न्यायाधीशहरूको अडान यथावत्

नेपालभ्युज

न्यायाधीशहरूको अडान यथावत्

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरुले अडान कायमै राखेका छन्। मंगलबार बसेको न्यायाधीशहरूको बैठकले अडानबाट पछि नहट्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश जबराले ‘सम्मानजनक बहिर्गमनको’ कुरा उठाएपछि भावी रणनीति तय गर्न बैठक बसेको हो।

बैठकमा ‘प्रधानन्यायाधीश जबराले कार्यकाल लम्ब्याउन सम्मानजनक बहिर्गमनको कार्ड खेल्न खोजेको’ निष्कर्ष निकाल्दै न्यायाधीशहरुले राजीनामाबाट पछि नहट्ने अडान लिएका हुन्। ‘‘प्रधानन्यायाधीशज्यूले सम्मानजनक बहिर्गमन चाहने हो भने तुरुन्तै राजीनामा दिनुपर्छ। न्यायालय सुधार गर्न चाहनुभएको भए त पहिले नै गर्नुहुन्थ्यो, यसैले उहाँले जे जस्तो विकल्प अघि सारे पनि राजीनामाबाट पछि नहटौँ’’ बैठकमा न्यायाधीशहरुले निकाले निष्कर्ष उद्धृत गर्दै एक न्यायाधीशले भने।

प्रधानन्यायाधीश जबराले भने संवैधानिक व्यवस्था बमोजिम मार्ग प्रशस्त गर्न तयार रहेको अडान लिँदै आएका छन्। यसअघि सोमबार बेलुका न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मासँगको छलफलमा प्रधानन्यायाधीश जबराले बहिर्गमनको मार्गचित्र बताएका थिए। तर, सो मार्गचित्रमाथि अन्य न्यायाधीशहरूको चित्त नबुझेपछि फेरि छलफल भएको हो।

आन्दोलनरत न्यायाधीशहरू मंगलबारसम्म इजलास फर्किएका छैनन्। प्रधानन्यायाधीश जबराले आफू बाहेकको इजलास तोके पनि न्यायाधीशहरू इजलास नफर्किएका हुन्। सर्वोच्च अदालतको दैनिक पेशी सूची अनुसार मंगलबार १० न्यायाधीशको ६ वटा इजलास तोकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved