तिब्बती र भुटानीबाहेक नेपालमा नौ देशका शरणार्थी

आफ्नो सम्पर्कमा ल्याउन नेपाल सरकारलाई यूएनएचसीआरको दबाब

नेपालमा ११ देशका करिब २० हजार शरणार्थी रहेका रहेका गृह मन्त्रालयको तथ्यांक छ। तिब्बती र भुटानी शरणार्थीलाई नेपाल सरकारले शरणार्थीको मान्यता दिए पनि अन्य नौ देशका शरणार्थी पनि नेपालमा अवैध रूपमा बस्दै आएका छन्।

तिब्बती र भुटानीबाहेक नेपालमा नौ देशका शरणार्थी

काठमाडौँ। थाहा पाउँदा अचम्म लाग्नसक्छ, चीन र भारतसँगमात्र सीमा जोडिएको नेपालमा ११ देशका शरणार्थी छन्। तिब्बत र भुटानका शरणार्थीलाई सरकारले वैध शरण दिए पनि अवैध रूपमा अन्य ११ देशका नागरिक यहाँ बसोबास गरिरहेछन्।

गृह मन्त्रालयको तथ्यांक अनुसार नेपालमा करीब २० हजार शरणार्थी छन्। तिब्बती र भुटानीबाहेक अन्य नौ देशका शरणार्थी नेपालमा अवैध रूपमा बसिरहेका छन्। म्यानमार, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, यमन, इराक, इरान, श्रीलंका र सोमालियाका गरी करिब ६ सय ७८ शरणार्थी रहेको गृहसँग तथ्यांक छ।

नेपालमा सबैभन्दा धेरै तिब्बती शरणार्थी रहेका छन्। लामो समयदेखि  गणना नभए पनि गृह मन्त्रालयले १२ हजारभन्दा बढी तिब्बती नेपालमा रहेको बताउँछ। भने, भुटानी शरणार्थी करिब ६ हजार पाँच सय हाराहारीमा रहेका मन्त्रालयको तथ्यांक छ।

तिब्बती र भुटानी शरणार्थीपछि नेपालमा सबैभन्दा धेरै म्यानमारबाट आएका रोहिंग्या छन्। करिब चार सयको हाराहारीमा उनीहरू नेपालमा रहेका गृह मन्त्रालय बताउँछ।

यूनएनएचसीआरको दबाब

नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) ले तेस्रो देश हुँदै नेपाल प्रवेश गर्ने शरणार्थीलाई शरण दिन नेपाल सरकारलाई आग्रह गरे पनि ऊ आफैले उनीहरूको संरक्षणमा चासो नदिएको आरोप लाग्ने गरेको छ।

काठमाडौँस्थित आयोगको कार्यालय अगाडि धर्नामा बसेका सोमालियाका शरणार्थीले भने आफूलाई शरणार्थीको रूपमा दर्ता गराए पनि कार्यालयले कुनै सुविधा नदिएको आरोप लगाए। यद्यपि, कार्यालयले शरणार्थीलाई मासिक ५० अमेरिकी डलर प्रदान गर्ने गरेको आयोगका वरिष्ठ सूचना अधिकारी दिनेशदास श्रेष्ठ बताउँछन्।

नेपालमा हाल ३२ जना सोमालियाली शरणार्थी छन्। उनीहरूमध्ये केही दैनिकजसो युनएनएचसीआरको कार्यालय अगाडि केही समयदेखि धर्नामा छन्।

‘अमानवीय नीतिलाई रोक, नेपालस्थित यूएनएचसीआरको कार्यालयमा के भइरहेको छ हामीलाई बताऊ’, ‘हामी यहाँ रोकिएका छौँ, हामीलाई पुनवार्सको कार्यक्रममा सहभागी गराऊ’ जस्ता नारा लेखेर उनीहरू प्रदर्शनमा उत्रिएका छन्।

युएनसचसीआर कार्यालय भने आफूहरूले सोमालियाली शरणार्थीलाई आफ्नो नीतिका विषयमा पहिला नै बताइसकेको बताउँछ। नेपाल शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको पक्ष राष्ट्र होइन। संयुक्त राष्ट्रसंघको सन् १९५१ को शरणार्थीका विषयमा ल्याएको महासन्धिमा नेपालले हस्ताक्षर गरेको छैन भने शरणार्थीसम्बन्धमा नेपालको आन्तरिक कानून पनि छैन। त्यसैले पनि शरणार्थीको मुद्दा सम्बोधन गर्न आफूहरुलाई अप्ठेरो पर्ने गरेको कार्यालय बताउँछ।

तिब्बती र भुटानी शरणार्थीलाई नेपाल सरकारले मान्यता दिएको कारण उनीहरूको नेपाल बसाइ तुलनात्मक रूपमा सहज भए पनि अन्य देशकाको अवस्था नाजुक छ।

“यूएनएचसीआरकै आर्थिक अवस्था कमजोर रहेका कारण शरणार्थीलाई पूर्ण रूपमा सहयोग गर्ने अवस्थामा कार्यालय छैन,” श्रेष्ठ भन्छन्, “पछिल्लो समयमा दाताहरूकै आर्थिक लक्ष्य फेरिएकाले हामीले शरणार्थीलाई सम्पूर्ण रूपमा सहयोग गर्न सक्ने अवस्था रहेन।”

कार्यालयले यस्तो भने पनि नेपाल प्रवेश गर्ने नयाँ शरणार्थीलाई भने आफ्नो सम्पर्कमा ल्याउन दबाब दिने गरेको छ। नेपालमा रहेका शरणार्थीहरू मानवीयका नाताले मात्रै नेपालमा छन्।

विभिन्न माध्यमबाट नेपाल प्रवेश गरेका तेस्रो देशका नागरिक यूएनएचसीआरको सम्पर्कमा गएपछि प्रक्रिया पूरा गरेर उनीहरूलाई शरणार्थीको मान्यता दिँदै आएको यूएनएचसीआर काठमाडौँ कार्यालय बताउँछ। तर अध्यागमन विभागका अधिकारी भने नेपाल प्रवेश गर्ने शरणार्थीलाई आफ्नो जिम्मामा दिन यूएनएचसीआरले दबाब नै दिने गरेको छ।

८ कात्तिकमा भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेका ११ अफगानी नागरिकलाई पनि यूएनएचसीआरको काठमाडौँ कार्यालयले आफूमातहत रहने गरी हस्तान्तरण गर्न आग्रह गरेको थियो। दबाबबीच नेपालको अध्यागमन विभागले ती ११ मध्ये पाँच अफगानी नागरिकलाई १४ कात्तिकमा कोलम्बो एयरवेजबाट श्रीलंका ट्रान्जिट हुँदै मेक्सिको पठाए पनि १६ कात्तिकमा उनीहरू फेरि नेपाल नै फर्किएका छन्। मेक्सिकोको अध्यागमन विभागले ती पाँच अफगानीलाई देश प्रवेश गर्न निषेध गरेपछि उनीहरू कोलम्बो ट्रान्जिट हुँदै पुनः नेपाल फर्किएका हुन्।

कसरी प्रवेश गर्छन् त नेपालमा शरणार्थी?

नेपाल प्रवेश गर्ने अधिकांश शरणार्थी मानव तस्करका माध्यमबाट नेपाल आउने गरेको पाइन्छ। तस्करीमा यही रहेका शरणार्थीकै संलग्नता हुने गरेको पुष्टि नै भइसकेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले म्यानमारका रोहिंग्यालाई नेपाल तस्करी गर्ने तीन शरणार्थीलाई यही ४ असोजमा पक्राउ गरेको थियो।

ब्युरोले कपनस्थित राममन्दिर छेउ बस्ने सकिफ आलम, नोरुल उल्लाह र डल्लु बस्ने अजमत उल्लाहलाई पक्राउ गरेको थियो। ती तीन जनाले २ परिवारका १४ जना रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याएको आरोपमा प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

यस्तै नेपालमा रहेका सोमालियाली शरणार्थीहरूले पनि आफूहरू मानव तस्करको जालोमा परी नेपाल आएको बताएका छन्। नेपालभ्यूजसँगको कुराकानीमा उनीहरूले अमेरिका, क्यानेडा लैजाने भन्दै तस्करले आफूहरूलाई नेपाल ल्याएको बताए। सन् २०१४ बाट नेपाल प्रवेश गर्न थालेका सोमालियाली शरणार्थी नेपाल भारतको खुला सीमा हुँदै नेपाल प्रवेश गरेका बताउँछन्।

सोमालियाली मात्र हैन, अन्य देशका शरणार्थी पनि खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेका भेटिएका छन्। म्यानमारको राखिन प्रान्तमा हिंसा भड्किएपछि नेपाल प्रवेश गरेका रोहिंग्या पनि खुला सीमा हुँदै नेपाल भित्रिएका थिए।

शरणार्थीका नाममा नेपाललाई मानव तस्करीको अन्तर्राष्ट्रिय केन्द्र नै बनाउने प्रयास भएको अध्यागमन विभागका अधिकारी आशंका गर्छन्। विगतदेखि छिमेकी देश पाकिस्तान, श्रीलंकाका, म्यानमारका शरणार्थी नेपालमा भए पनि अन्तर्द्वन्द्व देश सोमालियाबाट पनि नेपालमा शरणार्थी बढ्न थालेपछि यस्तो आशंका गर्न आफूहरू बाध्य भएको उनको तर्क छ।

नेपालमा आउने शरणार्थीलाई युरोप-अमेरिका लैजाने प्रलोभन देखाएर मानव तस्करले नेपाल भित्र्याउने गरेका छन्। त्यसमध्ये अधिकांशलाई पर्यटन भिसामा नेपाल ल्याएपछि यूएनएचसीआरको कार्यालयको सम्पर्कमा लैजाने गरिएको पाइन्छ।

यूएनएचसीआरले शरणार्थीलाई आफ्नो सम्पर्कमा ल्याउन नेपालको अध्यागमन विभागलाई दबाब दिने गरे पनि मातहतका शरणार्थीको राम्रोसँग व्यवस्थापन नगर्दा त्यसले नेपालको आन्तरिक सुरक्षामा समस्या आउन सक्ने अध्यागमन विभागका अधिकारी दाबी गर्छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved