दीपावलीमा केरा मात्र होइन थाम समेत बेचेर पैसा कमाउँछन् किसान

नेपालभ्युज

दीपावलीमा केरा मात्र होइन थाम समेत बेचेर पैसा कमाउँछन् किसान

जनकपुरधाम। जनकपुरधामसहित मिथिला क्षेत्रमा दीपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ। दीपावली (तिहार) पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो।

दीपावलीको लागि बुधवार देखि नै केराका थाम ट्याक्टर तथा बयलगाडामा लोड गरेर किसानहरू जनकपुरधाम बजारमा घुमिरहेका छन्। केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार लगेर आफूले २५० देखि ३०० रुपैयाँका दरले बेचिरहेको धनुषा क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियाका किसान सुशील सिंहले बताए। उनले यसबाट राम्रै आम्दानी हुने गरेको समेत जानकारी दिए।

बिहीबार दीपावली पर्वको लक्ष्मीपूजाका लागि एक दिन पहिले बुधवारदेखि नै केराका थामको बिक्री धमाधम भइरहेको किसानहरू बताउँछन्। धनुषा, महोत्तरीका गाउँ नगर बस्तीमा केराका थाम नै लाखौँको बिक्री भइरहेको छ।

दीपावलीको लागि जनकपुरमा मात्रै बुधवार र बिहीबार करिब ८–९ हजार थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए।
केराका बोट झ्याङमा धेरै गाँजिएपछि झ्याङमा उखेल्नुपर्ने बोट तिहार पर्खेर बसेका किसानले अहिले बोट उखेलेर राम्रो आम्दानी गरेका छन्। ‘‘केराको झ्याङ्मा बोट गाँजिएर केही बोट (थाम) उखेल्नु नै पर्ने भएको थियो’’, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका केरा खेती गर्दै आएका किसान ब्रह्मदेव महतोले बताए।

अन्य बेलामा गाँजिएका बोट उखेल्न, फ्याँक्न थप खर्च लाग्ने थियो। तर दीपावलीमा भने फ्याँकिनुपर्ने बोट राम्रो मूल्यमा बिक्री हुने भएकाले गाँजिएका बोट उखेल्न पर्व पर्खेका किसानहरू बताउँछन्। आज एकैदिनमा १५ हजारभन्दा बढीको केराको थाम बेचिएको उनको भनाइ छ।

दीपावली पर्वमा लक्ष्मीपूजाका लागि स्वागत द्वार बनाउन केराको बोट सजाइने मैथिल परम्परानुसार जिल्लाका गाउँ नगर बस्तीमा केराका थामको माग बढ्ने गरेको छ। यसपालि थामका लागि एकसाता पहिलेदेखि नै बैना (पेस्की) लिइएको किसानले बताएका छन्। कसै कसैले चार थामको र सामान्यतया दुई थामचाहिँ आम रूप मै स्वागतद्वारमा लगाइने चलनले दीपावली पर्वमा केरा थामको राम्रो व्यापार हुँदै आएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ पकडियाका किसान रामनारायण सिंहको भनाइ छ।

पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थाम (बोट) बाट बनाइने परम्परा भएकाले मिथिला क्षेत्रमा यसको निकै महत्व हुने गरेको छ। पर्वको ठिक बेला थाम नपाइन सक्ने र त्यसबेला महँगो पर्ने भएकाले एक साताअघिदेखि नै झ्याङ (केराघारी) मै गएर मोल तय गरिएको थाम किन्नेहरूले बताएका छन्।
खासगरी धनुषा,महोत्तरीका बजारस्थित व्यापारिक प्रतिष्ठानका सञ्चालकहरू अहिले केराको थाम खरिद गर्न गाउँ बस्ती चहारिरहेको छ। महोत्तरीको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक रूपमै केरा खेती गर्दै आएका किसान सत्यनारायण यादवले आफूले ३५ हजारको केराको थाम बेचेको बताए। ‘‘राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट रहनु हुँदैन, बोट त छाँट्नु नै पर्छ’’, लगभग एक बिघा क्षेत्रफलमा केरा खेती गरेका यादवले भने, ‘‘यस्ता झ्याङमा हामी बोट छाँट्न दीपावली पर्व पर्खने गरेका छौँ।’’

फाल्नै पर्ने बोट आयआर्जनको राम्रो स्रोत

त्यत्तिकै उखेलेर फाल्नै पर्ने बोट दीपावली तिहारमा भने आयआर्जनको राम्रो स्रोत बन्ने गरेको किसानहरू बताउँछन्। धनुषाको मुख्य बजार जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार, विरेन्द्रबजार सहित र महोत्तरीका मुख्य बजार बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा, जलेश्वर नगरसहित व्यापारिक प्रतिष्ठानका संञ्चालक थामको खोजीमा बस्तीबस्ती पसेपछि केरा खेती गर्ने किसानलाई तिहार खर्चको जोहोमा सहयोग पुगेको छ।
खर्चबर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला व्यापारीहरु घरमै आएर थामको पैसा बुझाएर जाँदा पर्व मान्न सजिलो भएको महोत्तरी भङ्गाहा ७ हतिसर्वाको झपौल बस्तीका केरा खेती गर्ने किसान रामचन्द्र महराको भनाइ छ।

तिहारमा एकजोडा केराका थाम ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ। आफ्नो १० कठ्ठा क्षेत्रफलमा लगाइएको केरा खेतीको प्लटमा नयाँ कोथा बेचेर १५ हजार लिइएको बलवा नगरपालिका भगवतीपुरकी किसान ललन महतोले बताए। मिथिला क्षेत्रमा दीपावली र छठ पर्वका अवसरमा स्वागत द्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको छ। केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वाराबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकारहरूको भनाइ छ। ‘‘बैद्धिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको छ,’’ जनकपुरधामका मिथिला संस्कृतिका ज्ञाता एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले बताए।।

१ करोड बढीको कारोबार

दीपावली र छठपर्व समेतमा धनुषा जिल्लाभरमा केराका घरी र थाम समेत १ करोड बढीको कारोबार हुने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए। धनुषा, महोत्तरीमा पर्व विशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बर्सेनि बढ्दै गएको छ।
अहिले महोत्तरीमा तीन हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमै केरा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वर (महोत्तरी)ले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved