई त्यो गीत लेख्ने म हुँ भन्ने थाह हुन्न, रमाइलो लाग्छ।”

गीत लेख्न समय नलगाउने खरेल अर्को दिन प्रधानको हातमा कागजको एक चिर्कट्टो थमाउँछन्। देउसी खेल्न पुगेका भैलिनीले ‘हरियो गोबर’ले लिपेको देखि नायकबाहिर ननिस्केपछि उदास हुँदै नायिकाले बिलौना गर्ने ‘टाढाका हामी धाएर आयौँ घर त हो हाम्रो गैरीगाउँ’सम्मको शब्द उनी निकै मन पराउँछन्।

प्रधान सम्झिन्छन्, “यादव दाइको क्षमता नै भनौँ उहाँले गीतमा मिलनको कथा यति सशक्तसँग जोडिदिनुभयो, उहाँले लेखेको गैरीगाउँबाटै पछि फिल्ममा पनि नायिकाको गाउँको नाम त्यही राखियो।”

गीत तयार भयो। खरेलको शब्द बिछट्टै मन पनि पर्‍यो उनलाई। गीतमा नूतन प्रधान र लोचन भट्टराईले स्वर दिने पक्का भयो। संगीत भर्ने जिम्मा चाहिँ शम्भुजीत बास्कोटालाई दिइयो।

गीत, संगीत र फिल्मतर्फ राम्रो दख्खल भएका खरेल एउटै धूनमा चित्त बुझाउँथेनन्। उनी शुरुमै संगीतकारसँग तीनओटा धून माग्थे। कुनैको स्थायी मन पराउँथे, कुनैको अन्तरा। अनि ती फरक फरक धून जोड्न लगाउँथे। यो गीतमा पनि खरेलले त्यसै गरे। शम्भुजीतले तीनओटा धून भरेर ल्याए। गीतकार, निर्देशक र संगीतकार बसे। निर्णायक धून तयार भयो। तर चलचित्रको कथा अनुसार प्रधानलाई रेडियो नेपालमा खुबै बज्ने तारादेवीको गीत उक्त गीतमा फ्युजन गर्न मन लाग्यो।

समस्या के भने खरेलको गीतमा एउटा शब्द तलमाथि गर्न पाइँदैन थियो। २०२५ सालमा फत्तेमानको स्वरमा रेकर्ड भएको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले’ तथा नारायण गोपालको स्वरमा रहेको ‘तिमी आउँछौ भन्ने आशैआशमा बाटोभरी आँखा ओछ्याइरहन्छु’ जस्ता गीतका स्रष्टा खरेलका प्रधान स्वयं पनि एक फ्यान थिए।

उनको गीतमा शब्द थपघट गर्ने आँट थिएन पनि प्रधानसँग, त्यो आवश्यकता पनि देख्थेनन् उनी। त्यसमाथि चित्त बुझेन भने खरेल गीत फिर्ता माग्न पनि सक्थे। तर पनि प्रधानले प्रस्ताव गरे, “दाइ फिल्मको कथासँग पनि मिल्ने भएकाले यो एउटा गीत हाम्रो गीतमा फ्युजन गर्दा कसो होला?” खरेललाई उनको प्रस्ताव मन पर्यो, तुरुन्तै स्वीकार गरे। अनि ‘हरियो गोबरले लिपेको’ गीतको बीचमा थपियो तारादेवीको ‘मेरो हजुर नजाऊ लाहुर/नेपालमै पाइन्छ जागिर’।

धेरैको बुझाइ छ, उक्त दुई लाइन ‘हरियो गोबरले लिपेको’ गीतकै अंश हो। तर यो सत्य होइन। २०४० को दशकमा रेडियो नेपालमा निकै बज्ने उक्त गीतलाई चलचित्र निर्देशक प्रधानले ‘स्वर्ग’को भैली गीतसँग फ्युजन गरिदिएका हुन्। यद्यपि, यो गीत अहिले कतै बजेको सुनिन्नँ, युट्युब र गुगलमा पनि यसको अस्तित्व छैन। गीतसंगीतका जानकार प्रकाश सायमीसँग यस गीतबारे बुझ्दा पनि गीत पाइएन। उनले भने, “अहिले त्यति बजेको नसुनिएपनि गीत रेडियो नेपालमा हुनुपर्छ।”

अनामनगरको म्युजिक नेपाल स्टुडियोमा गीत रेकर्ड भयो। चाँगुनारायणको एउटा गाउँमा गीत शुटिङ गर्ने भइयो। फिल्म निर्माण समूहले केही दिनका लागि गीत शुटिङ गर्न एक घरमा अनुरोध गरेको थियो। सोही अनुसार काठमाडौँबाट  हरेक साँझ चाँगुनारायण गएर गीत शुटिङ गर्न थालियो। तर केही दिनका लागि भनेपनि दशौँ दिन बित्दा पनि गीत शुटिङ सकिएन। शुटिङ टिम ६/७ बजे काठमाडौँबाट चाँगुनारायण जान्थ्यो। खाना खाइवरी गीत शुटिङ गर्दा ९/१० बज्थ्यो। गीत सँगै कथाको पनि भन्नुपर्ने थियो। अनि हिउँदको चिसोमा २/३ बजेसम्म गीत शुटिङ हुन्थ्यो। यसरी पन्ध्रौँ दिनमा गीत तयार भयो। प्रधान भन्छन्, “शुटिङ गर्न मेरो जीवनमा सबैभन्दा बढी समय लागेको गीत यही हो।”

गीत तयार भयो। फिल्म प्रदर्शनमा आयो। त्यसबेला गीतकार खरेल र चलचित्र निर्देशक प्रधान दुवैले त्यो गीतलाई सामान्य एउटा भैलो गीतका रूपमा लिएका थिए।

“शम्भुले अनुरोध गरेपछि सामान्य भैलो गीतका रूपमा लेखेको थिएँ,” गीतकार खरेल भन्छन्।

यस्तै प्रधान पनि आफूलो उक्त गीतलाई तिहार लक्षित भन्दा पनि सामान्य रूपमा चलचित्रको कथा जोड्न सक्ने सशक्त गीतका रूपमा मात्रै लिएको बताउँछन्।

“तिहारको गीत भए पनि तिहारलाई लक्षित गरेर बनाएको गीत नै होइन, मैले कल्पना पनि गरेको थिएन कि यो गीत यति कालजयी बन्ला भनेर,” प्रधान बताउँछन्। तर समय जति जति बित्दै गइरहेको छ, यो गीत त्यति त्यति जवान बन्दै गएको छ। हरेक तिहारमा हरेकका आँगनमा यो गीत बजेकै हुन्छ। गीतकार खरेल भन्छन्, “भैलो खेल्न आउनेहरूले आज पनि मेरो आँगनमा भैलो खेल्दा यो गीत बजाउँछन् नै, तर उनीहरूलाई त्यो गीत लेख्ने म हुँ भन्ने थाह हुन्न, रमाइलो लाग्छ।”

गीत यति कालजयी हुनुमा प्रधानको काम गर्ने शैली र यसो गरौँ भन्दा झन्झट नमान्ने बानीको कारण पनि भएको बताउँछन्। गीतकार, संगीतकार र गायक राम्रो गीत तयार गर्ने त्रिवेणी भएकाले तीनवटाको सामन्जस्यले मात्रै राम्रो गीत बन्ने बताउँछन्। आधा शताब्दी लामो समय गीतसंगीत क्षेत्रमै बिताएका खरेलकहाँ अचेल गीत लेखनका लागि खासै कोही नआउने बताउँछन् उनी। जस्तो पायो त्यस्तै उनी लेख्दैनन् पनि।

तिहारमा आजका दिनमा पनि २८ वर्ष पुरानो गीत नै किन यति लोकप्रिय छ होला भन्ने प्रश्नमा उनी भन्छन्, “अहिले गीतमा आर्ट चल्दैन, हिँसा र यौन बिक्न थाल्यो। त्यो गीत सशक्त होइन, प्रतिस्थापन गर्नेगरी गीत लेखिएनन्।”

अहिले गीत लेखनको स्तर घट्दै गएको र सस्तो कुरामा स्रष्टा र श्रोता केन्द्रित भएको उनको बुझाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved