प्रधानमन्त्री देउवा भारत जानुअघि नै मोदी नेपाल भ्रमणमा आउँदै

सीमा समस्या र महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको सम्बन्धमा भने भारतीय समकक्षीसँगको भेटमा प्रधानमन्त्री देउवाले ठोस विषय नउठाएको परराष्ट्र स्रोतले जानकारी दियो।

प्रधानमन्त्री देउवा भारत जानुअघि नै मोदी नेपाल भ्रमणमा आउँदै

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारत भ्रमणको प्रयास गरेपनि सफल नभएका शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गर्न सहमत गराएका छन्। स्कटल्याण्डको ग्लास्गामा आयोजित जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको कोप-२६ सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँगको मंगलबारको संक्षिप्त भेटघाटमा नेपाल भ्रमण गर्न सहमत गराएका हुन्।

परराष्ट्रका उच्चस्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिहारपछि नै नेपाल भ्रमणमा आउन सक्ने सम्भावना रहेको बताइएको छ। यद्यपि, मोदीको नेपाल भ्रमणको मिति भने निश्चित भएको छैन।

नेपाली कांग्रेस र भारतीय जनता पार्टी (भाजपा)बीच पार्टीगत सम्बन्ध विस्तार गर्ने प्रयास हुँदै गर्दा भाजपा नेता एवं भारतीय प्रधानमन्त्री मोदी नै नेपाल भ्रमणमा आउन लागेका हुन्।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले भारत भ्रमणको चाँजोपाजो मिलाउन नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्रामार्फत आग्रह गरेपनि देउवाको प्रयास सफल भएको थिएन। आफ्नो पहिलो विदेश यात्रा भारतबाट गर्न चाहेका प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्ने चाहना पूरा नभएपछि मात्रै स्कटल्याण्डको भ्रमणलाई निश्चित गरेका थिए।

देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतबाट बधाई सन्देश नआएपछि नै देउवासँग भारतीय संस्थापन प्रशन्न नरहेको लख काटिएको थियो। ३ साउनमा देउवाले संसद्बाट प्रधानमन्त्रीको रुपमा विश्वासको मत प्राप्त गरेपछि मात्रै भारतीय प्रधानमन्त्री मोदीले देउवाको नाम उल्लेख नै नगरी नयाँ प्रधानमन्त्रीलाई शुभकामना सन्देश समाजिक सञ्जालमार्फत दिएका थिए।

परराष्ट्र स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि मात्रै नेपालका प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्नेछन्।

यस्तै करीब २० मिनेटको भेटवार्तामा प्रधानमन्त्री देउवाले थप दुई हवाई नाका प्रदान गर्न भारतसँग आग्रह गरेका छन्। यसअघि सन् २०१४ मा मोदीले पहिलो पटक नेपालको भ्रमण गर्दादेखि सार्क सम्मेलनका क्रममा नेपाल भ्रमण गर्दा र बिमस्टेक सम्मेलनमा नेपाल भ्रमणमा आउँदा थप हवाई नाका प्रदान गर्न आग्रह गरिएको थियो। सबै अवसरमा जस्तै यो पटक पनि भारतीय प्रधानमन्त्री नेपाली समकक्षीको आग्रहमा सकारात्मक देखिएका छन्।

प्रधानमन्त्री देउवाले भैरहवा र नेपालगञ्ज नाकाबाट हवाई प्रवेश बिन्दु मिलाइदिन आग्रह गरेका छन्। भैरहवामा नेपालले चीनको सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ।

विमानस्थल सञ्चालनको तयारीको अवस्थामा पुग्दै गर्दा भारतबाट हवाई नाकाको स्वीकृति नपाउँदा समस्या आउने देखिँदा प्रधानमन्त्री देउवाले पुनः यो विषय आफ्ना भारतीय समकक्षीसँगको भेटमा नाका प्रदान गर्न आग्रह गरेका हुन्।

मोदीसँगको भेटमा प्रधानमन्त्री देउवाले रासायनिक मल नियमित आपूर्ती गराउन सहजीकरणको भूमिका खेल्न आग्रह गरेका छन्। सीमा समस्या र महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको सम्बन्धमा भने भारतीय समकक्षीसँगको भेटमा प्रधानमन्त्री देउवाले ठोस विषय नउठाएको परराष्ट्र स्रोतले जानकारी दियो।

नेपालका प्रधानमन्त्रीको आग्रहमा भारतीय प्रधानमन्त्रीले नेपालको आवश्यकतालाई सकारात्मक दृष्टिकोणले हेर्ने प्रतिबद्धता जायर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved