फेरि रोकियो चालक अनुमतिपत्रको अनलाइन फारम

कोभिडका कारण झण्डै डेढवर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन। वि.सं. २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो।

नेपालभ्युज

फेरि रोकियो चालक अनुमतिपत्रको अनलाइन फारम

काठमाडौं। चालक अनुमतिपत्रको अनलाइन फारम शुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ। कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको यातायात व्यवस्था विभागले जनाएको छ।

सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए। जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उनले बताए। उनले भने, “हामीले जतिसक्दो चाँडो भनेका छौँ। कति दिन लाग्छ भन्न सकिँदैन।”

अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्काे अनुमतिपत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ। नयाँ अनुमतिपत्रका लागि आवेदन दिँदा समस्या भए पनि अर्काे वर्ग थप्नेमा सबै विवरण भरेर फाइल बुझाउने समयमा समस्या देखिएको प्रवक्ता डा. भुषालले बताए। एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने उनले बताए।

नियमित रुपमा चालू नभएको सेवा खुलाउनाथ सेवाग्राहीको चाप हुने गरेको छ। विगतमा पनि अनलाइन फारम भर्दा समस्या भइरहेको थियो। अहिलेको आवश्यकताअनुसार त्यसको क्षमता नभएको हुनसक्ने भन्दै प्राविधिकले ‘अपडेट’ गरिरहेको उनले बताए।

कोभिडका कारण झण्डै डेढवर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन। वि.सं. २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो।

त्यो खुलाइएको केही समयपछि नै दोस्रो लहरका कारण पुनः सेवा स्थगित भयो। गत वैशाखदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाका कारण सेवा सञ्चालन हुनसकेको थिएन।

सरकारले असारदेखि नै अरु क्षेत्र खुलाएको भए पनि यातायात व्यवस्था विभागले संक्रमण बढ्नसक्ने भन्दै अनुमतिपत्र खुलाएको थिएन। उपत्यकालगायत देशभरमा अनुमतिपत्र लिन चाहनेको संख्या धेरै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved