(आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती। नेपाली साहित्यमा अमर रहेका उनले नेपाली साहित्यलाई नयाँ मोड दिएका थिए, प्रचुर प्रतिभा प्रस्तुत गरेर। तर सहज थिएन उनको जीवन। उनको जीवनको झल्को धेरैको लेखनीमा पाइन्छ। त्यसमध्ये एक हो, प्रसिद्ध निबन्धकार शंकर लामिछानेले कोरेको शब्दचित्र। देवकोटाको जन्म जयन्तिको अवसरमा लामिछानेले कोरेको शब्द-चित्रको पुनः प्रकाशन उनको पुस्तक ‘बिम्ब प्रतिबिम्ब’बाट।)
२००७* सालको पौष महिनाको जाडो साँझ। मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर। त्यसको ढोकामा म चिच्याउँदै थिएँ- “देवकोटाजी हुनुहुन्छ?” माथिबाट कुनै अङ्ग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो। मेरा मनमा लाग्यो शायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रीकको विद्यार्थीको घरमा म पुगेछु भूलले।
सेतो पुरानो छिटको धोती लाएकी एक जनाले मेरो नगिच आएर भन्नुभो- “माथि ऊ त्यो कोठामा जानु होस्।”
जीवनमा पहिलो चोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो। ‘सुन्दरीजल’ र ‘शाकुन्तल महाकाव्य’ लेख्ने कविको साक्षात दर्शन।
भर्याङको हरेक खुड्किला पहाडझैं लागेपछि २-२ वटा गरेर म कोठामा उफ्रेर एक्कासि पुगें। देखें – कालो कम्बलले गुटुमुट भएर एउटा मैलो फोहोर आछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अडाएर उच्च स्वरमा केही एकाग्रचित्त भै पढिरहेछ। एक मन त लगत्तै फर्कुजस्तो लाग्यो सायद वहाँ त्यो महाकवि होइन होला भन्ठानेर। के छ अनुहारमा कालो फुस्रो मुख छ। कपालका रौं आफूखुशी दश दिशा दौडिरहेछन्। कम्बलबाट निस्केका हातमा झ्याप्प झ्याप्ती रौं कालो फुस्रो हात मसी-मसी लागेको। यस्तो मानिस पनि महाकवि। कोठामा चारैतिर हेरेँ। आँधीझैँ हुरी भरखरै त्यहाँ नाचेर गएझैँ हरेक दिशामा कागज छन्। सायदै कुनै किताब सद्दे होला। मसी नघोप्टिएको। सुकुलको कुना नराम्रो देखिन्थ्यो- एक कुनामा मात्र उज्यालो भएर होला। कुनै समयमा पोतेको चुन झरिसकेको थियो र आज त्यही भित्तामा एकातिर श्रीकृष्ण, रवीन्द्रनाथ टैगोर अर्कोतिर अर्को कुनै दाढीवाल बुढो, यिनीहरूका चित्र पेन्सिलले लेखिएका छन्। यत्तिले नपुगेर फुटेको मकल चारैतिर झरेको खरानी। मेरो उपस्थितिको ज्ञान भए छ क्या त्यो संगीत अकस्मात् बन्द गरेर वहाँ मतिर हेरिरहनुभएको।
“देवकोटाजी ?” प्रश्नसूचक दृष्टिले हेर्दै मैले सोधेँ।
“जी आउनुहोस्।” वहाँले जवाफ दिनुभयो। शायद होइन भनेको भए म ज्यादा आनन्दित हुने थिएँ होला। त्यस्तो मानिसलाई महाकवि होलान् भन्ने मैले नसोचेकोले पनि त्यसो हुनसक्छ। नगिच गएर बसें।
“तपाईंलाई चिन्दिनँ ?”
“यो पत्रले चिनाउने छ” भनेर मैले आफ्नो मामाको पत्र वहाँको हातमा राखिदिएँ। कमसेकम तीनचोटी माथिदेखि तलसम्म हेरेर अनि फर्केर मतिर हेरी वहाँले भन्नुभयो- “उसो भए वहाँको तपाईं आफ्नै भानिज ?”
“जी”
पत्रमा थियो देवकोटाजीसँग एउटा अनुरोध। वहाँका लघु कथासङ्ग्रह प्रकाशन गर्ने साधन एवं अनुमति। श्री ईश्वर बरालको सम्पादनमा।
“मैले लेखेका कथाहरू त कता छन् कता”, सम्झे झै गरेर वहाँले फेरि भन्नुभयो। “खस्याङ खुसुङ लेख्थें। बसी बियाँलो गरेर त्यो पनि काशीबाट आएदेखि त स्थिति नै मिलेको छैन। देखि हाल्नु भो होला र ?” चारैतिर कोठामा औंला नचाई दिनुभयो। यो नग्न सत्यताको सहाराले मेरो मनको मैलोपन जम्मै पखालिदियो।
“खोजखाज गरेर” …. म भन्दै थिएँ। वहाँ हाँस्नुभयो।
“कहाँ ? … प्रकाशकी आमाले लेखेर पैसा आउने होइन भनी अस्ति झन्डै फालिदिएकी। बल्ल-बल्ल केही उम्काएर छोराले पो राखेको छ। कागज, कलम, मसी जम्मैमा कफ्र्यू पो लागेको छ। मलाई खिन्नताका साथ हाँस्नै पर्यो किनभने वहाँ आफै हाँसिरहनुभएको थियो।
मेरो आँखामा खपी नसक्नु आँसु भरिए। मैले सोचें- नेपालका महाकविको आज यो दशा छ। एउटा बर्नाडशा छन्, जसका प्रत्येक शब्दको मोल एक रुपियाँ छ र एउटा देवकोटा छन जसका… साँच्ची, नेपालीहरू मानिस चिन्दैनन्। नेपाली कलाको पूजा गर्न जान्दैनन्।
“बनारस जाने ?”, सोध्नुभयो।
“मानिस जानेछन् ४-५ दिनमा। उनकै हात पठाउन पाए असल हुने थियो।”
“ठीक भन्नुभयो।”
“एउटा चिट्ठी त आजै पठाउँदै छु। तपाईंको पनि केही …।”
“हुन्छ… हुन्छ…”, स्वीकार गरेर वहाँले डसना पल्टाउनुभयो। फुलमार चुरोटका ठुटा कमसेकम २७ जति होलान् डसनाको कापमा। एउटा झिकेर मतिर हेर्नुभयो। खल्तीबाट सिंगो चुरोट एवं सलाई झिकेर मैले वहाँलाई दिएँ। असल चुरोटलाई ओल्टाई पल्टाई हेरिदिँदा मलाई त्यस बखत आफै माथि लाज लाग्यो, किन, किन ! चुरोट सल्काएर वहाँले आफ्ना अनुसन्धान जारी राख्नुभयो। अन्त्यमा निराश भएर मतिर हेरी भन्नुभयो –
“तपाईंसँग कलम छ ?”
बानीले होला दाहिने हात भट्ट माथिल्लो खल्तीमा पुगिहाल्यो। तर अपसोचसाथ मैले भनेँ– “छैन, घरमा छुटेछ”। थाहा छैन कुन कनाबाट कान्छी औंला जत्रो सिसाकलम झिकेर वहाँले अगाडि राख्नुभयो। त्यो पनि नतिखारेको।
“चक्कु छ ?”
“आजकल ठिटा कहाँ खल्तीमा चक्कु हालेर हिँड्छन् र !”
ओढ्ने छोडेर वहाँ उठ्नुभयो। अनि देखें- महाकविको सच्चा रूप। जीउमा सिर्फ एउटा धोती छ। न भोटो, न गन्जी, न कमीज।
केही नपाएर होला वहाँ त्यसै फर्कनुभयो। अनि ईश्वरीय औजारले कलम ताछ्न लाग्न् भयो दाँत एवं नङ्ग्राले, बीच-बीचमा कुरा हुँदै थियो। वहाँ आफै बोलिरहनुभएको थियो। मेरो त घाँटिभित्र आगो जलिरहेको थियो।
“नरेन्द्रजीकहाँ बनासरमा बडो आनन्दमा थिएँ। तर, के जन्जालमा आउनु भन्न लेखेको रहेछ।”
दाँतको एक झोंकले सिसाकलम भाँचियो। लेख्ने एउटै उपाय थियो त्यो पनि…। आज चिठ्ठी नलेखिने होला भनेर म निराश भएँ। तर कविजीले सिसाकलापको काठ झिकेर आखिर एक ईन्ची मात्र लामो सिसाले मात्र लेख्न लाग्नुभो। औंलामा हराउने त्यत्रो स्यानो सिसाले पनि लेख्न सम्भव हुँदो रहेछ भनेर मैले जीवनमा पहिलो चोटि थाहा पाएँ।
मेरो आँखामा खपी नसक्नु आँसु भरिए। मैले सोचें- नेपालका महाकविको आज यो दशा छ। एउटा बर्नाडशा छन्, जसका प्रत्येक शब्दको मोल एक रुपियाँ छ र एउटा देवकोटा छन् जसका… साँच्ची, नेपालीहरू मानिस चिन्दैनन्। नेपाली कलाको पूजा गर्न जान्दैनन्। आफ्नो गौरव पनि बुझ्दैनन्। थाहा छैन मेरो मनले कत्ति सराप्यो। कत्तिको दुःख पायो। आफ्नो सफा लुगासँग मलाई आफसेआफ घृणा लाग्यो।
त्यो चिट्ठी त आज मसँग छैन। तर, त्यो बहुमूल्य चिट्ठीको केही वाक्य म अहिले पनि झलझल सम्झन्छु। “महाशय, मलाई अहिल्यै माघ-पुस लागेको छ। माघ झरीझैं मेरो जीवन नै कठ्याङ्ग्रीरहेछ। मन मगजमा तुषारो जमेझै दुःख जमेका छन्। आज मैले लेखेका साहित्य के साहित्य होलान् र ?”
ऐतिहासिक यो पत्र, जसको मूल्य सन् २२५२ मा १०,०००।- भन्दा कम होइन, लिएर मनमनै कठाङ्ग्रीदै म पनि बाहिर निस्केँ।
मेरो जीवनमा देवकोटाजीसितको यो पहिलो भेट हो। ४-५ दिनपछि एकचोटी आउनु भनेकोले फेरि पुगें। स्याना बच्चाबच्ची पिठ्यूँमा घोडा चढिरहेका र हाम्रा कविजी एक नयाँ कविताको सृजना गरिहनुभएको। मलाई यो देखेर आश्चर्य लाग्यो।
मानिस भन्दछन्, कविता लेख्न एकदम एकान्त चाहिन्छ कुनै किसिमको खलबल कोलाहल हुनु हुँदैन तर, हाम्रा गुरुजीको त्यस्तो परिस्थितिमा समेत लेख्ने विलक्षणता देखेर आश्चर्य लाग्यो।
“आहा ! कहानी लेख्न भुसुक्क बिर्सेछु।” मनमा ठूलो आशा लिएर आएको थिएँ। एकदम निराश भएँ। गुरुजी भन्दै हुनुहुन्थ्यो, “यो एउटा कवितामा खस्याङ खुसुङ अलमलिएको। सुन्नु हुन्छ ?”
“हवस्।”
कविता थियो अङ्ग्रेजीमा (Prometheus Unbound) ‘प्रोमीथिस अन्बाउण्ड’। मैले खोक्रो रवाफ नराखेर भनेका खण्डमा यो भन्न अत्युक्ति हैन कि देवकोटाजीबाहेक अरू कसैको मुखबाट त्यो कविता सुनेको भए, म आफैले पनि पढेको भए, मैले बुझ्ने थिइनँ। पृथ्वी आएका प्रथम पुरुषको स्वतन्त्रता लिएर रचिएको थियो कविता। आठ-आठ पङ्क्तिमै। त्यसमा अनौठो प्रयोग जुन गुरुजीले गर्नुभएको थियो, त्यो हो नेपालीकरण, त्यो पनि आठै पङक्तिमा। फेरि यो पनि हैन कि एक भर्सलाई लिएर त्यसको सिधा अनुवाद। अङ्ग्रेजीमा आठ लाइन, नेपाली आठ लाइन । अङग्रेजीको जुनसुकैं लाइनसँग नेपालीको उही नम्बरको लाइन मिलाउनु उही रूपमा । फेरि कतै नमीठो भए पनि एउटा कुरा।… यदि मैले यहाँ यो मन पत्याउँदैन होला, तर त्यो कविता प्रकाशित भएको खण्डमा गुरुजीबाहेक राम्ररी पढाउन सक्ने र त्यसको पूर्ण मीमांसा दिन सक्ने मानिस बिरलै होलान् कमसेकम यो २५ वर्ष यता। यो कविता अहिलेको नेपाललाई होइन, २५-५० वर्ष पछिको नेपाललाई हो।
“तपाईंलाई कस्तो लाग्यो ?”, गुरुजीले सोध्नुभयो।
“खै, गुरुजी, मैले पत्ता पाउन सकिनँ, मलाई कस्तो लाग्यो।” लाग्छ, हामीलाई त्यसबेला, जब हामी राम्ररी तहमा पुग्छौँ। मलाई कविता त अनौठो लाग्यो, तर त्योभन्दा अर्को कुरा अनौठो लाग्यो, भनुँ ?”
“आम्मै भन्नुस् न।”
“तपाईं असमयमा जन्मनुभएछ पो भन्ने लाग्यो। तपाईं जस्ता मानिसको लागि नेपाल बनिसकेको छैन।”
गुरुजी हाँस्न थाल्नुभयो।
“तपाईंले त मलाई मानिसै ठान्नु भएन। मेरो भनाइ कवितामा पो छ।” म पनि हाँसे। अनि सम्झेँ – भोलि मानिस बनारस जाँदैछ। भनें – “भोलि पनि कहानी पठाउन पाइएन भने …।” बोल्दा बोल्दै रोकिएँ के भनुँ भनेर।
“कति बज्यो हेर्नुस त ?”
“छ बज्न लाग्यो।”
“भोलि कुन बेला मानिस जाँदैछ ?”
“बिहान नौ बजेतिर।”
“तपाईंलाई कतिवटा कहानी चाहिने ?”
“विभिन्न किसिमका १०-१२ वटा र १२ भयो भने छानेर १० वटा सङ्कलन गर्न सकिन्थ्यो।”
“१२ कहानी… १२ घण्टा…”, गुरुजी सोच्न लाग्नुभयो। नबुझेर म आश्चर्य मानिरहेको थिएँ। एकैछिन पछि भन्नुभयो।
“यसो गरूँ, आज तपाईं यहीँ बस्नोस्। म बोल्दै जान्छु, तपाईं लेख्दै जानोस। बिहान ६ बजेसम्म कसो नसकिएला। हुन्न ? थाक्नु त हुन्न हगि ? भोलि बिहान कहानी जम्मै पुयाई दिनेछु।”
यति सजिलोसँग यो कुरा भनिएको थियो कि मैले पहिले यसको माने नै बझ्न सकिनँ। जब बुझेँ अकमकाएँ। रातभरि एक थलामा बसेर लेख्नु रे… न खान न पिउनु रे … र फेरि घरमा भाइहरू बिरामी।
“यसो त कसरी …।”
“म कहाँ बस्न तपाईंलाई केही आपत्ति छ ? यहीं खानु होला नमीठो भए पनि।”
“खान त केही छैन, तर रातभरि … घरमा बिरामी छन्।”
“उसो भए जुन बेलासम्म सक्नुहुन्छ लेखुँ अनि सकिएको कहानी चाहिँ लैजानु होला।”
इन्कार गर्न सकिनँ, थालें लेख्न ६ देखि १० बजेसम्म। ४ घण्टामा ५ कहानी लेखियो। महाकविको शक्तिको परिचय मैले त्यस बेला थाहा पाएँ। हामीलाई जीवनका आफ्ना घटनाहरू सुनाउँदा बीच-बीचमा अड्न पर्छ, वहाँ भने कल्पनाको आधारमा कसरी नयाँ प्लट, नयाँ शब्द एकदमै नदोहर्याई काटकुट नगरी, नअकमकाई भन्दै जानु हुन्छ कुनै किताब पढे। शायद त्यसभन्दा पनि छिटो मैले शर्टहायन्ड जानेको भए, या रेकर्डिङ गर्ने मसीन भएको भए, मलाई आशा छ र विश्वास पनि, त्यस ४-५ घण्टाको अवधिमा १२ वटै कहानी लिएर आउने थिएँ।
त्यस बखतमा बटुलिएका – म यहाँ जानी-जानी बलिएको भन्ने शब्द भनिरहेछु किनकि भन्डारमा चामल बट्लेझैं लागेको थियो मलाई। त्यस बेलाका कहानीहरूमा ‘मधुराबोडसी’ र ‘चिनियाँ प्रेमी’ उल्लेखनीय छन्।
फर्कने बेलामा कागजको एक मुठो अगाडि राखेर गुरुजीले भन्नुभयो – “मकहाँ हराउने छन्। जो पनि आउँछ, लैजान्छ, हराइ दिन्छ। यी अलिकति गद्य र कविता सङ्ग्रह छन्, आफूकहाँ सुरक्षित राखिदिनोस्। तपाईंकाँ भो भने हराउने छैनन्।”
घर आएर पोको फुकाएर हेरें, पढ्दै गएँ – निद्रा मारेर ! तिनमा उल्लेखनीय छन् – “On Smoking.” “Existence of God,” र “Indian summer Cloud” र कवितामा “Lord Krishna” र “Good”, इत्यादि।
असलमा, साहित्य र राजनीतिको उठान एउटै हो- जब मानिसलाई वर्तमान परिस्थितिबाट वाक्क लाग्छ, र ऊ क्रान्ति, एउटा नयाँपन, एउटा चेन्ज चाहन्छ या यसो भनौं आफ्ना वरिपरिको फोहोरबाट ऊ अघाउँछ र सफाई चाहन्छ, त्यस बेला उसको मनमा त्यो प्यास आउँछ – कोही कुचो लिएर आफैँ बढार्न थाल्दछन्।
ती शायद अहिले प्रकाशित भएका छैनन्, तर जब प्रकाशित हुने छन् अनि हामीले थाहा पाउने छौं – अङ्ग्रेजी भाषामा पनि देवकोटाजीको कति प्रवाह छ।
देवकोटाजीको प्रभाव परेर होला म वहाँका कृतिहरू खोजी-खोजी पढ्न थालेँ। तिनैताक ‘मेरो कोठा’ भन्ने कविता छापियो। मैले त्यस धारा प्रवाहको पहिलो भेटमा के लेखें हुँला, त्यति राम्रोसँग गुरुजीले आफ्नो कोठाको र साथै त्यस कोठामा बस्नेहरूको कति सजीव चित्रण गर्नुभएको छ। कविताकै बोलीमा-
(१) छ-पन्ध्र सात
कोठरी यौटा दक्षिण मैतीदेवी फाँट
सेतो कमेरो भित्तामा, लिउनहरू नाङ्गो किरमिर
उत्तरमा टालेको लिउने कोठाको ढोका, चीर फाहदार
तिनोटा सामुन्ने झ्याल
एउटा दराज, खापा बिनाको
राता बार भएका पहेंला काठ भएका ढोका, झ्यालका खापा
बीच भित्तामा बुट्टे बेलीको फूल, रातो धर्को
सेता बलिया दलीन, सङ्ख्या एक्काइस
अगाडि पूर्वमा सेता कठबार
बीचमा बिजुलीका प्वाल,
शक्तिहीन बिजुलीको तार…झिंगामल झिंगामल
दराज झ्यालमा खजमज खोसेल्टा
किताबहरू छरबर बाङ्गा टिङ्ग,
रातो माटो गोबर एक बित्ता उठ्दछ कालो धर्कै सतरन्जा उपर मसी टाटे…
एक छेउमा ब्ल्याकबोर्ड सामुन्ने हरियो फ्रेममा किसिम
चुरोट ठुटा, फुलमार्का राता बट्टा धुजा
आधी फुटेको मकल नगीच, खरानी झार भुवालु-
बने बटुला चकटी दुई
टालिएको कालो बेपालिस खटियानेर,
पश्चिममा डसना, मैलो खरानीदार तन्ना भनि
भेडा गलबन्द, कलम हात म
स्वान इन्क आधा घोपट्याई, डल्ले कलमले ठुटे लेख्छु
उस्को बयान…
(२) यो सब मेरो आर्थिक, सामाजिक प्रबन्ध
यो आदर्श जीवनको सपना
यो कवि कुञ्ज
मेरो असीम शक्तिको अहं ब्रह्माको हुङ्कार
मेरो संघर्ष, समरका परिणाम
यो भविष्यलाई औताली…
यो मेरो विश्व सुधार…
यो मेरो कलाको चेत,
जीवन कमाई, व्यापार…
(३) पीली पुड्की, कोरानामी
जीवन सङ्गिनी मकले नानी
जोसँग कबुल गरीकन जीवन
देख्यौँ साने स्वर्गको सपना
लुगु-लुगु काँपी हेर्छन् विपना
सपनाको खन्हरउपर,
यसो झाँक्री,
बोक्री, चोक्री,
निर्मोहिनिको मलो बुढापातिर परिणीत दुःखले झैं ठोकी
फुटेको मकलतिर अलि कोक्री
बराबर चिम्लिन्छिन् तिनी एउटा नजर-
(४) मानौं एउटी बट्टाई
व्याधाको करमा निराश-
धूर्त मान्छे! के तेरो सुधार यही?
सुख्खा ओठ, सारङ्गी,
हीँ, हीँ उदास?
स्थानभावले मैले यो कविता जम्मै दिन सकिनँ, अपशोच छ, तर यदि गुरुजीलाई अझ सफासँग बुझ्न छ भने यो जम्मै पढ्नै पर्छ। त्यही कविताको एकप्रति ‘शारदा’का साथ आफ्ना पनि एक दुई गद्य काव्य लिएर म गुरुजीकहाँ पुगें। बडो भारी छलफल भो मेरो एउटा कवितामाथि। त्यसको शीर्षक थियो – ‘म पूजा गर्न जान्दिनँ – जाने पनि गर्दिनँ – सकेपनि गर्दिन।’ त्यसमा मैले यो देखाएको थिएँ कि आत्माको मुक्तिलाई मूर्ति पूजाको पथ एउटा रुढीबादी स्वार्थको सामाजिक ढोंग मात्र हो। ईश्वर जब सर्वव्यापी छन् भने उनलाई हृयले चाहेको रूप किन नगर्ने ? गुरुजीको भनाइ थियो- आत्मालाई बलियो पार्न मूर्ति पूजा गर्नु स्वाभाविक नै हो किनभने मुक्तिपथमा मानिसको यो पहिलो कदम हो। वहाँले दृष्टान्त दिँदै भन्नुभयो- “केटाकेटीले कुनै भाषा पढ्दा पहिले क, ख, ग, वा ए, बी, सी, पढ्नै पर्छ। त्यो अक्षरलाई बुझिसकेपछि क्रमशः ऊ आफ्नो विचार फैलाउँछ स्वतन्त्ररूपले। अनि पो पछि ऊ सोच्न सक्ने हुन्छ। अब त्यही केटाकेटीलाई अक्षर नचिनाएर हामीले स्वतन्त्र सोचोस् भनि छाडिदियौँ भने उसको सोच्ने शक्ति नै बढ्ने छैन। …”
सम्झाउँदै गएर अन्त्य वहाँले भन्नुभयो – “ईश्वरको स्यानो माटोको मूर्ति ईश्वर नै होइन, जसरी कि भाषाको स्यानो क पनि सम्पर्ण भाषा होइन: तर त्यही मूर्तिले एकदिन पुज्नेलाई ईश्वरको विराटरूपको दर्शन दिन्छ, जसरी कि भाषाले साहित्यको ! भाषा जानिसकेपछि तपाईं जसरी चाहे सोच्नुस्… ईश्वरलाई जसरी चाहे पूजा गर्नुहोस् … केही हानि छैन।”
त्यस बेला मैले जानें गुरुजी कुन किसिमको आस्तिक हुनहुँदो रहेछ। मैले यहाँ समय र स्थानाभावले जम्मै छलफल त विस्तारपूर्वक दिन सकिनँ, यसको खेद छ। कुनै दिन श्री लक्ष्मीप्रसाद देवकोटाको जीवनगाथा लेख्ने अनुकूल मिल्यो भने छुटाउने छैन। तर मलाई यो भन्न लाज छैन कि म गरुजीको व्यक्तित्वले प्रभावित भएर फर्कें । फर्कने बेलामा मैले गुरुजीलाई भनें – “मलाई पनि आफ्ना बाटोमा चेला बनाएर डोर्याउनु होस् न गुरुजी !”
वहाँले हाँसेर भन्नुभयो – “तपाईंले आफ्नो बाटो पैलाइ सक्नुभएको छ। मलाइ भेट्न किन फेरि फर्कने मेहनत गर्नहुन्छ?” मैले कर गर्दा वहाँले भन्नुभयो – “हेर्नुस् नाँई भनेको कारण यो हो कि तपाईंको आफ्नो शैली, आफ्नो विचार, आफ्नो प्रवाह बनिसकेको छ। त्यसलाई बिगारेर अर्को शैली, अर्को विचार र प्रवाह गर्दा समय र शक्तिको फजुलमा खर्च हुन्छ। फेरि शङ्कर, शङ्कर नै हो र देवकोटा – देवकोटै। दुईटाको आफ्नो आफ्नो महत्त्व रहन दिनोस्। समयको फजुल खर्च नगर्नुहोस्।” र वहाँ हाँसिदिनुभयो। म पनि हाँसे, करै लाग्यो।
अनि यो चाहिँ हालसालको कुरा सल्लाहकार समितिमा गुरुजीको नाम मनोनित भैसकेको थियो। र, वहाँ राजनीतिमा पौडिरहनुभएको थियो। एक दिन मौका पारेर मैले सोधे पनि- “होइन गुरुजी ! यो राजनीतिमा तपाईं कसरी आउनु भयो?”
गुरुजीले आफ्नो जीवनगाथा सुनाउँदै भन्नुभयो- “राणाशाहीको विरोधमा मेरो मन पहिलेदेखि लागिरहन्थ्यो।” र, दृष्टान्त दिँदै वहाँले भन्नुभयो – “सन् १९३० मा बी. ए. फाइनल जाँच दिएर घर फर्केको मात्र थिएँ केही साथीहरूले पब्लिक लाइब्रेरी (जनपुस्तकालय) खोल्ने विचार गरेर बनाएको कार्यक्रममा सही गराए। त्यसको करीब डेढ महिनापछि एक दिन भात खान लाग्दा त्यस बखतका प्रधानमन्त्री महाराज भीम सम्सेरको आठपहरिया आएर समातेर लाग्यो। र, राताराता आँखा गरेर महाराजाले हामीलाई ३-३ वर्षको जेल सुनाए। त्यस बखत मेरो ब्रह्ममा क्रोध जाग्यो तर केही गर्न सकिनँ। आखिर कसो-कसो कुरा बहेर १०० रुपियाँ जरीवाना र १२ वर्ष जनहितको कुनै किसिमको काम नगर्ने कागज गरिदिएपछि हामीले छुटकारा पायौँ। हामीले त्यस बखत त्यही उपाय नै सर्वश्रेष्ठ ठहरायौँ। बी.एल. पास गरेर आएपछि मैले जब दिनको १२-१६ घण्टा टयूसन गर्न थालें अनि त्यस बखतमा आफ्ना विद्यार्थीलाई सम्झउन थालें कि नेपालमा प्रजातन्त्रको कति आवश्यकता छ। मेरो राजनैतिक जीवन त्यसवेलादेखि नै शुरु हुन्छ।”
मैले सोधे- “के राजनैतिक जीवनले गर्दा, मेरो भनाई अहिलेको जस्तो सक्रिय भाग लिएको खण्डमा, तपाईंको साहित्य र जीवनलाई हानि हुँदैन ?”
वहाँले भन्नुभयो- “राजनीति केमा छैन ? के हामीले सधैं खाइरहने दाल भातमा अर्कै रूपमा राजनीति छैन र, राजनीति साहित्यमा पनि त हुन्छ। असलमा, साहित्य र राजनीतिको उठान एउटै हो- जब मानिसलाई वर्तमान परिस्थितिबाट वाक्क लाग्छ, र ऊ क्रान्ति, एउटा नयाँपन, एउटा चेन्ज चाहन्छ या यसो भनौं आफ्ना वरिपरिको फोहोरबाट ऊ अघाउँछ र सफाई चाहन्छ, त्यस बेला उसको मनमा त्यो प्यास आउँछ – कोही कुचो लिएर आफैँ बढार्न थाल्दछन्। बाटो देखाउने साहित्यिक र काम गर्ने राजनीतिक कार्यकर्ता। तर ध्येय दईटाको एउटै इच्छा दुईटैको एउटै हो !”
मैले सोधेँ- “के दैनिक जीवनको स्तरबाट नउठेर साहित्यिक जब समाजमा साना साना कुरामा र दैनिक राजनीतिमा अल्मलिन्छ त के उस बेला अमर कृतिहरू संसारलाई दिन सक्दछ ? मेरो भनाई डे-टु-डे पोलिटिक्समा लागेको साहित्यिकले कसरी सत्यं शिवं सुन्दरममा लेख्न सक्ला। फेरि गुरुजी, त्यस बखत लेखकले जब एउटा स्यानो परिधिसम्म समाजलाई डोर्याउने विचार गरेर लेख्छ र केही गरी समाज त्यसको पछि लागेर त्यस ठाउँसम्म पुगिहाल्यो भने त्यसै क्षण त्यो साहित्य बासी हुन्छ। जस्तो … स्यानो स्केलमा लिएको उदाहरणको लागि म कनै पनि दैनिक खबर कागजको सम्पादकीय दर्शाउन सक्छु। तर शेक्सपियरले लेखेका चीजहरू यस्ता छन् कि जनसुकै समय, स्थान वा परिस्थितिमा पनि उही मौलिकता उही मिठास आउँछ। बखतको राजनीतिलाई लिएर लेखेको भए उनको त्यो नाम अन्तरदेशी इज्जत शायद हुने थिएन। तपाईंको के राय ?”
“तपाईंको भनाइ कुनै हदसम्म ठीक हो। तर मेरो भनाइ पनि तपाईंले राम्ररी बुझ्नुभएन। चलिरहेको सामाजिक जीवनलाई लिएर त्यसको सच्चा चित्रण गर्न गुण अवगुण दुवैको आधारमा सत्यं शिवं सुन्दरमका साथ कुनै अमरकृति दिन सकिन्छ। शेक्सपियरमा पनि त्यस बेलाको Elizabethan Period को छाप छ नि, उनले त्यस बेलाको समयलाई बहिस्कार गर्न सकेका छैनन्।”
“उसो भए आजकल Propagative ideals लिएर लेखिएका लेख, कहानी, उपन्यासको बारेमा तपाईंको के राय छ ? जस्तो उदाहरणका निम्ति अमेरीकन साहित्य वा रुसी साहित्य।”
गुरुजीले भन्नभयो – “त्यो कमरसिएल बेसिसमा गयो, त्यसमा उनीहरूले सिर्फ प्रोपागन्डा दिन खोजका छन्।”
मैले अर्को प्रश्न गरें – “तपाईंलाई चलिरहेको राजनैतिक विचारधारामा कुनचाहिँ प्रणाली वेश लाग्यो ?”
वहाँ हाँस्नु भयो।
कुरा पल्टाउँदै मैले सोधेँ – “नेपालीमा विशालक्षेत्र छँदाछँदै गुरुजीले किन अङ्ग्रेजीमा लेख्नु भएको। र, लेखेर पनि अहिलेसम्म किन छपाउनु भएन।”
वहाँले जवाफ दिनुभयो – “लेख्ने दई कारण छन्। एक त मैले आत्मसन्तोषका निम्ति लेखें। म हेर्न चाहन्थे कि त्यतिका वर्ष अङ्ग्रेजी प १७ अङ्ग्रेजीमा मेरो कति दखल छ, र दोस्रो धेरै वर्षसम्म अरूलाई अङग्रेजीमा बोलीको मिठास र शब्दको भण्डारसँग मलाई एक किसिमको मोह पैदा भएको थियो।”
वहाँले हाँस्दै भन्नुभयो – “तपाईंसँग के ढाँट्नु तिनताक सयकडा पचहत्तर मलाई अङ्ग्रेजीको मोह थियो। त्यसको मतलब यो हैन कि नेपालीसंग मेरो प्रेम नै थिएन।”
मैले सोधेँ- “नछपाइकन र स्वस्थ समालोचना नभइकन तपाईंले कसरी आत्मसन्तोष गर्नुभयो?”
वहाँले जवाफ दिनुभयो – “आत्मसन्तोष गर्न अर्काको समालोचना चाहिन्छ र ?” यस प्रश्नको उत्तरले म हाँसिदिएँ।
मैले सोधेँ – “तपाईंले नाटक, कहानी, निबन्ध र कविता सबै लेख्नुभएको छ, तपाईंलाई कुनचाँहि मनपर्छ।”
वहाँले जवाफ दिनुभयो- “शायद सबैभन्दा बढी कविता। किनभने मेरो अरू लेखनशैलीमा पनि कविताको छाप परेको देखिन्छ। म कवित्वमय गद्य बाहेक शुद्ध गद्य लेख्न सक्दिनँ।” र वहाँले हाँसेर एउटा स्यानो अर्को शब्द पनि जोडिदिनु भयो – ‘समालोचक’ तेसै भन्छन्।”
“तपाईंलाई आफ्नो कृतिमा सबैभन्दा प्यारो कुनचाहिँ छ ?”
“खै मैले कति लेखें, त्यो त मलाई थाहा छैन किनकि सयकडा पचहत्तर कृतिहरू हराए र पच्चीस मलाई राम्रो सम्झना छैन। तर पनि मलाई यस्तो लाग्छ मैले चाहेको जस्तो अझै लेख्न सकेको छैन।”
“किन ?”
“शायद थिचिएर शब्दहरूको परिधि परेर होला।”
“एउटा कुरा, आजकल तपाईंका लेखहरू पहिले जति प्रभावशाली छैनन, के तपाईंको जोश यो स्वतन्त्रताले झन कम भयो ?”
वहाँले हाँसेर भन्नुभयो – “मेरो पनि अहिले अन्तरीम समय छ। एउटा परिस्थितिबाट एक्कासी अर्को परिस्थितिमा पुग्दा मैले आफूलाई आफूले नै राम्ररी सम्हालिसकेको छैन। नेपाली राजनीति मैं मेरो साहित्य पनि धमिलिएको छ र यो सङ्लो नहन्जेल शायद म लेख्न पनि सक्दिनँ हुँला।”
“तपाईंको झुकाव कतापट्टि हुनेछ, त्यसको अनुमान गर्न सक्नु हुन्छ ?”
“अहँ, तर जता झुके पनि त्यस बेला शायद केही स्वच्छन्दताले लेख्न सकुँला।”
“तपाईंलाई कुनचाहिँ कविले मूल प्रेरणा दियो ?”
“नेपालीमा पूज्य पिता र लेखनाथजी, अङ्ग्रेजीमा वर्डसवर्थ र शेली।”
र, वहाँले हाँसेर भन्नभयो – “पिताजी संस्कृतमा र कहिलेकाहीँ नेपालीमा काव्य रचना गर्नुहुन्थ्यो र मैले जीवनमा पहिलो चोटि संस्कृतमा काव्य रचना गरे त्यो पनि गीताको र पिताजीले यस्तो अशुद्ध संस्कृत पनि लेख्छस् भनी हप्काउनु भो र मैले केही वर्षको विश्रामपछि पहिलो कविता १६ वर्षको उमेरमा रचेको थिएँ।”
अब एउटै अन्तिम प्रश्न – “तपाईंलाई के लेख्ने इच्छा छ?”
वहाँले भन्नुभयो – “महाकाव्य। एउटा यस्तो काव्य, जसको वर्णनशैली अभूतपूर्व र उक्ति बिलकुलै नयाँ हुन्। जस्तै एउटी रामी आइमाईको अनुहारलाई वर्णन गर्नुपर्यो भने चलिरहेको उक्ति छ पूर्णचन्द्र जस्ती। यो उक्ति सुन्दा-सुन्दा अघाइसकियो। राजनीतिमा क्रान्ति आयो साहित्यमा पनि क्रान्ति ल्याउनु परेको छ।”
मैले ठट्टा गरेर भने – “यो तपाईंको पनि त क्रान्ति अगाडिको शान्ति जस्तो भयो। अहिले तपाई विस्फोटक पदार्थ जम्मा गर्दै हुनुहुन्छ ?”
र, मेरो भनाइको व्यङ्ग्यमा पनि वहाँले गुलाबी रङ्ग छरेर भन्नुभयो – “जसो भन्नोस्। यस्तो विस्फोट तपाईं पनि अहिले खर्च नगरी हाल्नोस्।”
…र… मैले देखेको र बुझेको देवकोटाजीको खाका यही हो। देवकोटाजीको त्यस महाकाव्यको जन्मको प्रतीक्षा अरू साहित्यका पाठकले झै म पनि निकै चाख लिएर गरिहेछु।
* २०६६ सालमा पैरवी बुक हाउसले प्रकाशन गरेको पुस्तकमा २०२७ साल लेखिएको छ। महाकवि देवकोटाको २०१६ सालमै निधन भएइसकेकाले २०२७ हुनु असम्भव छ। त्यो टंकण त्रुटि हुन सक्छ। निबन्धले संकेत गरेको समय हेर्दा त्यो २००७ साल हुनुपर्छ।
Facebook Comment
Comment