प्रधानमन्त्री देउवाको स्कटल्याण्ड भ्रमण, एमसीसीकै चर्चा

प्रधानमन्त्री देउवाको स्कटल्याण्ड भ्रमण, एमसीसीकै चर्चा

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन कोप २६ मा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किका छन्। सम्मेलनको वर्ल्ड लिडर समिटलाई १६ कात्तिकमा सम्बोधन गरेर प्रधानमन्त्री देउवा स्वदेश फर्किका हुन्।

स्कटल्याण्डको ग्लास्गोमा आयोजित कार्यक्रममा सहभागी हुन १२ कात्तिकमा नेपालको २० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका थिए। स्कटल्याण्डको ग्लास्गो पुगेका प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षेलगायत विश्वका अन्य नेतासँग दुईपक्षीय भेटघाट गरेका थिए। भेटका क्रममा दुईपक्षीय सम्बन्ध विस्तार र सुधारका विषयमा छलफल भएको जनाइएको छ।

वर्ल्ड लिडर समिटरलाई सम्बोधन गरेका प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रका देशलाई जलवायु परिवर्तनले पारेको असरका विषयमा ध्यानाकर्षण गरे। बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “हिमाली क्षेत्रका देशलाई जलवायु परिवर्तनले पारेको प्रभावको विषयलाई सम्बोधन नगरे त्यसले सम्पूर्ण विश्वलाई नै असर पुर्याउन सक्ने प्रस्सँटग विश्व नेतामाझ राखेको छु।”

सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जनलाई नेपालले सन् २०४५ सम्म शून्य प्रतिशतमा झार्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गरेका छन्। विश्वमा बढी कार्बन उत्सर्जन गर्ने देश चीन र भारतले कार्बन उत्सर्जनलाई सन् २०६० र २०७० सम्म शून्य प्रतिशतमा झार्ने प्रतिबद्धता जाहेर गर्दा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ मा नै शून्य प्रतिशतमा झार्ने प्रतिबद्धता गरेका हुन्।

बिहीबार पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले ‘नेपालले गरेको प्रतिबद्धता हासिल हुनसक्छ’ भन्ने जवाफ दिएका छन्।

जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शून्य प्रतिशतमा नझारे त्यसले विश्वमा ठूलो समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्। चीन र भारतले तोकिएको समयमा कार्बन उत्सर्जनलाई शून्य प्रतिशतमा झार्न नसकिने बताएका छन् भने नेपालले तोकिएको समयभन्दा पाँच वर्षअघि नै सम्बोधन गर्ने बताएको छ।

सन् २०१५ को जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको पुनरवलोकन बैठकका रुपमा पनि यो वर्षको कोप सम्मेलनलाई लिन सकिन्छ। सन् २०१५ मा देशहरूले गरेको प्रतिबद्धतालाई ६ वर्षपछि पुनरवलोकन गर्ने तयारीमाझ यो वर्षको कोप सम्मेलन भएको थियो।

पेरिस सम्झैतामा विश्वभरका देशले सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शून्य प्रतिशतमा झार्ने वाचा गरेका थिए। नेपालका प्रधानमन्त्री भने तोकिएको मितिभन्दा पाँच वर्षअघि नै सम्झौताको पालना गर्ने बताएका हुन्।

स्कटल्याण्ड भ्रमणका क्रममा अमेरिकाका राष्ट्रपतिसँगको भेटवार्तामा दुईपक्षीय सम्बन्ध विस्तारको कुरा भएको देउवाले बताए। भने, “नेपाली टोपी लगाएर गएकाले बाइडेनले सहजै पहिचान गरे।”

भ्रमणकै क्रममा भएको साइडलाइन बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका प्रधानमन्त्री देउवालाई मोदीले पनि भारत भ्रमणको निम्ता दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीले देउवालाई भारत भ्रमणको निमन्त्रणा दिए पनि देउवाभन्दा पहिला मोदी नेपाल भ्रमणमा आउने तयारी शुरु भएको चर्चा पनि भएको छ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधनसमेत गरेका थिए।

यस्तै श्रीलंकाका राष्ट्रपति राजापाक्षेसँगको शिष्टचार भेटवार्तामा श्रीलंकाका राष्ट्रपति राजापाक्षेले नेपालको लुम्बिनीमा ३० शय्याको अस्पताल बनाउने बताएका छन्। भने, बेलायतका रक्षामन्त्रीले बेलायती सेनामा कार्यरत नेपाली गोर्खा समुदायसँग यसअघि भएको सम्झौतालाई पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बेलायती सेनामा कार्य गरेका पूर्वगोर्खा सैनिकले बेलायती नागरिकसरह नै आफूहरूले पनि पेन्सन सुविधा प्राप्त गर्नुपर्ने माग राख्दै केही समयअघि आन्दोलन नै गरेका थिए। सम्झौतामा आन्दोलन सकिए पनि सम्झौता भने कार्यान्वयन तहमा पुगेको छैन।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सहभागी हुन स्कटल्याण्ड पुगेका प्रधानमन्त्री देउवासँग अमेरिकी सहयोग परियोजना (एमसीसी) की नायब प्रमुख कार्यकारी अधिकृत एलेक्सिया लतोर्तुले भेटवार्ता गरिन्।

१७ कात्तिकमा भएको भेटवार्तालाई शिष्टचार भनिए पनि एमसीसी नायक प्रमुख कार्यकारी अधिकृत एजेक्सियाले प्रधानमन्त्री देउवालाई भेट्नुको एक मात्रै उद्देश्य नेपालले एमसीसी कहिले अनुमोदन गर्छ भन्ने जिज्ञासा राख्नु थियो।

एजेक्सियासँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपालले एमसीसी छिट्टै पास गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्। सोही कुरालाई उनले बिहीबारको पत्रकार सम्मेलनमा पनि बताए।

“एमसीसी पास गर्ने विषयमा प्रचण्ड र मैले नै पत्र पठाएका छौं”

“संसद् किन स्थगित गरेको, एमसीसी कहिले पास हुन्छ भनेर एजेक्सियाले सोधेको प्रश्नमा मैले संसद स्थगन गर्नुको अर्कैै कारण छ भने,” पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले थप भने, “एमसीसी पास गर्ने विषयमा प्रचण्ड र मैले पत्र नै पठाएका छौँ।”

देउवाले एमसीसी परियोजना पास गर्न पत्र पठाइसकेको बताए। “एमसीसी नायब प्रमुखसँगको भेटमा उहाँले एमसीसी कहिले पास हुन्छ भनेर सोध्नुभयो,” प्रधानमन्त्री देउवाले भने, “यहाँको सत्ता साझेदार दलसँग कुरा भइरहेको र चाँडै पास हुने कुरा बताए।”

यसअघि सेप्टेम्बरमा नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातेमा सुमारसँग पनि प्रधानमन्त्री देउवाले एमसीसी छिट्टै अनुमोदन हुने प्रतिक्रिया दिएका थिए। वाशिङ्टनस्थित एमसीसी मुख्यालयले प्रधानमन्त्री देउवा स्कटल्याण्डमा नै हुँदा गत बिहीबार एक विज्ञप्ति प्रकशित गर्दै नेपालको संसदमा विचारधीन अवस्थामा रहेको एमसीसी सम्झौता अनुमोदन गर्न दबाब दिएको थियो।

नेपालले सम्झौता अनुमोदन नगरेको खण्डमा ५० करोड अमेरिकी डलर अनुदान सहायता गुमाउन सक्ने भन्दै विज्ञप्तिमा चेतावनी दिइएको छ।

पछिल्लो समय नेपालमा एमसीसी अनुमोदन गर्ने अथवा नगर्ने भन्ने विषयले नेपालीको राजनीतिलाई नै असर पारेको चर्चाबीच प्रधानमन्त्री देउवाको स्कटल्याण्ड भ्रमणमा पनि यो विषयले प्राथमिकता पाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved