भारतीय फूलले नेपाली बजार कब्जा, उचित मूल्य पाएनन् किसानले

नेपालभ्युज

भारतीय फूलले नेपाली बजार कब्जा, उचित मूल्य पाएनन् किसानले
ललितपुरको लगनखेलमा तिहारका लागि गोदावरी फूलको माला उन्दै महिला। फोटो : रासस

काठमाडौं। भारतबाट धेरै परिमाणमा फुल आएपछि नेपाली ब्यबसायी मारमा परेको गुनासो गरेका छन्।

काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फुलको व्यापारमा अधिकांश भारतीय फूल देखिएका छन्। भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुश्किल परेको किसान तथा व्यापारीले गुनासो गरेका छन्।

काठमाडौँमा लक्ष्मीपूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमलीलगायत फूलहरूको बिक्री धेरै हुने गर्छ। कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूल खेतीमा पनि क्षति गरेको थियो।

वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो। काठमाडौँ उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा फूल खेती हुने गरेको छ।

फूल बेच्न काठमाडौंमा छिमेकी जिल्लाहरू नुवाकोट,धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारी आउने गर्छन्। काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरूको अत्याधिक भीडभाड देखिए पनि नेपाली किसान व्यापारी भने निराश देखिएका छन्।

बर्सेनि तिहारको समयमा काठमाडौंमा आई फूल बेच्दै आएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्यधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरे।

यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो। तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भए पछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ।

कोरना संक्रमणको जोखिम कम भएको र मानिसले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो। गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ।

नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुने गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved