बेमौसमी वर्षातको क्षति–धान डुबाउँदा जिडिपीमा ३ प्रतिशतसम्मको क्षति

प्रदेश २ मा ४८ हजार हेक्टर धानबालीमा क्षति

‘‘कृषिले देशको कुल जीडपीमा २७–२८ प्रतिशतको योगदान गर्दा धानको योगदान कुल कृषि उत्पादनमा मात्र १२–१३ प्रतिशत छ। काटेको धेरै धान वर्षाले बिग्रिएको छ भने काट्ने बेलाको धान पनि लडेर झन्डै २० देखि २५ प्रतिशत नोक्सान हुँदा अर्थतन्त्रमा २ प्रतिशतले असर पुग्ने अनुमान गर्न सकिन्छ।’’

नेपालभ्युज

बेमौसमी वर्षातको क्षति–धान डुबाउँदा जिडिपीमा ३ प्रतिशतसम्मको क्षति
फाइल तस्वीर

जनकपुरधाम। बेमौसमको वर्षातले नेपालको प्रमुख खाद्यान्न बाली धान उत्पादनमा ठूलो असर गरेको छ। वर्षाले धान डुबाउँदा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २ देखि ३ प्रतिशतसम्मको क्षति पुगेको अर्थविद्हरूले अनुमान गरेका छन्।

जनकपुरका अर्थशास्त्री उज्ज्वल दाहालका अनुसार कात्तिक पहिलो साता परेको वर्षाले कुल उत्पादनको झन्डै २० देखि २५ प्रतिशत धानमा क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। जसकारण खाद्यान्न आयात बढ्दा व्यापार घाटा पनि बढ्ने तथा खाद्यान्न अभावमा कुपोषण समेत बढ्ने अनुमान छ।

कृषि विज्ञ डा. भगवान् ठाकुरको अनुसार नेपालको कृषि उत्पादनमा १० देखि १२ प्रतिशतसम्म योगदान गर्ने धान खेतीमा यति ठूलो क्षति पुग्दा त्यसले कुल गार्हस्थ्य उत्पादनमा नै असर गर्ने अनुमान छ।

कृषि विज्ञ डा. ठाकुरले भने, ‘‘कृषिले देशको कुल जीडपीमा २७–२८ प्रतिशतको योगदान गर्दा धानको योगदान कुल कृषि उत्पादनमा मात्र १२–१३ प्रतिशत छ। काटेको धेरै धान वर्षाले बिग्रिएको छ भने काट्ने बेलाको धान पनि लडेर झन्डै २० देखि २५ प्रतिशत नोक्सान हुँदा अर्थतन्त्रमा २ प्रतिशतले असर पुग्ने अनुमान गर्न सकिन्छ।’’

गत महिना चालू आर्थिक वर्ष २०७८–०७९ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको थियो। कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभाव कोभिड खोपको तीव्रतासँगै क्रमशः कम हुँदै गएकाले चालू वर्षमा एसियाली विकास बैंकले ४दशमलव १ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। तर, सरकारले भने ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकोमा वर्षाले पुर्‍याएको क्षतिको कारण यो लक्ष्य हासिल गर्नमा समस्या देखिएको छ।

देशभर यस वर्ष करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो। नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेलका अनुसार कुल बालीको करिब १५–२० प्रतिशतसम्म क्षति भएको छ।

प्रदेश २ मा ४८ हजार हेक्टर क्षेत्रफलको धानबालीमा क्षति

प्रदेश २ मा ४८ हजार ६८४ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ। प्रदेश २ मा यस वर्षाले ४८ हजार ६८४ हेक्टर क्षेत्रमा लगाएको धानबाली पूर्णरुपमा क्षति भएको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिष कुमार पालले जानकारी दिए। सूचना अधिकारी पालका अनुसार लगाइएको कुल धानबाली मध्ये ११ प्रतिशत क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ।

यस वर्ष प्रदेश २ का आठै जिल्लामा ४ लाख ३ हजार १६३ हेक्टर क्षेत्रफलमा किसानहरूले धानबाली लगाए थिए। जस मध्ये यो बेमौसमी वर्षाले ४८ हजार ६८४ हेक्टर क्षेत्र (११ प्रतिशत) प्रभावित भएको कृषि मन्त्रालयले जनाएको छ।

कृषि मन्त्रालयका अनुसार छिटो पाक्ने र टारी खेतको धान केही ठाउँमा दशैँलगतै काटेका किसानको लगातार २–३ दिन परेको वर्षाले क्षति पुगेको हो। यद्यपि ढिलो पाक्ने धानमा फललागि सकेको हुँदा धान काट्न र व्यवस्थापन गर्न कठिन भए पनि धेरै क्षति हुनबाट जोगिएको छ।

अविरल वर्षा तथा हावाहुरीका कारण प्रदेशमा सबभन्दा बढी सप्तरी जिल्लाका किसानहरू प्रभावित भएका छन्। सप्तरीमा ६६ हजार १५० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमध्ये १६ हजार ५३७ हेक्टर क्षेत्रफल अर्थात् २५ प्रतिशत धानबालीमा क्षति पुगेको हो। त्यस्तै, सिराहामा ५८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमध्ये ८ हजार ७ सय अर्थात् १५ प्रतिशत, धनुषामा ५८ हजार ५ सय हेक्टरमा लगाइएको धान बालीमध्ये ४ हजार ६८० अर्थात् ८ प्रतिशत क्षेत्रको धानमा क्षति पुगेको कृषि मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले बताए।

यसबर्ष महोत्तरीमा ४५ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ३ हजार ७८ हेक्टर क्षेत्रफल अर्थात् ७ प्रतिशत, सर्लाहीमा ४३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमध्ये ७ हजार ४० अर्थात् १६ प्रतिशत क्षति पुगेको छ। रौतहटमा ३८ हजार ७५० हेक्टर क्षेत्रफलमा लगाइएकोमा ३ हजार १५५ अर्थात् ८ प्रतिशत क्षेत्रफलको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बारा जिल्लामा ५८ हजार २१४ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमध्ये ४ हजार ९९४ अर्थात् ९ प्रतिशत हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ।

कात्तिक १ र २ गतेको अत्यधिक वर्षा र हावाहुरीले सबभन्दा कम पर्सा जिल्लाका किसानहरूलाई क्षति पुगेको देखिएको छ। पर्सामा ३५ हजार ५० हेक्टरमा लगाइएको धान बालीमध्ये ५ सय हेक्टर अर्थात् २ प्रतिशत क्षेत्रफलमा क्षति भएको पालले जानकारी दिए।

प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा कात्तिक १ र २ गतेको अत्यधिक वर्षा र हावाहुरीका कारण धानबालीमा मात्र क्षति पुगे पनि सप्तरी, सिराहा, बारा र पर्सामा अन्य बालीमा समेत क्षति पुगेको मन्त्रालयले जनाएको छ।

सप्तरीमा धानबाली बाहेक ८९० हेक्टर क्षेत्रफलमा लगाइएको केराबारीमध्ये ५० प्रतिशत, १ हजार ५५७ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बारी मध्ये १५ प्रतिशत र १ हजार १४ हेक्टरको अन्य बालीमध्ये १० प्रतिशतमा क्षति पुगेको तथ्यांकले देखाएको छ। त्यसैगरी सिराहामा २ हजार ३ सय हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बारी मध्ये २० प्रतिशतमा क्षति पुगेको हो। त्यस्तै, बारा र पर्सा जिल्लामा समेत तरकारी, तोरी र मुसुरो बालीमा क्षति पुगेको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved