“गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच महीनामा उडान हुन्छ”

नेपालभ्युज

“गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच महीनामा उडान हुन्छ”

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महीनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन्।

बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिति) को काम लगभग सकिसकेको बताए।

अबको एक महिनामा केलिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए। महानिर्देशक क्षत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड-१९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको बताए। एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने उनको भनाइ थियो।

“कति वटा एयरलाइन्स आउँछ त्यो पछिको कुरा हो तर वि विल बी रेडी,” उनले भने, “कुशीनगर विमानस्थल र हाम्रोमा दाँज्न मिल्दैन, उनीहरूको आफ्नै श्रोतसाधन छ, समस्या छैन। आन्तरिक कलहमा अल्झिनु परेन। हाम्रो केसमा नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड-१९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भयो, अब सबै प्रक्रिया लगभग कम्प्लिट भएको छ, थाइल्याण्डले केही दिनअघि एउटा चिठी पठाएको छ, कोरोनाको कारण आउन सकेनौँ, अरुसँग गर्दा पनि हुन्छ भनेको छ हामीले बोर्डमा राखेका छौँ, अहिले एरो थाइले पनि हामी पूर्व सहमतिअनुसार नै काम गर्छौं भनेको छ।”

“पोखराको काम पनि ८० प्रतिशत सकियो”

महानिर्देशक क्षत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल एन्फास्ट्रक्चरको काम पनि ८० प्रतिशत सकिएको बताए। सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्याण्डफिल्ड बनाइदिए अबको ६ महीनामा परीक्षण उडान हुने उनले बताए। एक वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने उनको भनाइ थियो।

युरोपियन युनियन (ईयू) ले नेपालको एयरलाइन्सलाई ब्ल्याक लिस्ट (कालोसूची) मा राखेकोले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको क्षत्रीले बताए। आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनयोग्य बनाउनेमा उनले जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved