प्रधानमन्त्री देउवा भोलि बिहान काठमाडौं आइपुग्ने

नेपाल भ्यूज

प्रधानमन्त्री देउवा भोलि बिहान काठमाडौं आइपुग्ने

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (९कोप–२६) पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई भोलि बिहीबार स्वदेश फर्किने भएका छन्।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही १२ कात्तिकमा लण्डन प्रस्थान गरेका थिए। प्रधानमन्त्री नेतृत्वको टोली आज स्थानीय समय दिउँसो १ बजेर ५५ मिनेटमा इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै भोलि बिहान काडमाडौँ आइपुग्नेछन्।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनीबाहेक भ्रमण टोलीका सबै स्वदेश फर्किंदै छन्।

स्वदेश फर्कनुअघि आज प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए।

May be an image of 4 people, people playing musical instruments, people standing and outdoors

प्रधानमन्त्री देउवाको यो कार्यकालको पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए।

त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved