टी ट्वान्टी विश्वकप

भारतलाई अफगानिस्तानको चुनौती, हारे प्रतियोगिताबाटै बाहिरिने

नेपालभ्युज

भारतलाई अफगानिस्तानको चुनौती, हारे प्रतियोगिताबाटै बाहिरिने

काठमाडौं। यूएईमा जारी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज (बुधबार) राति भारतले अफगानिस्तानको सामना गर्दैछ। विश्वकपमा आफ्नो सम्भावना जीवितै राख्न भारतले यो खेलमा अफगानिस्तानलाई हराउनैपर्ने हुन्छ।

समूह चरणको शुरुआती दुई खेलमा भारत चिरप्रतिद्वन्द्वी पाकिस्तान र न्यूजिल्याण्डसँग लगातार पराजित भएको थियो। समूह चरणको आजको तेस्रो खेलमा अफगानिस्तानसँग पनि पराजित भए उपाधिको प्रबल दाबेदार मानिएको भारत समूह चरणको अन्तिम दुई खेल खेल्नु अगावै विश्वकपबाटै बाहिरिने छ।

यसै पनि भारतको नकआउट चरण प्रवेशको सम्भावना निकै कठिन छ। सेमिफाइनलमा पुग्न भारतले अबको समूह चरणको आफ्नो बाँकी तीन खेल जितेर मात्र पुग्दैन कि अरु टिमको खेलको नतिजामा पनि भर पर्नुपरेको छ।

सेमिफाइनलमा पुग्न भारतले अफगानिस्तानसँगै अन्तिम दुई खेलमा कमजोर प्रतिद्वन्द्वी नामिबिया र स्कट्ल्याण्डलाई भारी अन्तरले हराउनुपर्ने हुन्छ। यसपछि समूहको अर्को खेलमा अफगानिस्तानले न्यूजिल्याण्डलाई पराजित गरोस भनेर कामना पनि गर्नुपर्छ।

यदि आउँदो आइतबार हुने खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई हराए न्यूजिल्याण्डले अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ। त्यो खेल अफगानिस्तानले जितेमा पनि फेरि भारतलाई समूहको शीर्ष दुईमा पर्न रनरेटमा अफगानिस्तानलाई पछि पार्नुपर्छ। नत्र अफगानिस्तान भने सेमिफाइनलमा पुग्नेछ।

समूहमा रहेका ६ टिममध्ये शीर्ष दुई टिमले नकआउटमा प्रवेश पाउनेछन्। शरुआती चार खेल नै जित्दै आठ अंकसहित ग्रुप ‘बी’बाट पाकिस्तानले सेमिफाइनलमा ठाउँ पक्का गरिसकेको छ।

त्यसैले सेमिफाइनल प्रवेशको झिनो आशालाई कायमै राख्न भारतले आज अफगानिस्तानविरुद्ध ठूलो अन्तरको जित हात पार्नुपर्ने हुन्छ। तर यो विश्वकपमा राम्रो फर्ममा रहेको अफगानिस्तानको स्पिन बलिङ र बिस्फोटक ब्याटिङका अगाडि भारतलाई जितसम्म त सायद सम्भव होला तर ठूलो अन्तरको जित नै निकाल्न भने त्यति सजिलो नहुने देखिन्छ।

जबकि भारत आफै जारी विश्वकपमा खराब फर्मबाट गुज्रिरहेको छ। शुरुको दुई खेलमा न त भारतको ब्याटिङ चलेको छ न त बलिङमा दम देखिएको छ। खेल नेपाली समयअनुसार राति ७ः४५ बजे आबुधाबीको मैदानमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved